काठमाडौं । न्याय परिषद् नियमावली–२०७४ मा गरिएको ‘विवादित संशोधन’ खारेज भएको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले २०८० असोज १ गतेदेखि लागू भएको उक्त संशोधनलाई बदर गर्ने निर्णय गरेको हो ।
संशोधित नियमावलीले उच्च अदालतका न्यायाधीशभन्दा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार तथा रजिस्ट्रारबाट नियुक्त हुने न्यायाधीशलाई रोलक्रममा अगाडि राख्ने व्यवस्था गरेको थियो, जुन प्रावधान २०८० असोज १ बाट लागू हुँदै आएको थियो । सो संशोधनलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पहिले नै कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिसकेको अवस्थामा न्याय परिषद्ले औपचारिक रूपमा संशोधन रद्द गरेको हो ।
त्यही आदेशपछि सर्वोच्च अदालतका निवर्तमान मुख्य रजिष्ट्रार देवेन्द्रप्रसाद ढकाल न्यायाधीशमा नियुक्त नभइ बिदा हुने पहिलो मुख्य रजिष्ट्रार बनेका थिए । न्याय परिषद् नियमावली, २०७४ को पहिलो संशोधन २०८० राजपत्रमा प्रकाशन गर्दै नियमावलीको नियम ११ को खण्ड (ख) पछि खण्ड (ख)(१) र (ख)(२) थप गरिएको थियो ।
उक्त खण्डहरूमा सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार भएको व्यक्ति उच्च अदालतको न्यायाधीशमा नियुक्त हुँदा रोलक्रममा उच्च अदालतका मुख्य न्यायाधीशपछिको वरीयतामा रहने र सोही रोजक्रमका व्यक्ति न्यायाधीश बहाल रहेमा त्यसपछिको वरियतामा हुने व्यवस्था गरिएको थियो ।
त्यस्तै, सर्वोच्चको रजिष्ट्रार नियुक्त व्यक्ति उच्च अदालतको न्यायाधीश हुँदा उच्चको न्यायाधीश नियुक्ति हुनुअघिको वरीयता कायम हुने व्यवस्था गरेको थियो । न्यायपरिषद् सचिवालयका उच्च अधिकारीका अनुसार, निर्णय भए पनि सार्वजनिक भने भइसकेको छैन ।
ती अधिकारीका अनुसार, नेपाल राजपत्रमा निर्णयसहितको सूचना प्रकाशित भएपछि मात्र औपचारिक पुष्टि हुनेछ । नेपाल बार एसोसिएसनले संशोधित नियमावली खारेज हुनुपर्ने माग गर्दै विज्ञप्ति जारी गरेपछि न्यायपरिषद्–बारबीच विवाद भएको थियो । बारका तर्फबाट नियमावलीविरुद्ध दायर रिट न्यायाधीश कुमार चुडालको इजलासले खारेज गरिदिएको थियो ।
रिट खारेजीपछि पनि बारले विरोधलाई निरन्तरता दिएपछि न्यायपरिषद्ले सुनुवाइ नै नगरी खारेज गरिएको इजलासको आदेशलाई नजिर भन्दै अवहेलना मुद्दा लगाउने धम्कीसहितको विज्ञप्ति जारी गरेको थियो । बारले विरोध जारी राख्दै नियमावली खारेज नगरेसम्म निर्णय रोक्ने घोषणा गर्दै न्यायपरिषद् घेराउ गरेकै समयमा ०८० असोज ११ मा न्यायपरिषद्ले सर्वोच्चको न्यायाधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई नियुक्ति सिफारिस गर्ने निर्णय भएको थियो ।
त्यही दिन दिएको अभिव्यक्तिका आधारमा नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष गोपालकृष्ण घिमिरेलाई अदालतको अवहेलना मुद्दा लगाइएको थियो । जुन यही सोमबार दाबी नपुग्ने भन्दै सर्वोच्चबाट खारेज भएको छ । त्यही विवादमा नेपाल बारको तर्फबाट न्यायपरिषद्मा प्रतिनिधित्व गरेका तत्कालीन सदस्य रामप्रसाद श्रेष्ठले नियमावली ल्याउने निर्णयको विरोध नगरेको, संशोधित नियमावली जारी गर्न असहमति नराखेको भन्दै बारले फिर्ता बोलाउने निर्णय गर्यो ।
बारले नै पठाएका उनी बारको फिर्ता बोलाउने निर्णयमा अटेर गर्दै पदमा बहाल रहे । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद् बैठकले नियमावली संशोधनको निर्णय गरेको थियो । तत्कालीन वरिष्ठतम् न्यायाधीश रहेका वर्तमान प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा बारसँग वार्ता भएको थियो । कुरा नमिलेपछि बारलाई बेवास्ता गरेर परिषद् अघि बढेको थियो ।





































