रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेमा दुर्लभ र विषालु सर्प प्रजाति ‘राजगोमन’ (किङ कोब्रा) जीवितै फेला परेको छ। नेपालमा सामान्यतया पहाडी क्षेत्रमा पाइने यो प्रजाति तराईमा जीवितै भेटिनु पहिलो घटना हो।
स्थानीय लेमकुमारी रानामगरको घरमा देखिएको सर्पलाई सर्प उद्धारकर्ता विशाल पाण्डेको नेतृत्वमा खटिएको ‘बुटवल स्नेक रेस्क्यु टिम’ ले करिब तीन घण्टाको प्रयासपछि सफलतापूर्वक नियन्त्रणमा लिएको हो। उद्धार टोलीमा नवीन पौडेल, सागर पाण्डे र विश्वास पाण्डे लगायतका सदस्य सहभागी थिए।
उद्धारपछि गरिएको मापन अनुसार सर्पको लम्बाइ १२ फिट ३ इन्च र तौल करिब ७ किलो २०० ग्राम रहेको पाण्डेले जानकारी दिए। उद्धार गरिएको सर्पलाई डिभिजन वन कार्यालय, रुपन्देहीका प्रतिनिधिको उपस्थितिमा आवश्यक सर्जमिनपछि सोही दिन प्राकृतिक बासस्थानमा सुरक्षित रूपमा छाडिएको छ।
यसअघि करिब १४ वर्षअघि बुटवलको फूलबारी क्षेत्रमा मृत राजगोमन फेला परेको भए पनि जीवित अवस्थामा भेटिनु यो पहिलो पटक हो।
राजगोमन विश्वकै सबैभन्दा लामो विषालु सर्प हो। यो प्रजाति सामान्यतया मानिसप्रति आक्रामक नहुने र अन्य सर्पहरूलाई आहार बनाउने स्वभावको हुन्छ। नेपालमा हालसम्म राजगोमनले मानिसलाई टोकेको आधिकारिक विवरण छैन।
नेपालमा पाइने करिब ८२ प्रजातिका सर्पमध्ये राजगोमन अत्यन्त दुर्लभ मानिन्छ। पछिल्ला वर्षयता मध्यपहाडी क्षेत्रमा यस प्रजाति फाट्टफुट्ट देखिन थालेपछि यसको वासस्थान र संरक्षणबारे सरोकारवालाहरूले चासो व्यक्त गर्दै आएका छन्।
विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा यस्ता प्रजातिहरू नयाँ बासस्थानतर्फ सर्दै गएको हुनसक्ने अनुमान गरिएको छ।



































