काठमाडौं । कतारस्थित नेपाली दूतावासले सेवा लिन आउने नेपाली नागरिकहरूलाई संयमित र मर्यादित व्यवहार गर्न आग्रह गरेको छ।
दूतावासले बुधबार (कात्तिक २६ गते) सूचना प्रकाशित गर्दै दूतावास परिसरमा अनावश्यक भीडभाड, होहल्ला र ठूलो स्वरमा कुराकानी नगर्न अनुरोध गरेको हो। दूतावासले जनाएको छ कि हालै दूतावास वरपर रहेका कतारी र अन्य विदेशी बासिन्दाहरूले नेपाली सेवाग्राहीहरूको व्यवहारका कारण असहजता महसुस भएको गुनासो बारम्बार आएका थिए। बिहान सबेरैदेखि सेवाग्राहीहरूको भीडभाड, खुला स्थानमा सवारीसाधन पार्किङ र ठूलो स्वरमा बोल्ने गतिविधिका कारण वातावरणमा असुविधा पुगेको भन्दै छिमेकी भवनका बासिन्दाहरूले चासो व्यक्त गरेपछि दूतावासले यो सूचना जारी गरेको हो।
सूचनामा भनिएको छ, “यस राजदूतावासको कार्यालय परिसरबाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला भइदिने, खुला स्थानमा लामो समयसम्म सवारीसाधन पार्किङ गर्ने, अनावश्यक भिडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा हो–हल्ला गर्ने कार्यले यस राजदूतावासको छिमेकमा रहेका बासिन्दाहरूलाई असहजता परेको भनी बारम्बार गुनासो आइरहेको छ।”
दूतावासले सेवाग्राहीहरूलाई कार्यालय समयमै सेवा लिन आउन अनुरोध गर्दै, जरुरी कारणले छिटो आउनै परे पनि बिहानको ८ बजेपछि मात्र आउन सिफारिस गरेको छ। साथै, सेवासँग सम्बन्ध नभएका व्यक्ति वा साथमा आएका नातेदारहरूलाई दूतावास परिसरमा लामो समयसम्म बस्न नदिन पनि आग्रह गरिएको छ। “सेवा लिन सम्बन्धित सेवाग्राही मात्र उपस्थित भइदिनुहुन एवं कार्यालय आसपास लामो समयसम्म अनावश्यक रूपमा बस्ने कार्य नगरिदिनुहुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,” सूचनामा स्पष्ट उल्लेख गरिएको छ। कतारमा झण्डै पाँच लाखभन्दा बढी नेपाली कामदार रहेका छन्, जसले पासपोर्ट, श्रम स्वीकृति, अभिलेख प्रमाणिकरणलगायतका सेवाका लागि नियमित रूपमा दूतावास धाउने गर्छन्।
दूतावासका अनुसार दैनिक सयौं सेवाग्राही आउने भएकाले भीड नियन्त्रण गर्न र छिमेकी भवनहरूसँगको सम्बन्ध मैत्रीपूर्ण राख्न यो कदम चालिएको हो। दूतावासका एक अधिकारीका अनुसार कतार सरकारले पनि राजदूतावास क्षेत्रको शान्ति र सौहार्द कायम राख्न सुझाव दिएको थियो। “हामीले नेपालीहरूलाई असुविधा नहोस् भन्ने सोचका साथ सेवा सुचारु राखिरहेका छौं, तर कतिपयले बिहान सबेरै आउँदा र ठूलो स्वरमा बोल्दा समस्या देखिएको हो,” उनले भने, “अबदेखि सबैले मर्यादित व्यवहार अपनाउनुहोस् भन्ने हाम्रो हार्दिक अनुरोध हो।” दोहास्थित नेपाली दूतावासले यसअघि पनि सेवाग्राहीहरूको भीड व्यवस्थापनका लागि अनलाइन प्रणाली, अपोइन्टमेन्ट र कतार सरकारसँग सहकार्यमा सेवा सुधारका प्रयास गर्दै आएको छ। नयाँ सूचनालाई पनि त्यही व्यवस्थापनको निरन्तरता स्वरूप लिइएको बताइएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































