चुनावमा नजाने मुद्दामा एक्लिएको एमालेले गर्‍यो दल दर्ता

काठमाडौं । चुनावमा जाने विषयमा एक्लिएपछि नेकपा एमालेले दल दर्ता गरेको छ । यसअघि २ मंसिरमा नेकपा एमालेले विघटित प्रतिनिधि सभाका सदस्यहरूसँग छलफल गरेको थियो । उक्त छलफललाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनदेखि नयाँ सरकार निर्माणसम्मका सबै प्रक्रिया संविधानविरुद्ध, अलोकतान्त्रिक र नियोजित सत्ता कब्जाको परिणाम भएको सुनाए ।

उक्त सम्बोधनमा ओलीले मुलुकमा उत्पन्न संवैधानिक सङ्कटलाई एउटा साधारण चुनावी बहसमा रूपान्तरण गरिएको प्रति आक्रोश पोखेका थिए । शनिबार काठमाडौंमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै ओलीले थप पेचिलो शब्द प्रयोग गर्दै चुनाव गराउने आधिकारिकता यो सरकारसँग नभएको जिकिर गरे । ‘तपाईंलाई चुनाव गराउने अधिकार पनि छैन । को हो तपाईं चुनाव गराउने ?’ ओलीले सभामार्फत प्रधानमन्त्री सुशीला कार्कीलक्षित प्रश्न गरेका छन्, ‘चुनाव गराउन त वैधानिक सरकार हुनुपर्‍यो नि । अवैधानिक सरकारले वैधानिक चुनाव गराउन सक्दैन ।’

उनले जनताबाट निर्वाचित प्रतिनिधिले सरकार बनाउने भन्दै अनुचित ढंगले बनेको सरकारबाट चुनाव हुनै नसक्ने दाबीसमेत गरे । उनले निष्कर्ष सुनाए, ‘अब कुनै नाटक गरेर देश चल्नेवाला छैन । यो सरकारले फागुन २१ मा निर्वाचन सोचेकै छैन । सरकारले भ्रम किन पाल्ने ?’ ओली यसअघि सत्ता साझेदार दल नेपाली कांग्रेसले संसद पुनर्स्थापनाको मुद्दामा साथ दिनेमा ढुक्क थिए । उनले त्यही सभामा भनेका थिए, ‘एमाले दूरदर्शी पार्टी हो । नहुने चुनावको पछि कुद्दैन । अरु पार्टी पनि ढिलो चाँडो एमालेकै निर्णयमा उभिनेछन् ।’ तर, एमालेको उक्त सभा सक्दानसक्दै कांग्रेसले लामो छलफलपछि संसद पुनर्स्थापनाको पक्षमा नभई चुनावमा जाने निर्णय गर्‍यो ।

यसअघि अरु सबै दल चुनावको तयारी लागिसक्दा कांग्रेस अनिर्णित जस्तै थियो । कांग्रेसको उक्त निर्णयपछि चुनावको विपक्षमा एमाले एक्लै देखिएको छ । एमाले जेन–जी आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेको थियो । असोज अन्तिम साता बसेको केन्द्रीय कमिटीमार्फत संसद पुनर्स्थापना असंवैधानिक रहेको ठहर गरेको थियो । त्यसपछि देशव्यापी गतिविधि गरिरहेको एमालेले ६ मंसिरलाई ‘शक्ति प्रदर्शन’ भनेको थियो । वडा, पालिका र जिल्लाहुँदै पार्टी भित्रका विभिन्न जनसङ्गठन र विभागहरूलाई सक्रिय बनाएको एमालेले अन्ततः चुनावको तयारीमा जानुपर्ने बाध्यात्मक परिस्थिति बनेको छ ।

