जनार्दनले कम्युनिस्ट सिद्धान्त छोडेका हुन् ?

काठमाडौं । कम्युनिस्ट नामबाट राजनीति थालेको ४८ वर्षपछि जनार्दन शर्माले सो धार छोडेका छन् । २०३४ सालदेखि कम्युनिष्ट सदस्यता लिएका उनले माओवादी जनयुद्ध तयारीदेखि ०८२ सम्म राजनीति गरे । सोही क्रममा दुईपटक संविधान सभा र दुईपटक प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएका उनी ५ पटक विभिन्न मन्त्री पनि बनेका थिए ।

जिन्दगीको उर्वर समय माओवादी र कम्युनिस्ट राजनीति गरेर विताएका शर्माले ६१ वर्षको उमेरमा यी दुबै छोडेका छन् । उनलाई किन यी दुबै नाम राम्रो लागेन त? यसका केही कारण छन् । विगत एकवर्ष यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनको सम्बन्ध सुमधुर हुन सकेन । बढ्दो दुरीलाई झन् बढाउने काम माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी लगायतका ११ दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनाउने निर्णयले गर्‍यो ।

जसकारण असन्तुस्ट उनी कात्तिक १८ गते एकता प्रक्रियामा सहभागी नभई बाहिरिए । कात्तिक १९ गते माओवादीसहित ११ दलबीच एकता भएको थियो । शर्माले राम कार्की, सुदन किराती लगायतका नेतालाई साथ लिएर प्रगतिशील अभियान नेपाल घोषणा गर्दे माओवादीलाई पुनर्गठन गर्ने बताएका थिए । ‘अध्यक्ष प्रचण्डले माओवादी पार्टी छाडेर माधवकुमार नेपालजीको नीतिमा आत्मसमर्पण गर्नुभयो । उतै जानुभयो । हामीले त्यो कुरालाई स्वीकार गरेनौं र हामीले नयाँ ढंगले पुनर्गठनसहित प्रगतिशील अभियान सञ्चालन गर्ने अठोट गरेका छौं, उनले भनेका थिए, ‘सहिदका बलिदानलाई खेर जान नदिने र तिनको जिम्मेवारी लिई पूरा गर्ने अठोट लिएका छौँ ।’

तर, शर्माले माओवादी पुनर्गठन गरेनन् । न त देशव्यापी रुपमा अभियान नै चलाए । बरु उनी आफू नदेखिएर कम्युनिस्ट नाम नराखी नयाँ दल खोल्दैछन् । अभियान मार्फत् देशभर पुग्ने दाबी गरेका शर्माले १२ दिनमै नयाँ दल खोल्ने निर्णय लिए ।यही तीन घटक मिलेर बनेको नयाँ पार्टी मंसिर ७ गते घोषणा हुँदैछ । जबकि, शर्माले एकतामा जोड दिइरहेका दुई नेताहरू नेत्रविक्रम चन्द र घनश्याम भूसालले कम्युनिस्ट नाम राखेरै दल दर्ता गराएका छन् । चन्द महामसचिव रहेको कम्युनिस्ट पार्टी नेपाल र भूसाल नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र) राखिएको छ । तर, शर्माले सुदन किरातीलाई अघि सारेर ३१ सदस्यीय प्रगतिशील अभियान नेपालको केन्द्रीय समिति बनाएका छन् । निर्वाचन आयोगमा गैरकम्युनिस्ट नाम राखेर दर्ता गर्न निवेदन पेश गरिएको नेताहरूले बताए ।

उनीहरूका अनुसार अब शर्माले कम्युनिस्ट नाममा राजनीति नगर्ने भनिसकेका छन् । डा. बाबुरामले गठन गरेको नेपाल समाजवादी पार्टी नयाँ शक्ति र रास्वपा छोडेका सन्तोष परियारबीच कात्तिक २८ गते सहकार्य गर्ने सहमति भएको थियो । यसपछि उनी कम्युनिस्ट नाम नराख्ने निचोडमा पुगेका हुन् । डा बाबुराम भट्टराईले २०७२ असोज १० गते तत्कालिन माओवादी छाडेका थिए । त्यसपछि उनले कम्युनिस्ट नाम राखेनन् । बरु विभिन्न दलसँग एकता गर्दै अगाडि बढ्न खोजेपनि सफल भएनन् ।

जेन–जी आन्दोलनपछि भट्टराईले नेसपा नयाँ शक्तिबाट राजीनामा दिएर दुर्गा सोबलाई संयोजक बनाएका छन् । मानुषी यमी भट्टराई सक्रिय भएर लागेकी छन् । भट्टराई र शर्माको रोहबरमा नेसपा नयाँ शक्ति, रास्वपा छोडेका परियार लगायत मिलेर बन्ने नयाँ दल कम्युनिस्ट नामको नहुने समझदारी भएको प्रगतिशील अभियान नेपालका संयोजक सुदन किरातीले बताए ।‘एकथान कम्युनिस्ट पार्टीको नेपालमा अब जरुरी छैन, परम्परागत कम्युनिस्ट पार्टी यो संसारमा चल्दैन,’ उनले भने, ‘यहाँ त, कम्युनिस्ट नाम राख्ने तर काम नगर्ने भयो । हामी कम्युनिष्ट शब्द प्रयोग नगर्ने तर, कम्युनिस्ट भावनामा काम गर्ने भनेका छौँ ।’ ‘असमानताको अन्त्य गर्ने मार्क्सवाद व्यवहारमा लागू हुनुपर्‍यो । एकथान कम्युनिस्ट पार्टी चाहिएको होइन, मार्क्सवादको मान्यतामाथि काम गर्ने हो ।

कम्युनिस्ट भनिराख्नु परेन,’ उनले थपे । ‘हामी भाइ माओवादी र भाई एमाले नहुनकै लागि कम्युनिस्ट नाम नराख्ने निचोडमा पुगेका हौँ,’ प्रगतिशील अभियान नेपालको केन्द्रीय सदस्य पुष्प न्यौपानेले भने । विप्लव र घनश्यामसँगको एकता के हुन्छ? फागुन २१ गते प्रतिनिधि सभाको चुनाव तोकिएको छ । माओवादीमा ३० वर्ष बढी काम गरेका शर्माले चुनावमा एक्लै लड्ने हिम्मत देखाएनन् । चुनावकै लागि शर्माले विभिन्न शक्तिसँग एकता गर्दै नयाँ दल बनाउन लागेका हुन् ।

उनी कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द र नेकपा वामपन्थी केन्द्रका घनश्याम भूसालसँग एकताको प्रयासमा छन् । चन्दले कात्तिक ११ गते कम्युनिस्ट पार्टी नेपाल दर्ताको लागि आयोगमा निवेदन दिएका थिए । यस्तै, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट माओवादी केन्द्रसँग एकतामा नगएका भूसालले कात्तिक २३ गते दल दर्ताको निवेदन दिएका हुन् । कम्युनिस्ट नाम नै नराखेपछि कसरी हुन्छ त एकता? भन्ने प्रश्नमा किरातीले सबै जनताले मन पराउने र साझा नाम राख्न खोजेको बताए । ‘देशको संकट हटाउन मुद्दा मिल्नेसँग सहकार्य हुन्छ । विचार मिल्नेसँग पार्टी एकता पनि हुन्छ,’ किरातीले भने ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।