काठमाडौं । सरकार र जेनजी प्रतिनिधिबीच भदौ २३ र २४ गतेको आन्दोलनमा संलग्न कसैलाई पनि फौजदारी अनुसन्धान नगर्ने सम्झौता भएको छ ।
बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सगरमाथा हलमा सरकार र जेनजीका प्रतिनिधिबीच यो विषयमा सहमतिसँगै हस्ताक्षर भएको हो ।
आन्दोलनमा नागरिक स्तरदेखि विभिन्न संगठनका प्रतिनिधिसमेत सक्रिय रूपमा सहभागी भएकाले उक्त आन्दोलनलाई राजनीतिक प्रकृतिको मानिने र कानुनी दृष्टिले अघि नबढाइने सहमति दुवै पक्षले जनाएका हुन् ।
सम्झौतामा राजनीतिक सुधारसम्बन्धी महत्वपूर्ण प्रावधान पनि समेटिएको छ । राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने उद्देश्यले अब आउने राजनीतिक दलसम्बन्धी नयाँ कानुनमा पार्टीको शीर्ष नेतृत्व—अध्यक्ष वा सभापति—एक व्यक्तिले अधिकतम दुई कार्यकालसम्म मात्र सम्हाल्न पाउने व्यवस्था गर्ने प्रस्ताव गरिएको छ । यसले दीर्घकालीन नेतृत्व कब्जा रोक्ने, नयाँ पुस्तालाई नेतृत्वमा आउन अवसर प्रदान गर्ने र दलभित्र शक्ति सन्तुलन कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।
समग्रमा, मस्यौदामा उल्लेख गरिएका यी व्यवस्था आन्दोलनका घाउहरू निको पार्न, राजनीतिक स्थिरता कायम गर्न तथा दलहरूमा समावेशी र उत्तरदायी नेतृत्व संस्कृतिलाई प्रवद्र्धन गर्न सहायक हुने सरकार र जनेजी प्रतिनिधिद्वयको धारणा रहेको बताइन्छ।
सम्झौता–सम्बन्धी मुख्य बुँदाहरूः
यस सम्झौताले जेन–जी जनआन्दोलन (भाद्र २३–२४, २०८२) मा भएका घटना, शहीद तथा घाइतेका अधिकार, सुशासन, न्यायिक सुधार, निर्वाचन सुधार तथा संवैधानिक परिवर्तनका व्यापक विषय समेटेको छ । मुख्य बुँदाहरू यस प्रकार छन्ः
१. शहीद तथा घाइते परिवारको परिपूरण
जनआन्दोलनमा मारिएका व्यक्तिलाई शहीद घोषणा गर्ने प्रक्रिया छिटो गर्ने।
शहीद तथा घाइते परिवारको दीर्घकालीन सहयोगका लागि उच्चस्तरीय कार्यदल गठन—अन्तरिम राहत, क्षतिपूर्ति, स्वास्थ्य उपचार, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा र “स्मृति निर्माण” सुनिश्चित।
शहीद तथा घाइतेका मुद्दा स्थायी रूपमा सम्बोधन गर्न संवैधानिक आयोगको व्यवस्था।
२. जनआन्दोलनका घटनाको निष्पक्ष छानबिन
गैरन्यायिक हत्या, हिंसा र मानवअधिकार उल्लङ्घनमा संलग्नहरू पहिचान गरी फौजदारी जवाफदेहिता सिफारिस गर्ने।
आन्दोलनका नाममा गरिएको योजनाबद्ध अपराध र आन्दोलनकै गतिविधिबीच स्पष्ट भेद छुट्याई अनुसन्धान गर्ने।
आन्दोलनकारीलाई अभियोजन गरिएको भए १५ दिनभित्र स्क्रिनिङ गरी निर्दोष ठहरिएकालाई थुनामुक्त र मुद्दा फिर्ता।
भविष्यमा हिंसा दोहोरिन नदिन सुरक्षा निकायमा सुधारका उपायसहित छुट्टै संयन्त्र गठन।
३. राजनीतिक तथा नीतिगत भ्रष्टाचार नियन्त्रण
दलीयकरण, भागबण्डा, अकुत सम्पत्ति, सार्वजनिक पदको दुरुपयोग लगायतका विषयमा छानबिन गर्न उच्चस्तरीय आयोग।
सार्वजनिक संस्थाको दलीयकरण अन्त्य, गलतरीकाले सञ्चालन भएका फाउन्डेशन/कोष/ट्रष्ट खारेज गरी सम्पत्ति राष्ट्रियकरण।
प्रशासनिक संरचनामा सुधार सिफारिस गर्ने छुट्टै संयन्त्र।
४. स्वतन्त्र तथा भयरहित निर्वाचन सुधार
विदेशमा रहेका नेपालीलाई समेत मताधिकार सुनिश्चित गर्ने।
उम्मेदवारले सम्पत्ति विवरण अनिवार्य बुझाउने व्यवस्था।
दल र उम्मेदवारको खर्च पारदर्शी बनाउने कानुनी सुधार।
मतपत्रमा “माथिका कसैलाई मतदान गर्दिनँ” विकल्प थपिने।
दलभित्र अनिवार्य प्राथमिक निर्वाचन (प्राइमरी)।
पार्टी अध्यक्ष/सभापति अधिकतम २ कार्यकालमा सीमित।
५. संविधान पुनरावलोकन तथा सुधार आयोग गठन
तीन महिनाभित्र सार्वजनिक परामर्शसहित संविधानको पुनरावलोकन।
समानुपातिक प्रतिनिधित्व, भ्रष्टाचार नियन्त्रण, न्यायिक स्वतन्त्रता, संरचनागत सुधार, पदावधि सीमा, उम्मेदवारको न्यूनतम उमेर (२१ वर्ष) लगायत विषयमा विस्तृत सिफारिस गर्ने।
६. पूर्ण समानुपातिक समावेशिता
सबै संयन्त्रमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत समुदाय, किसान–श्रमिक, पिछडिएका क्षेत्र तथा विपन्न खस आर्यको प्रतिनिधित्व सुनिश्चित।
७. पारदर्शिता तथा जवाफदेहिता
सरकारी निर्णय, खर्च तथा प्रक्रिया सार्वजनिक गर्ने व्यवस्था सुदृढ।
विगतका छानबिन आयोगका प्रतिवेदनहरू कानूनअनुसार सार्वजनिक।
सार्वजनिक पदमा नियुक्तिमा पारदर्शी र प्रतिस्पर्धी प्रणाली लागू।
८. अभिव्यक्ति तथा डिजिटल स्वतन्त्रता
डिजिटल प्लाटफर्ममा अभिव्यक्ति तथा डेटाको सुरक्षा सुनिश्चित गर्ने कानुनी तथा प्राविधिक सुधार।
९. जेन–जी परिषद गठन
जनआन्दोलनका उद्देश्य पूरा गर्न तथा सरकारका संयन्त्रहरूमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्न “जेन–जी परिषद” गठन।
१०. सम्झौता कार्यान्वयन
हस्ताक्षर भएको मितिदेखि सम्झौता लागू।
कार्यान्वयन नेपाल सरकार र जेन–जी समूहको आपसी सहमतिमा।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।





































