कांग्रेस–एमालेको संभावित सहकार्य र रणनीति

काठमाडौं । २१ फागुनमा प्रतिनिधिसभा चुनाव गर्ने तयारीमा सुशीला कार्की नेतृत्वको सरकार जुटिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने प्रतिनिधिसभा पुनर्स्थापनाको रणनीतिमा लागेका छन् ।

दुई दलले संयुक्त रूपमा पूरक निवेदन दर्ता गर्ने तयारीलाई अन्तिम रूप दिइरहेका बेला देउवा निवास महाराजगञ्जमा दुवै नेताबीच गम्भीर छलफल भएको छ । चुनाव केन्द्रित राजनीतिक वातावरणमा प्रतिपक्ष दलका यी शीर्ष नेताहरू प्रतिनिधिसभा पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै सक्रिय बनेका छन् ।

सरकारले निर्वाचन आयोग, सुरक्षा निकाय, जेन–जी आन्दोलनका अगुवा तथा नागरिक समाजसहितका पक्षसँग सिंहदरबारमा छलफल चलाइरहेका बेला देउवा र ओली तेस्रो तहका नेताहरूलाई मात्र पठाएर आफूहरू अलग्गै बसेर राजनीतिक समीकरण मिलाउन तत्पर देखिए । निर्वाचन तयारीका लागि बोलाइएको सरकारी छलफलमा सहभागिता नजनाई देउवाको निवासमा दुई शीर्ष नेताहरू बीच भएको भेटले प्रतिनिधिसभा पुनर्स्थापनाको प्रयोजन स्पष्ट पारेको विश्लेषकहरू बताउँछन् ।

प्रतिनिधिसभा पुनर्स्थापनाको पूरक निवेदन दर्ता गर्नुअघि सांसदहरूको हस्ताक्षर जुटाउने गतिविधि कांग्रेस र एमालेभित्र तीव्र गतिमा भइरहेको छ । १९ मंसिरमा देउवासँग भेट गरेपछि कांग्रेसका ८ सांसदले २१ मंसिरमा पुनर्स्थापनाको रिट दर्ता गराएका थिए भने एमालेले १० मंसिरमै रिट दर्ता गराइसकेको थियो । देउवा–ओली भेट त्यही प्रक्रियाको गम्भीर निरन्तरता मानिएको छ ।

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले ६५ कांग्रेस सांसदको हस्ताक्षर गराइसकेको र मंगलबार वारेसनामासहित पूरक निवेदन दर्ता गर्न लागेको जानकारी गराए । सचेतक सुशीला थिङले पनि पूरक निवेदन कांग्रेस र तीन स्वतन्त्र सांसदसहित दर्ता गर्ने तयारी भएको पुष्टि गरिन् । थिङका अनुसार असंवैधानिक ढंगले विघटन भएको प्रतिनिधिसभालाई पुनर्स्थापना गर्नु लोकतान्त्रिक बाटोमा फर्कने अपरिहार्य कदम भएको दाबी छ ।

१९ मंसिरमै ओली देउवालाई भेट्न महाराजगञ्ज पुगेका थिए । उसबेला गोप्य रूपमा भएको छलफलबारे केही विवरण बाहिर आएको थिएन । तर अहिले देउवा र ओलीबीचको वार्ताले नयाँ राजनीतिक मोड लिने संकेत दिएको नेताहरू बताउँछन् । सम्पादकसँगको छलफलमा ओलीले देउवासँग अर्थपूर्ण संवाद भएको बताउँदै छिट्टै नतिजा देखिने टिप्पणी गरेका थिए । देउवालाई पुनः प्रधानमन्त्री बनाउन तयार रहेको सन्देश ओलीले परोक्ष रूपमा सार्वजनिक गरिसकेपछि कांग्रेसभित्र त्यसको चर्चा चर्किएको छ ।

कांग्रेसभित्र पछिल्लो समय देउवाले चुनावभन्दा पुनर्स्थापनालाई प्राथमिकता दिन थालेका छन् । महाधिवेशनका विषयमा छलफलका लागि शीर्ष नेता बोलाउँदा पनि पुनर्स्थापनाबारे बढी जिज्ञासा राखिएकोदेखि देउवाको मनस्थिति फेरिएको प्रष्ट भएको कांग्रेस स्रोतहरू बताउँछन् । देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बहुमत हस्ताक्षर किन नजुटाएको भन्दै कठोर प्रश्न गरेको खुलासा भएको छ । सो पश्चात कांग्रेस सांसदहरू पुनर्स्थापनाका लागि हस्ताक्षर अभियानमा खुलेका हुन् ।

दुवै दलका शीर्ष नेताहरू चुनाव तयारीका विषयमा तटस्थ जस्ता देखिए पनि औपचारिक रूपमा भने कांग्रेसले निर्वाचनमा जाने निर्णय गरिसकेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको छलफलमा कांग्रेसले २१ फागुनमा निर्वाचन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिसकेको छ । तर विभिन्न शर्त र आशंकाबीच कांग्रेस र एमाले दुवै चुनाव र पुनर्स्थापनाबीच दोधारमा परेको बुझिन्छ ।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सरकार निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचनका लागि वातावरण बनाउन नसकेको आरोप लगाउँदै निर्वाचनलाई विश्वसनीय बनाउन आवश्यक तयारी नगरेको जनाए । एमाले सचिव महेश बस्नेतले नेतृत्वमाथि स्थान हदका निर्णय, सुरक्षाको जोखिम र राजनीतिक अस्थिरता देखाउँदै फागुन २१ को निर्वाचन सम्भव नदेखिएको स्पष्ट बताए ।

निर्वाचन कानुन संशोधन गर्न अध्यादेश ल्याउने तयारी, विदेश तथा अन्तरजिल्लामा रहेका मतदातालाई मताधिकार सुनिश्चित गर्ने जस्ता विषयलाई बहाना बनाउँदै सरकारले निर्वाचन टार्ने राजनीतिक अन्तर्लक्ष्य रहेको शंका दुवै दलले व्यक्त गर्न थालेका छन् । ओली निकट समूहले सरकारले वातावरण नबनाउँदा प्रतिनिधिसभा पुनर्स्थापना नै उपयुक्त विकल्प बन्न सक्ने मूल्यांकन गरेको छ । कांग्रेस नेता यादवले पनि ६ महिनाभित्र निर्वाचन गर्नैपर्ने संवैधानिक बाध्यता उल्लेख गर्दै सरकारमा इच्छाशक्ति नदेखिएको आरोप लगाए ।

नेकपाका नेता राजेन्द्र पाण्डेले दलहरूले भाग नलिने निर्वाचनले अर्थ नहुने टिप्पणी गर्दै सहमतिविना चुनाव असम्भव रहेको अभिव्यक्ति दिए । यसैबीच, कांग्रेस र एमालेभित्र प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर अभियान तीव्र बनेसँगै २२ भदौमा प्रतिनिधिसभा फर्काउने उद्देश्यले दुवै दल राजनीति पुनर्संयोजनमा जुटेको देखिएको छ ।

यतिबेला मुलुकमा एकातिर निर्वाचनको घोषणा र तयारी, अर्कोतिर पुनर्स्थापनाको प्रक्रिया एकसाथ अगाडि बढिरहेको छ । त्यसैले, आगामी केही दिन देशको राजनीतिक यात्राका निर्णायक मोड बन्ने विश्लेषकहरूको ठम्याइ छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।