बाजुरा । जिल्लामा शैक्षिक सुधार तथा विद्यार्थीको सिकाइ स्तर अभिवृद्धि गर्ने उद्देश्यले उपचारार्थ कक्षा र अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र पीसविन नेपालको सहकार्यमा सञ्चालित आभा परियोजना अन्तर्गत जिल्लाका चार स्थानीय तहका ८ वटा विद्यालयमा उक्त कार्यक्रम लागू गरिएको हो ।
कार्यक्रम बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकामा सञ्चालनमा छ। बुढीगंगा नगरपालिकामा २, त्रिवेणी नगरपालिकामा २, बडीमालिका नगरपालिकामा ३ र गौमुल गाउँपालिकामा १ गरी कुल ८ विद्यालयमा उपचारार्थ कक्षा सञ्चालन भइरहेको छ ।
त्रिवेणी नगरपालिकाका बडीमालिका माध्यमिक विद्यालय र रामेश्वरी माध्यमिक विद्यालय, बुढीगंगा नगरपालिकाका सारदा माध्यमिक विद्यालय र भगवती माध्यमिक विद्यालय, बडीमालिका नगरपालिकाका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ज्ञानुदय माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालय तथा गौमुल गाउँपालिकाको मानकोट माध्यमिक विद्यालयमा कार्यक्रम लागू गरिएको छ ।
शैक्षिक सिकाइ उपलब्धि कमजोर रहेका कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी उपचारार्थ कक्षा सञ्चालन गरिएको हो । सम्बन्धित पालिकाका नतिजा कमजोर रहेका विद्यालयमा केन्द्रित भएर कार्यक्रम अघि बढाइएको बताइएको छ ।
सारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक टेक केसीले उपचारार्थ कक्षाले विद्यार्थीको सिकाइ स्तर बढाउन र विद्यालयको शैक्षिक नतिजा सुधार गर्न उल्लेखनीय सहयोग पुगेको बताए । ज्ञानुदय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष उमाकान्त पाध्यायका अनुसार उपचारार्थ कक्षाले पढाइप्रतिको रुचि बढ्नुका साथै सिकाइ स्तरमा सकारात्मक परिवर्तन देखिएको छ ।
प्रत्येक विद्यालयमा कम्तीमा ६ हप्तासम्म उपचारार्थ कक्षा सञ्चालन गरिने व्यवस्था गरिएको छ । कक्षासँगै अभिभावक शिक्षा कार्यक्रम पनि सञ्चालनमा छ । कक्षा ८ तथा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कमजोर नतिजा आउने विद्यालयका लागि कार्यक्रमले उपलब्धि बढाउने विश्वास अभिभावकहरूले व्यक्त गरेका छन् ।
उपचारार्थ कक्षा नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयमा सञ्चालन हुँदै आएको छ । अभिभावक शिक्षा कक्षा हरेक शुक्रबार र शनिबार शिक्षकहरूले नै सञ्चालन गर्दै आएका छन् ।
त्रिवेणी नगरपालिका शिक्षा शाखा प्रमुख गणेश साउँदका अनुसार अभिभावक शिक्षा कार्यक्रमले अभिभावक र शिक्षकबीच सहकार्य बढाएको छ । “यसले अभिभावक र शिक्षक दुवैलाई थप जिम्मेवार बनाएको छ, जसको प्रत्यक्ष असर विद्यार्थीको सिकाइमा देखिन थालेको छ,” उनले भने ।
आभा परियोजनाअन्तर्गत हालसम्म ५ सय २० जना विद्यार्थी उपचारार्थ कक्षामा सहभागी भएका छन् भने ४ सय ८० जना अभिभावक अभिभावक शिक्षा कक्षामा सहभागी रहेको परियोजनाका अनुगमन, मूल्यांकन तथा प्रतिवेदन अधिकृत कुसुम शाहीले जानकारी दिइन् ।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई कापी र कलमसमेत सहयोग गरिएको छ । यो कार्यक्रम यसै वर्षदेखि सुरु गरिएको हो । पीसविन कार्यक्रम संयोजक पदम कठायतका अनुसार कार्यक्रमले बाजुराको शैक्षिक गुणस्तर सुधारमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।




