बाहिर चुनाव हुँदैन भन्ने रटान लगाए पनि नेताहरूले भने भित्रभित्रै साङ्गठनिक संरचना कसिलो र चुस्त राख्ने कार्य जारी राखेको जानकारी दिएका छन् । ‘यो सरकारको विरोध सँगसँगै सङ्गठनलाई पनि सुदृढ बनाउने पार्टी नेतृत्वको रणनीति हो,’ एमालेका एक केन्द्रीय सदस्यले भने, ‘२३ र २४ भदौको आन्दोलनपछि कार्यकर्ताको खस्किएको साखलाई उकास्न पनि हामीले दलीय गतिविधि तीव्र बनाएका हौँ । अब एक किसिमको माहौल बनिसकेको छ । अब चुनावको तयारीमा पूरापूर लाग्ने हो ।’ पार्टीका भित्रि संरचनाले पनि दल दर्ता लगायतका कार्यहरू तीव्र रूपमा अघि बढाएको बुझिएको छ । एमालेका ३२ विभाग छन् । निर्वाचन केन्द्रीय सदस्यसमेत रहेका निर्वाचन विभागका प्रमुख निरज आचार्यले निर्वाचन आयोगले दिएको समयसीमाभित्रै दल दर्ता हुने जानकारी दिए । यद्यपि चुनाव हुने कुरामा विश्वास नभएको तर्क गरे ।

उनले एमाले वैधानिक पार्टी भएको हुँदा दल दर्तालगायतका अद्यावधिक गर्ने कार्यमा नछुट्ने बताए । ‘दललाई नवीकरण गर्ने, कानुनी ढङ्गले अद्यावधिक गर्ने काम निरन्तर गर्दै छौँ । लेखापरीक्षण, रिपोर्ट कानुनअनुसार बुझाइ रहेका छौँ’, आचार्यले भने । आचार्यका अनुसार यो सरकारले चुनाव नगराउने दुईवटा आधार छन् । पहिलो आधार सरकार आफैँ मुठभेड निम्त्याउने बाटोमा लगेको छ । ‘एमालेको स्पष्ट दृष्टिकोण नै ‘सरकार दललाई निषेध गरेर हिँडिरहेको छ भन्ने हो,’ उनले भने, ‘यो नहुने चुनावको कुरा सरकारले गरेको हुँदा एमाले यसको पछि दौडिँदैन ।’

उनका अनुसार चुनाव गराउन दलहरूले आफ्ना गतिविधि स्वतःस्फूर्त रूपमा गर्न पाउनुपर्छ । तर, नेताहरूका राहदानी रोक्का गरेर, स्थानहद राखेर दलहरूबीच दूरी बढाइरहेको र निर्वाचनको वातावरण नबनाएको आचार्यको भनाइ छ । ‘दलका नेताहरू स्वतन्त्रतापूर्वक जनताका बीचमा जाने अवस्था बनेको छैन । अनि कसरी निर्वाचन सम्भव हुन्छ ?’ उनले भने, ‘बाराको घटनामा नेकपा एमालेका नेताहरू भेलामा जाँदा प्लेनबाट जान दिइएन । जेन–जीको ब्यानर राखेर आपराधिक पृष्ठभूमिका व्यक्तिहरू परिचालन गरियो ।

तीनलाई कारबाही गरिएन ।’ उनले यसका साथै सुरक्षाकर्मीबाट खोसिएका हतियार फिर्ता गर्न नसकेको र भागेका कैदी अझै समात्न नसकेका कारण सरकार सुरक्षाको वातावरण बनाउन असफल भएको तर्क गरे । आचार्यले सुरक्षाकर्मी र कर्मचारीको गिर्दो मनोबलले पनि निर्वाचन हुने माहौल नभएको तर्क गरे । उनले आजको सङ्कट टार्ने उपयुक्त बाटो नै संसद पुनर्स्थापना भएको हुँदा एमाले त्यसैको पक्षमा उभिने अडान लिए । ‘मुलुकलाई वैधानिक ट्र्याकमा ल्याउनुपर्छ । नत्र अघि जान सकिन्न,’ उनले भने, ‘आजका मुद्दाहरू पनि सर्वदलीय रूपमा गठन हुने सरकारले नै सम्बोधन गर्न सक्छ भन्ने एमालेको प्रस्ताव र निर्णय हो । घुमिफिरि अरू दलहरू पनि एमालेकै निर्णयमा आउनेछन् ।’