कांग्रेसमा के पकाउँदैछन् देउवा ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न आम निर्वाचन र पार्टीको १५ औँ नियमित महाधिवेशनको तयारीबारे पार्टीभित्र आन्तरिक छलफल गरेका छन् ।

आइतबार दिउँसो आफ्नै निवास महाराजगञ्जमा उनले आफू निकट शीर्ष नेताहरूसँग मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचन तयारी र पार्टीको आन्तरिक कार्यतालिकाबारे छलफल गरेका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणका अनुसार छलफलको मुख्य केन्द्रविन्दु फागुन २१ गते हुने आम निर्वाचन र पार्टीको नियमित महाधिवेशनको तयारी थियो। बैठकमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिबाट पारित महाधिवेशनको कार्यतालिकाबारे सभापति देउवालाई जानकारी गराइएको खाणले बताए। ‘केन्द्रीय कार्यसम्पादन समितिले २०८३ वैशाख २९ र ३० गते १५ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका पारित गरिसकेको छ,’ खाणले भने, ‘सोही निर्णयबारे सभापतिज्यूलाई जानकारी गराउँदै आजको छलफल आम निर्वाचन र नियमित महाधिवेशनको तयारीमै केन्द्रित रह्यो।’

छलफलमा आगामी राजनीतिक रणनीति, संगठन सुदृढीकरण, उम्मेदवार चयन प्रक्रिया र चुनावी तयारीका विषयमा पनि सामान्य छलफल भएको बताइएको छ। कांग्रेस नेतृत्वले चुनाव नजिकिँदै गर्दा पार्टीभित्र एकता कायम गर्दै संगठनलाई थप सक्रिय बनाउने दिशामा ध्यान केन्द्रित गरेको संकेत यस बैठकले दिएको छ। यसैगरी, छलफलमा माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनबारे पनि कुराकानी भएको खाणले जानकारी दिए। राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीसहित अन्य राजनीतिक दलसँग संवाद र सहकार्य अघि बढाउने विषयमा समेत बैठकमा छलफल भएको उनको भनाइ छ। राष्ट्रिय सभाको निर्वाचनलाई रणनीतिक रूपमा महत्वपूर्ण मान्दै कांग्रेसले अन्य दलसँगको संवादलाई प्राथमिकतामा राखेको देखिन्छ। पार्टीभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको विषयमा पनि बैठकमा सामान्य छलफल भएको खाणले बताए। यद्यपि, सो विषयमा विस्तृत निर्णय वा ठोस निष्कर्ष भने ननिस्किएको उनको भनाइ छ।

नेपाली कांग्रेसभित्र पछिल्लो समय नेतृत्व, महाधिवेशनको समय र कार्यदिशालाई लिएर विभिन्न मतहरू सार्वजनिक भइरहेका बेला सभापति देउवाले शीर्ष नेतासँग गरेको यो छलफललाई महत्वपूर्ण रूपमा हेरिएको छ। आगामी निर्वाचन र महाधिवेशन दुवैलाई व्यवस्थापन गर्नुपर्ने चुनौतीका बीच कांग्रेस नेतृत्व आन्तरिक संवाद र समन्वयमा जुटेको संकेत यस छलफलले दिएको विश्लेषण गरिएको छ। कांग्रेसले आगामी दिनमा केन्द्रीय समिति र अन्य पार्टी संरचनामार्फत छलफललाई औपचारिक निर्णयमा लैजाने तयारी गर्ने अपेक्षा गरिएको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।