विदेशमा मतदान केन्द्र तोक्न अध्यादेश ल्याउँदै सरकार

काठमाडौं । मतदाता नामावलीमा नाम समावेश भई विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास, नियोगमा मतदान केन्द्र तोक्न सक्नेगरी सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको छ।

गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मसौदा सरोकारवालाको सुझावपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ। प्रस्तावित व्यवस्था अनुसारको अध्यादेश जारी भई कार्यान्वयनमा आए विदेशमा रहेका नागरिकले समानुपातिकतर्फको मत दिन पाउने छन्‌ । पछिल्लो पटक विदेशमा रहेकासँगै नेपालमै तर फरक निर्वाचन क्षेत्रमा रहेकालाई पनि मतदान गर्न दिने गरी गृहकार्य भइरहेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेकासँगै फरक निर्वाचन क्षेत्रमा रहेका नागरिकलाई पनि मतदानमा सहभागी गराउने गरी अध्यादेशको मसौदा भएको बताए ।

‘आउट अफ कन्ट्रीसँगै आउट अफ कन्स्टिच्युयन्सी’ का मतदातालाई निर्वाचनमा सहभागी गराउने हाम्रो प्रयास छ । अध्यादेशको मसौदा कानुन मन्त्रालयमा पठाइसकेका छौँ’, उनले भने । कानून मन्त्रालयमा पठाइएको अध्यादेश आवश्यक परिमार्जनपछि सम्बन्धित मन्त्रालयमा पठाइनेछ। मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि राष्ट्रपतिबाट जारी हुने प्रक्रियामा जाने छ । तयारी अनुसार अध्यादेशले आउँदो सातासम्म अन्तिम रूप पाउनेछ । प्रस्तावित व्यवस्था अनुसार चार ऐन संशोधन हुने छन् । निर्वाचन आयोग, मतदाता नामावली, निर्वाचन कसुर तथा सजाय र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अध्यादेशले संशेधन गर्नेछ।

यस्तै निर्वाचन आयोगले पनि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको टुंगो लगाएको छ । आयोगले आइतबार कार्तालिकाबारे टुंगो लगाउँदै माघ ६ गते प्रत्यक्षतर्फका उम्मेदवारी मनोनयनको मिति तोकेको हो । भद‍ौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। यो सरकारले फागुनमा चुनाव गर्ने म्यान्डेट पाएको छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउन तीन दिनको समय दिएको छ।

आयोगले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार, मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्न समय तोकेको हो । मंसिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म राजनीतिक दलहरूले उमेदवारको बन्दसूची पेस गर्ने आयोगको निर्वाचन कार्यतालिकामा उल्लेख छ । माघ २० गते बिहान १० देखि बेलुकी ५ बजेसम्म उमेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराई जानकारी दिए।

आयोगले राष्ट्रिय निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची तय गरेको छ । निर्वाचन आयोगले आइतबार निर्वाचनसम्बन्धी निर्णय गर्दै जानकारी दिएको हो । आगामी फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन्। त्यसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनित सांसद बामदेव गौतमको कार्यकाल सकिँदैछ । राष्ट्रपतिबाट मनोनित सांसदको कार्यकाल सकिएपछि राष्ट्रपतिले अर्को सदस्य मनोनित गर्छन् । रिक्त हुने १८ स्थानका लागि चुनाव गर्ने तयारीमा सरकार जुटेको हो।

आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् । आगामी फागुनमा बिदा हुने एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् । बिदा हुने माओवादी सांसदहरूको संख्या ७ छ । जसमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।एकीकृत समाजवदीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।