कर्पोरेट टि-टेन क्रिकेट लिग आयोजना हुदै

काठमाडौं । नेपालका कर्पोरेट पेशेवरहरूलाई एउटै खेलमैदानमा उतार्ने उद्देश्यसहित काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रा.लि.ले “From Boardrooms to Boundaries” भन्ने नारासहित कर्पोरेट टि-टेन क्रिकेट लिग २०२५ को औपचारिक घोषणा गरेको छ। आठ दिनसम्म चल्ने यो प्रतियोगिता आगामी माघ १४ देखि फागुन २ सम्म (जनवरी २८ देखि फेब्रुअरी ४) सम्म काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुनेछ।

आयोजकका अनुसार, कर्पोरेट टि-टेन लिगले नेपालका विभिन्न क्षेत्रका व्यावसायिक र संस्थागत कर्मचारीहरूलाई क्रिकेटको माध्यमबाट मित्रता, प्रतिस्पर्धा र सहकार्यको भावनाले जोड्ने प्लेटफर्म प्रदान गर्नेछ। यस टुर्नामेन्टको नाराले “कार्यालयका कोठाबाट क्रिकेट मैदानसम्म” भन्ने सन्देश दिँदै पेशागत जीवन र खेल भावना बीचको सम्बन्धलाई उजागर गर्ने प्रयास गरेको आयोजकले जनाएको छ।

यो प्रतियोगिता आईसीसीका नियमहरूअनुसार खेलिनेछ र सबै खेलहरू नेपाल क्रिकेट संघ का अधिकृतहरूले सञ्चालन गर्नेछन् । टुर्नामेन्ट लिग–कम–नकआउट संरचनामा हुनेछ, जसमा प्रत्येक टोलीले ११ खेलाडी (८ खेल्ने र ३ विकल्प खेलाडी) समावेश गर्नेछ र प्रत्येक टोलीले कम्तीमा तीन खेल खेल्ने ग्यारेन्टी पाउनेछ ।

कार्यक्रमको आकर्षणमा After-Event Party, उत्कृष्ट खेलाडीका लागि पुरस्कार र गिफ्ट ह्याम्परहरू पनि समावेश गरिएको छ। टुर्नामेन्ट निर्देशक ज्योति भण्डारीका अनुसार, “हाम्रो उद्देश्य कर्पोरेट क्षेत्र र क्रिकेटबीचको सम्बन्ध मजबुत बनाउनु हो। नेपालमा क्रिकेट संस्कृति विकासका लागि कर्पोरेट समुदायको सक्रिय भूमिका आवश्यक छ। यो प्रतियोगिता आठ दिनसम्म मनोरञ्जन, प्रतिस्पर्धा र अनुभवको अद्भुत मिश्रण हुनेछ,” उनले भने।

काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रा.लि.ले छोटो अवधिमै नेपालमा खेलकुद व्यवस्थापनको अग्रणी संस्थाका रूपमा आफ्नो पहिचान बनाएको छ। यस संस्थाले यसअघि नेपालकै सबैभन्दा बढी नगद पुरस्कार भएको इनडोर क्रिकेट प्रतियोगिता र विश्वकै पहिलो फ्रेन्चाइज नीलामी-आधारित इनडोर क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको छ।

संस्थाको उद्देश्य नेपालमा गुणस्तरीय क्रिकेट अनुभव, खेलकुदको माध्यमबाट पेशेवर नेटवर्किङ र मनोरञ्जनको संस्कार विस्तार गर्नु रहेको छ। कर्पोरेट T10 केवल एउटा प्रतियोगिता मात्र नभई खेल भावना, मैत्री सम्बन्ध र व्यावसायिक सहकार्यको उत्सव बन्ने आयोजकको दाबी छ।

नेपालमा कर्पोरेट क्षेत्र र खेलकुदबीचको सहकार्य बढाउँदै जाने उद्देश्यका साथ, कर्पोरेट टि-टेन लिगले आगामी दिनमा देशको क्रिकेट इकोसिस्टमलाई अझ मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।