नेपालमा सत्ता परिवर्तन मात्रै हुँदै आएको छ, शासनशैलीको चरित्र भने फेरिन सकेको छैन । जसको पछिल्लो उदाहरण सरकारका निर्णयहरू क्रमशः सर्वोच्च अदालतबाट रोकिनु हो । ऊर्जा मन्त्री बन्नासाथ कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएका थिए । त्यो निर्णयलाई सरकारकै मन्त्रिपरिषद्ले साथ दियो, तर सर्वोच्च अदालतले बदर गरिदिएको छ । अदालतले देखेको कमजोरी स्पष्ट थियो—सरकारको निर्णय कानुनी आधारविहीन, मनोमानी र प्रतिशोधी प्रवृत्तिबाट निर्देशित ।
यसअघि पनि सरकारले नियुक्त गरिएका राजदूतहरूलाई एकैपटक फिर्ता बोलाउने निर्णय गरेको थियो । कूटनीतिक संरचना, सम्झौता अवधि, कार्यसम्पादन मूल्यांकन वा आवश्यक औपचारिक प्रक्रिया कुनै पनि अनुसरण नगरी सरकारको राजनीतिक मनसायमा आधारित निर्णय अदालतले रोकेको थियो । लगातार दुई वटा ठूला संवैधानिक विवादहरूमा कार्यपालिकाको निर्णय खारेज हुनु कुनै सामान्य प्रशासनिक गल्ती होइन—यो राज्यसञ्चालकको सोच, प्रवृत्ति र प्रक्रियातर्फ औंला ठड्याउने गंभीर संकेत हो ।
संसदीय प्रणालीमा सरकारलाई कार्यकारी अधिकार दिइन्छ, तर त्यो अधिकार असीमित होइन । अधिकार संविधानको दायराभित्र मात्रै वैध हुन्छ, दायराभन्दा बाहिर गएपछि अदालत हस्तक्षेप गर्छ—त्यही लोकतान्त्रिक सन्तुलनको मूलभूत सिद्धान्त हो । तर पछिल्ला वर्षहरूमा सरकारहरूले यस सन्तुलनलाई दायाँ–बायाँ पार्दै ‘शक्तिको मनपरी प्रयोग’लाई निरन्तरता दिइरहेका छन् । मन्त्रीले मन लागेको व्यक्तिलाई हटाउने, मन लागेको निर्णय गर्ने, कानुनी प्रक्रिया छल्ने र संस्थागत स्वायत्तता खल्बल्याउने प्रवृत्ति जरा गाडेर बसिसकेको छ ।
हाम्रो कार्यपालिका अझै पनि ‘व्यक्ति’ नै राज्य हो भन्ने पुरानो मानसिकताबाट मुक्त हुन सकेको छैन । विधिको शासनमा व्यक्ति होइन, प्रक्रिया सर्वोपरि हुन्छ । सरकारले शाक्यलाई हटाउने निर्णय प्रक्रियागत, तथ्यगत र कानुनी रूपमा अस्वीकार्य थियो भने, राजदूत फिर्ता बोलाउने निर्णय पनि संवैधानिक सीमाभित्र थिएन । यसले बुझाउँछ—सरकार ‘शासन’ होइन, ‘आदेश’ शैलीमा चलिरहेको छ । यस्ता निर्णयहरूले संस्थाहरूको स्वायत्तता मात्र कमजोर पार्दैनन्, राज्यका निर्णयप्रति जनताको भरोसा पनि तोडिदिन्छन् ।
यी घटनाले एउटा महत्वपूर्ण प्रश्न उठाउँछन्—सरकारले बारम्बार किन कानुनभन्दा माथि आफूलाई ठानिरहेको छ? किन संवैधानिक सीमालाई चुनौती दिँदैछ? सर्वोच्च अदालतले रोकिदिनु भनेको अधिकारक्षेत्रको दुरुपयोग भएको प्रमाण हो, जसले लोकतान्त्रिक प्रणालीमै अस्वास्थ्यकर असर पार्छ । न्यायालय निरन्तर कार्यपालिकाका गलत निर्णय सच्याउन व्यस्त हुनुपरेको स्थिति स्वस्थ लोकतन्त्रको सूचक होइन, कार्यपालिकाको कमजोरीको प्रतिबिम्ब हो ।
अब सरकारले बुझ्नुपर्छ—सत्ता पाउनु ठूलो कुरा होइन; कानुनी मर्यादा भित्र बसेर सत्ता सञ्चालन गर्नु ठूलो कुरा हो । कानुनको व्याख्या ‘सुविधा अनुसार’ गर्ने, आफ्नो व्यक्ति होटलुकाउने र संवैधानिक पदमा बसेकाहरूलाई प्रतिशोधका आधारमा हटाउने प्रवृत्ति बन्द नभएसम्म देशमा सुशासनको आधार नै कमजोर रहन्छ । विधिको शासन बिना लोकतन्त्र सुदृढ हुँदैन, र न्यायिक हस्तक्षेप निरन्तर बढिरहने अवस्था स्वस्थ–सन्तुलित शासन संरचनाको परिकल्पना विपरीत छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले समेत अदालतबाट रोकिने निर्णय गर्नुपरेको अवस्था विडम्बनापूर्ण छ । यो परिघटना स्वतन्त्र न्यायपालिका बलियो र सचेत भएको सूचक हो, तर त्यत्तिकै कार्यपालिका कमजोर र प्रक्रियाहीन बन्दै गएको चिन्ताजनक संकेत पनि हो । सरकार कानुनअनुसार चलेको भए अदालतलाई बारम्बार हस्तक्षेप गर्नुपर्ने थिएन ।
अन्ततः नेपालको लोकतन्त्रबचतको आधार विधिको शासन नै हो । सत्ता मान्छेको हातमा रहन्छ, तर शक्ति कानुनको नियन्त्रणमा रहनुपर्छ । सरकारहरूले यो सिद्धान्त आत्मसात् नगर्ने हो भने, अदालतबाट रोकिने निर्णयहरू अझै थपिनेछन्, र कार्यपालिका जनविश्वास कमाउने होइन, अझै गुमाउने दिशामा अघि बढ्नेछ ।
अहिले आवश्यकता सरकारको शैली सुधार्नु, निर्णयलाई प्रक्रिया र कानुनी आधारमा टिकाउनु र संस्थागत स्वायत्तता सम्मान गर्ने राजनीतिक संस्कृतिको पुनर्जीवन दिनु हो । विधिको शासनभन्दा बाहिर गएर कुनै सरकार दीर्घकालीन रूपमा टिकेको इतिहास कतै छैन—नेपाल पनि त्यो अपवाद बन्न सक्दैन ।
मिति २०८२ मङ्सिर २५ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।





































