जेनजी आन्दोलनमा आपराधिक गतिविधि गर्ने ५११ पक्राउ

काठमाडौं । नेपाली प्रहरीले सर्वोच्च अदालत आगजनी गर्ने समूहमा संलग्न पात्रहरूको खोजी कार्य तीव्र पारेको छ । प्रहरीले जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ गर्न प्रहरीले देशभर आक्रामक अभियान अघि बढाइरहेका बेला अदालत जलाउनेलाई विशेष प्राथमिकता राखेको हो ।

पछिल्ला घटनाक्रममा सर्वोच्च अदालत, विशेष अदालतसहित देशभरका २३ वटा अदालतमा आगजनी भएको थियो । त्यसो त, सर्वोच्च र विशेष अदालतले यसअघि नै प्रहरीलाई अनुसन्धान तीव्र पार्न औपचारिक निवेदन दिएका थिए । त्यही आधारमा काठमाडौं प्रहरीको विशेष टोलीले आगजनी गर्ने समूहको पहिचान र खोजी तीव्र पारेको हो । प्रहरी टोली बनाउँदै हतियार लुट्ने समूहदेखि सरकारी कार्यालयमा आगो लगाउने समूहसम्मको छुट्टाछुट्टै रूपमा अनुसन्धान भइरहेको छ ।

विशेषगरी सर्वोच्च अदालतमा आगजनी गर्ने समूहको पहिचानमा प्रहरीले संकलित फुटेज र दृश्य सामग्रीका आधारमा अनुसन्धान अघि बढाएको छ । तर, अनुसन्धान प्रभावित गर्नेगरी शुक्रबार ‘जेन–जी मुभमेन्ट अलायन्स,’ ‘काउन्सिल अफ जेन–जी,’ सात प्रदेश संयोजक र ‘जेन–जी फ्रन्ट’ले प्रधानमन्त्री सुशीला कार्कीलाई ११ बुँदे प्रस्तावित सम्झौतापत्र बुझाएका छन् ।

त्यसको २ नम्बर बुँदामा ज्यान मुद्दा र बलात्कारबाहेक अन्य मुद्दामा पक्राउ परेकालाई थुनामुक्त गर्नुपर्ने, बाँकी सबै अनुसन्धान छुट्टै आयोगलाई जिम्मा दिनुपर्ने माग राखेका छन् । जेनजी प्रदर्शनी हिंसात्मक, आगजनी, लुटपाटमा संलग्नलाई पक्राउ गर्ने अभियान तीव्र पारेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, हालसम्म ५११ जना पक्राउ परेका छन् । तीमध्ये २२२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

मुद्दा दर्ता भएकामध्ये केहीलाई हातहतियार, खरखजना तथा ज्यानसम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा पठाएको छ । भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालयमा आगजनी–तोडफोड, निजी घर तथा व्यावसायिक भवनहरू जलाउने घटनामा संलग्नहरूलाई व्यापक रूपमा पक्राउ गरिँदै अनुसन्धान अघि बढाएको हो ।भदौ २४ गतेको प्रदर्शनमा सबैभन्दा ठूलो भौतिक क्षति भएको थियो । २३ गते प्रदर्शनका क्रममा युवाहरूको मृत्युबाट आक्रोशित समूहले प्रहरी कार्यालयमा आगजनी गर्दै हतियारसमेत लुटेको थियो ।

देशभरका केही जेलबाट समेत तोड्दै कैदी/बन्दी फरार भएका थिए । प्रहरी कार्यालय तोडफोड, आगजनी तथा अन्य आपराधिक क्रियाकलापमा संलग्नमध्ये धेरैजसो पहिले नै अनेक अपराधमा संलग्न व्यक्तिहरू भएको तथ्य खुलेको प्रहरीको भनाइ छ । पक्राउ परेकामध्ये धेरैजसो पहिलेका रेकर्डमा समेत अपराधमा संलग्न देखिएका छन् । प्रहरीले प्रदर्शनका क्रममा खिचिएका फोटो तथा भिडियोका आधारमा पक्राउ र अनुसन्धान गरिरहेको छ । काठमाडौंको महाराजगञ्ज प्रहरी वृत्त र कोटेश्वर प्रभागका प्रहरी कर्मचारीको हत्यामा संलग्न ६ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

भदौ २४ मा भएको प्रदर्शनमा महाराजगञ्ज वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो । भिडियो विश्लेषणपछि असई राय र जवान थापालाई क्रूरतापूर्वक हत्या गर्ने क्रियाकलापमा संलग्न भएको आशंकामा प्रहरीले होमप्रसाद पौडेल, टीकाराम बिक, बुद्धिलाल तामाङ र युवराज क्यापछाकीसहितका व्यक्तिहरूलाई पक्राउ गरेको थियो । यस्तै, कोटेश्वर प्रहरी वृत्तमा कार्यरत प्रहरी हवल्दार अमृत गुरुङको हत्यामा संलग्न अनुपम भण्डारीलाई प्रहरीले कैलालीबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । उनीसँगै सोम गुरुङ, राजिव गुरुङ, युनिक श्रेष्ठ, दीपक मगर, सुमित तितुङ, अलिश श्रेष्ठ र सौरभ तामाङसमेत आरोपित छन् ।

यसअघि, भदौ २४ गतेका आपराधिक गतिविधिमा संलग्नहरूमध्ये ज्यान मुद्दा र बलात्कार बाहेकका अभियोगमा पक्राउ परेकालाई अनुसन्धान नगर्न गृह मन्त्रालयले असोज ९ मा विज्ञप्ति जारी गरेको थियो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा न्यायिक जाँचबुझ आयोग गठन भइसकेकाले त्यसकै सिफारिसमा मात्र कारबाही गर्नुपर्ने जिकिर मन्त्रालयको थियो । तर, प्रहरीले प्रकृतिका अपराध गर्नेहरूविरुद्धको अनुसन्धान नियमित भएको जनाउँदै आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई निरन्तर रूपमा पक्राउ गरिरहेको छ । जेनजीका नाममा भएका आपराधिक गतिविधिका हजारौँ फोटो तथा भिडियो प्रहरीको हातमा छन् ।