काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुमा ग २ ख २०३९ नम्बरको ट्रकले बा.प्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोदा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
“आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार न्यौपाने गम्भीर घाइते भएको थियो । उनको आज उपचारका क्रममा मृत्यु भएको छ ।”,उनले बताए ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको वयोदा अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताएका छन् ।




































