काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशन आमनिर्वाचनअघि गर्ने कि पछि भन्ने पुरानो विवाद फेरि चर्किएको छ । लामो रस्साकस्सी र आन्तरिक द्वन्द्वबीच पुस २६–२८ गते महाधिवेशन गर्ने मिति तोकिए पनि निर्धारित कार्यतालिकाअनुसार तयारीको काम अघि नबढेपछि महाधिवेशनको समयबारे फेरि अनिश्चितता पैदा भएको हो ।
समयको चाप तथा प्राविधिक झन्झट देखाउँदै संस्थापन पक्षीय नेताहरूले तोकिएको मितिमा महाधिवेशन गर्न नसकिने अभिव्यक्ति दिइरहेका बेला बहुमत प्रतिनिधि तथा इतर समूह भने जे भए पनि आमनिर्वाचनअघि नै महाधिवेशन गराउनुपर्ने अडानमा अडिग छन् । कांग्रेसका प्रवक्ता तथा संस्थापन पक्षीय नेता डा. प्रकाशशरण महत अब पुस अन्त्यतिर महाधिवेशन गर्नु असम्भव रहेको टिप्पणी गर्छन् । उनीका अनुसार आमनिर्वाचन २१ फागुनमै भए महाधिवेशन त्यसपछि वा निर्वाचन नसरे फागुनमा सम्भव हुन्छ ।
महतका अनुसार क्रियाशील सदस्यता सम्बन्धी कार्यतालिका ढिलो हुनुले सबै तयारी अवरुद्ध भएको छ । सिरियल नम्बर नभएका फर्म पठाइएपछि नयाँ फाराम छापेर पठाउन बाध्य भई काममा झनै ढिलाइ भएको उनको भनाइ छ । “अब आमनिर्वाचन हुने भयो भने महाधिवेशन पछि नै जान्छ,” महत भन्छन्, “किनकि माघदेखि नै चुनावी अभियान सुरु हुन्छ ।” कांग्रेस महाधिवेशनको आधार मानिने क्रियाशील सदस्यता टुंग्याउने कार्य भने अझै सुस्त छ । १५ पुसभित्र नवीकरण, नयाँ वितरण, छानबिन र अन्तिम सूची तयार पार्ने लक्ष्य राखिएको थियो । तर अघिल्ला महाधिवेशनहरूमा झैँ यसपटक पनि यही विषयमा कांग्रेस पुनः अल्झिएको छ । नवीकरणको काम लगभग सकिए पनि नयाँ सदस्यता वितरणका फाराममा सिरियल नम्बर नहुँदा विवाद उत्पन्न भई ढिलाइ बढेको हो । महासचिव गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिबाट पठाइएका चार लाख फाराममा सिरियल नम्बर नभेटिएपछि फेरि नयाँ फाराम छापेर पठाइएको थियो ।
इतर पक्षीय नेता तथा सदस्यता व्यवस्थापन समिति सदस्य प्रकाश रसाइली स्नेही भने काम द्रुत गतिमा भइरहेको दाबी गर्दै निर्धारित समयमै महाधिवेशन हुनुपर्ने निष्कर्षमा छन् । उनका अनुसार नयाँ सदस्यताको प्रारम्भिक सूची बाहिरिएलगत्तै वातावरण स्पष्ट हुने भन्दै जिम्मेवार रूपमा तयारी भइरहेको छ । “क्रियाशीलकै कारण महाधिवेशन रोकिने छैन्,” उनले भने, “बिहीवार साँझसम्ममा खाका आउँछ ।” एउटै विषयमा आन्तरिक द्वन्द्व झनै अप्ठ्यारो बन्दै गएको छ । संस्थापन पक्षले कार्यतालिका संशोधनको प्रस्ताव अघि सारे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने आफ्नै पूर्वप्रतिबद्धतामा अडिग छन् ।
महाराजगन्जस्थित सभापति शेरबहादुर देउवाको निवासमा भएको पछिल्लो छलफलमा पनि यिनै कारणले मतभेद प्रष्ट देखिएको थियो । विकल्पस्वरूप वडा र क्षेत्रीय अधिवेशन सकेर सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्तावसमेत उठिसकेको छ । महामन्त्री थापाले काठमाडौं–४ का कार्यकर्तासँगको भेटमा महाधिवेशन विना निर्वाचनमा जान नसकिने स्पष्ट पार्दै, नियमित महाधिवेशन कठिन भए विशेष महाधिवेशन गर्नुपर्ने बताए । इतर पक्षका नेता शेखर कोइराला पनि तोकिएको मितिमै महाधिवेशन गरिनुपर्ने धारणा राख्छन् । तर सिरियल नम्बरजस्ता प्राविधिक समस्या समाधान नभएसम्म लक्ष्य पूरा हुन चुनौती रहने उनको भनाइ छ । त्यांच्या निकट नेता गुरुराज घिमिरेले केही नेताहरू महाधिवेशन सार्न खोजिरहेको आरोप लगाउँदै त्यो पार्टीका लागि दुर्भाग्य हुने टिप्पणी गरे ।
घिमिरेका अनुसार संस्थापन पक्षको नेतृत्वले समयमै तालिका नल्याई प्रारम्भिक चरणमै ढिलाइ गरेकाले अहिले क्रियाशील सदस्यतामा कांग्रेस रुमलिन बाध्य भएको हो । “४८ दिन फजुल खर्च गरियो, कातिकमै काम सकिन्थ्यो,” उनले भने, “अब मिति सार्ने खेल भइरहेको छ ।” अब जबरजस्ती महाधिवेशन सार्ने प्रयास भए इतर समूहले विशेष महाधिवेशनतर्फ अघि बढ्ने चेतावनी दिएको छ । गत असोज अन्त्यतिर नै ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए ।
विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरे तीन महिनाभित्र बोलाउनै पर्ने व्यवस्था छ । २३–२४ भदौको जेनजी विद्रोहपछि महाधिवेशन आमनिर्वाचनअघि नै हुनुपर्ने धारणा कांग्रेसभित्र झनै बलियो बनेको छ । संस्थापन पक्षकै केही प्रभावशाली नेताहरू पनि यही पक्षमा छन् । तर प्रवक्ता महत भने महाधिवेशन र आमनिर्वाचन दुवै एकैपटक सम्भव नभएको औंल्याउँदै इतर पक्षको अडान जनतासामु देखाउनका लागि मात्रै रहेको टिप्पणी गर्छन् । “सार्वजनिक खपतका लागि बोलिदिने प्रचलन बिग्रिरहेको छ,” उनले भने, “आमनिर्वाचनमा पनि जाने र महाधिवेशन पनि गर्ने अब असम्भव जस्तै भइसक्यो ।” यतिबेला कांग्रेसभित्र महाधिवेशन गर्दा हुने राजनीतिक जोखिम र निर्वाचन तयारीबीच कसरी सन्तुलन मिलाउने भन्ने विषय मुख्य विवादको केन्द्र बनेको छ । एकातिर समयमै संगठन सुदृढ पार्नुपर्ने दाबी छ भने अर्कोतर्फ निर्वाचनका लागि समय अपुग भएको तर्क उठिरहेका छन् । दुवै पक्षको तर्कसँगै कांग्रेसभित्र आगामी दिनमा विवाद झनै गहिरिँदै जाने विश्लेषण राजनीतिक परिवेशले संकेत गरेको छ ।





































