कालोसूचीमा परेका कम्पनीले विदेशी लगानी ल्याउने बाटो खुल्यो

काठमाडौं । कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका कम्पनीहरूले पनि अब विदेशी लगानी तथा वैदेशिक ऋण भित्र्याउन सक्ने कानुनी व्यवस्था बनेको छ।

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियावली–२०७८ लाई पाँचौँपटक संशोधन गर्दै यस्तो बाटो पहिलोपटक खुला गरेको हो।

संशोधित व्यवस्थाअनुसार कालोसूचीमा रहेका कम्पनीहरूले स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने पुरानै व्यवस्था कायमै रहे पनि अब विदेशी लगानीकर्ता वा ऋणदाताबाट भने पूँजी भित्र्याउन सक्नेछन्। यसअघि कालोसूचीमा परेका कम्पनीहरूलाई वैदेशिक स्रोत परिचालन गर्न कानुनी अड्चन रहेको थियो।

संशोधित विनियावलीको अनुसूची–११ अन्तर्गत बुँदा नम्बर ९a मा कालोसूचीमा रहेका कम्पनीले पनि विदेशी लगानीकर्ता वा ऋणदाताबाट रकम प्राप्त गर्न सक्ने स्पष्ट व्यवस्था गरिएको छ। तर, यसका लागि विदेशी लगानीकर्ता वा ऋणदाताले कम्पनीको कालोसूची स्थिति सम्बन्धी कर्जा सूचना केन्द्रको प्रतिवेदन बुझिसकेको हुनुपर्नेछ। साथै, कालोसूची कायम रहँदासम्म लगानीको सावाँ तथा ब्याज (रिप्याट्रियशन) फिर्ता लैजान नपाइने व्यवस्थाबारे आफू जानकार रहेको र सोको पूर्ण पालना गर्ने भनी स्वघोषणा पेस गर्नुपर्नेछ। यसको अर्थ, कम्पनी कालोसूचीमा रहेसम्म विदेशी लगानीकर्ताले आफ्नो लगानीको मूलधन र ब्याज फिर्ता लैजान पाउने छैनन्। यसरी विदेशी लगानीकर्ताले जोखिमबारे पूर्ण जानकारी लिएर मात्र लगानी गर्नुपर्ने व्यवस्था गरिएको हो। उद्योगी–व्यवसायीहरूले विदेशी साझेदारलाई विश्वासमा लिन सकेमा अब विदेशबाट ऋण वा लगानी ल्याउने कानुनी ढोका खुलेको छ। यसले अन्तर्राष्ट्रिय पहुँच भएका तर पूँजी अभाव झेलिरहेका उद्योगी तथा व्यवसायीलाई व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस विषयमा नेपाल राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले नयाँ व्यवस्थाले नेपाली कम्पनीहरूलाई लगानी र ऋण दुवै माध्यमबाट विदेशी स्रोत परिचालन गर्न सक्ने स्पष्ट बाटो खोलेको बताए। उनका अनुसार विदेशी लगानी दुई तरिकाले भित्रिन सक्छ—पहिलो, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अन्तर्गत पूँजीमा सहभागिता जनाएर, र दोस्रो, ऋणको रूपमा। न्यौपानेका अनुसार कतिपय नेपाली कम्पनीहरू अस्थायी कोष व्यवस्थापन समस्याका कारण कालोसूचीमा पर्ने गरेका छन्। यदि त्यस्ता कम्पनीसँग व्यवहारिक र सम्भावनायुक्त व्यवसाय योजना छ भने विदेशी साझेदारलाई विश्वस्त पारेर लगानी भित्र्याउन सकिनेछ। यसले उनीहरूलाई पुनः व्यवसाय सञ्चालनमा फर्किन र आर्थिक संकटबाट बाहिर निस्कन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि, विदेशी लगानी भित्र्याउने प्रक्रिया सहज बनाइए पनि नाफा वा प्रतिफल विदेश लैजाने विषयमा कडा सर्त राखिएको छ। न्यौपानेका अनुसार कम्पनीले नेपालमा आर्जन गरेको नाफा फिर्ता लैजानुअघि अनिवार्य रूपमा कालोसूचीबाट मुक्त भएको हुनुपर्नेछ। लगानीको सुरक्षा, अनुशासन र पारदर्शिता सुनिश्चित गर्न यस्तो प्रावधान राखिएको उनले स्पष्ट पारे। उनका अनुसार यस संशोधनले नेपाल विदेशी लगानीका लागि खुला र लचिलो हुँदै गएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा प्रवाह गर्ने विश्वास गरिएको छ। “सरकार र राष्ट्र बैंकले क्रमशः लगानी भित्र्याउने र नाफा फिर्ता लैजाने प्रक्रिया सहज बनाउँदै लगेका छन्। यसले विदेशी लगानीकर्तालाई आकर्षित गर्ने वातावरण निर्माण हुँदै गएको देखिन्छ,” उनले बताए ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।