यूएईका नक्कली इन्स्टिच्युटमार्फत नेपाली विद्यार्थी ठगीको जालो

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) का ‘फ्रि जोन’ क्षेत्रमा दर्ता गरिएका इन्स्टिच्युटमार्फत नेपाली विद्यार्थीहरूलाई ठगी गर्ने धन्दा चलेको खुलेको छ ।

नेपालका डेढ दर्जनभन्दा बढी शैक्षिक कन्सल्टेन्सीहरूले मोटो रकम लिएर विद्यार्थीहरूलाई यूएई पठाउने र त्यहाँ अलपत्र पार्ने गरेको तथ्य बाहिर आएको हो । पीडित विद्यार्थीहरूले दुबईस्थित नेपाली महावाणिज्यदूतावास र आबुधाबीस्थित नेपाली दूतावासमा उजुरी दिँदै कारबाहीको माग गरेका छन् । ती उजुरी परराष्ट्र मन्त्रालयमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन् ।

शिक्षामन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “केही कन्सल्टेन्सीहरूले यूएईको फ्रि जोनमा इन्स्टिच्युट दर्ता गरी नक्कली कलेज पढ्न भन्दै नेपाली विद्यार्थी पठाएको उजुरी आएको छ । त्यहाँ ती विद्यार्थीहरू दुःख पाइरहेको खबर परराष्ट्रले दिएको छ । अहिले त्यसको गहन छानबिन भइरहेको छ। कोही पनि यस्ता जालमा नफस्नुहोस् ।”

गत बिहीबार (कात्तिक २७ गते) ठगीमा परेका चार विद्यार्थीहरू परराष्ट्र मन्त्रालय पुगेका थिए। मन्त्रालयले उनीहरूको उजुरी लिएर सम्बन्धित निकाय शिक्षा मन्त्रालयमा पठाएको हो । परराष्ट्र मन्त्रालयका एक स्रोतका अनुसार, “शैक्षिक कन्सल्टेन्सीको नियमन शिक्षा मन्त्रालयले गर्ने भएकाले हामीले उनीहरूलाई त्यतै पठाएका हौं । धेरैजना यस्ता समस्यामा परेको पाइएको छ ।” दुबईस्थित नेपाली महावाणिज्यदूत हरिप्रसाद ओडारीका अनुसार हालसम्म करिब ३५ जना पीडित नेपाली दूतावासमा पुगेका छन् । उनका भनाइमा, “यूएईका फ्रि जोनमा ‘ट्रेनिङ इन्स्टिच्युट’को रूपमा दर्ता भएका केही संस्थाहरूले आफूलाई युनिभर्सिटी दाबी गर्छन् र नेपाली विद्यार्थीहरूलाई आकर्षित गरी ठगी गर्छन् ।”

सबैभन्दा बढी नेपाली विद्यार्थी ब्रिटिस युनिभर्सिटी कलेज इन्टरनेसनल–एफजेड र सेन्ट्रल एकेडेमी फर म्यानेजमेन्ट स्टडिज् नामका इन्स्टिच्युटमा ठगिएका छन् । बीआईसीयूले ‘पेरिस–अमेरिकन इन्टरनेसनल इन्स्टिच्युट’बाट सम्बन्धन लिएको दाबी गरे पनि त्यसको पुष्टि नभएको दूतावासले जनाएको छ ।

फ्रि जोन क्षेत्रका इन्स्टिच्युटहरू सजिलै खोल्न र बन्द गर्न सकिने भएकाले धेरैजसो यस्ता संस्था अहिले बन्द भएका छन् । नपढाउने, प्रमाणपत्र नदिने र आधिकारिक मान्यता नपाएका यस्ता इन्स्टिच्युटसँग नेपालका केही कन्सल्टेन्सीहरू मिलेमतोमा ठगी धन्दा चलाइरहेको तथ्य पनि बाहिर आएको छ । पीडितहरूले दिएको विवरणअनुसार, यूएईका यस्ता इन्स्टिच्युटमा विद्यार्थी पठाउन नेपालमा १८ वटा कन्सल्टेन्सीहरू सक्रिय छन्।

तीमध्ये प्रमुख रूपमा समावेश रहेका छन् प्रो एभिएसन प्रालि, सटक्शी एजुकेशन फाउन्डेशन, एजुपोर्ट एजुकेशन कन्सल्टेन्सी, शिव ह्युम एजुकेशन कन्सल्टेन्सी, अक्सब्रिज इन्टरनेसनल कन्सल्टेन्सी, मेरिट्स इन्टरनेशनल कन्सल्टेन्सी, ब्राइटपथ एजुकेशन कन्सल्टेन्सी, सिटीहब एजुकेशन नेटवर्क, एस्पायर ग्लोबल एजुकेशन, कान्तिपुर अब्रोड कन्सल्टेन्ट, सिटी पार्क एजुकेशन कन्सल्टेन्सी, मेनटोरा एजुकेशन कन्सल्टेन्सी, एक्सेल इन्टरनेशनल एजुकेशन प्रालि, सरम आई, एनटीइआर इन्टरनेशनल, एएस एजुकेशन, सकुरा नेपाल कन्सल्टेन्सी प्रालि र एजुगेट कन्सल्टेन्सी । दूतावास र मन्त्रालयका स्रोतहरूका अनुसार, यी कन्सल्टेन्सीहरू र यूएईका केही नक्कली इन्स्टिच्युटले मिलेर “विद्यार्थी भिसा”को नाममा ठगी सञ्जाल फैलाइरहेका छन्, जसको गम्भीर अनुसन्धान सुरु भइसकेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।