ओलीले दुवै आयोगमा दिए बयान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा राज्यको भूमिकाबारे राष्ट्रिय मानवअधिकार आयोगसमक्ष साढे दुई घण्टा लामो बयान दिएका छन् ।

आयोगकी सदस्य लिली थापाले ओलीसँग आयोगकै कार्यालयमा बसेर विस्तृत रुपमा बयान लिइएको जानकारी दिइन् । थापाका अनुसार पूर्वप्रधानमन्त्री ओली आइतबार आयोगको कार्यालयमै उपस्थित भएर दिउँसो करिब ४ बजेदेखि साँझ ६ः३० बजेसम्म बयानमा सहभागी भए। “पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आयोगको कार्यालयमै उपस्थित भएर बयान दिनु भयो,” थापाले भनिन्, “उहाँ अढाइ घण्टासम्म बसेर सबै प्रश्नको जवाफ दिएर जानु भयो ।”

उनका अनुसार ओलीसँग सोधिएका प्रश्नहरू भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित थिए। उक्त समयमा ओली कार्यकारी प्रमुख तथा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतमा रहेका कारण आन्दोलनका क्रममा सरकारले खेलेको भूमिका, भएका निर्णय र अपनाइएका कदमबारे केन्द्रित भएर प्रश्नोत्तर गरिएको थापाले स्पष्ट पारिन्। “कार्यकारी प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष भएको नाताले जेनजी आन्दोलनको क्रममा आफूले कस्तो भूमिका निभाउनु भयो भन्ने विषयमा आधारित प्रश्नहरू सोधिएका थिए,” उनले भनिन्, “आयोगले तयार पारेका ३५ वटै प्रश्नको उहाँले जवाफ दिनु भयो।” आयोगका पदाधिकारीहरूका अनुसार बयानका क्रममा कार्यकारी प्रमुखको हैसियतले गर्नुपर्ने कर्तव्य, जिम्मेवारी र भूमिकाबारे पनि विस्तृत रुपमा छलफल गरिएको थियो। यद्यपि आयोगले बयानमा के–कस्ता प्रश्न सोधिए र ओलीले कस्तो जवाफ दिए भन्नेबारे भने गोपनीयता कायम राख्दै विस्तृत विवरण सार्वजनिक गर्न चाहेको छैन।

यता जेनजी आन्दोलन छानबिनका लागि गठित जाँचबुझ आयोगसमक्ष पनि ओलीले आफ्नो भनाइ राखेका छन्। आयोगसम्बद्ध स्रोतले ओलीले आयोगमा ‘आफ्नो स्टेटमेन्ट दिएको’ पुष्टि गरेको छ। स्रोतका अनुसार आयोगले ओलीलाई औपचारिक पत्र पठाएको थियो र पत्र बुझ्नासाथ ओली बयान दिन तयार भएका थिए। “आयोगको टोलीले उहाँलाई पत्र काटेको थियो। पत्र बुझ्नासाथ उहाँ आफ्नो भनाइ राख्न तयार हुनुभयो,” स्रोतले भन्यो, “त्यसपछि आयोगको टोली उहाँको स्टेटमेन्ट लिएर फर्किएको हो।” स्रोतका अनुसार आयोगको टोली ओलीसँग भेट्न जाँदा उनले मौखिक नभई लिखित रुपमा नै आफ्नो दृष्टिकोण र जवाफ प्रस्तुत गरेका थिए।

‘ओली निकटका व्यक्तिहरूको संकेतअनुसार नै आयोगको टोली पत्र लिएर उहाँलाई भेट्न गएको थियो,’ स्रोतले भन्यो, ‘त्यहाँ उहाँले सबै प्रश्नको लिखित जवाफ पेस गर्नुभयो।’ यसअघि पूर्वप्रधानमन्त्री ओलीले जाँचबुझ आयोगमाथि प्रश्न उठाउँदै सिंहदरबारमा पुगेर बयान दिन अस्वीकार गर्दै आएका थिए। उनले आयोगको वैधानिकता र निष्पक्षतामाथि शंका व्यक्त गरेका थिए। तर पछिल्लो समय आफ्नो अडानमा केही लचकता देखाउँदै ओलीले ‘गुण्डुमा आए आयोगको टोलीलाई चिया खुवाएर पठाउने’ अभिव्यक्ति दिएका थिए, जसलाई आयोगसँग सहकार्यको संकेतका रुपमा हेरिएको थियो। आयोगसम्बद्ध स्रोतका अनुसार सबै पक्षका बयान र संकलित विवरणका आधारमा आयोगले ६० वटाभन्दा बढी प्रश्नहरू तयार पारेको थियो। तीमध्ये ओलीसँग सम्बन्धित ३५ प्रश्नमा केन्द्रित भएर उनको स्टेटमेन्ट लिइएको बताइएको छ।

“सबैको बयान र विवरणका आधारमा धेरै प्रश्न तयार भएका थिए,” स्रोतले भन्यो, “हामीले स्टेटमेन्ट लिएर फर्कियौं भन्ने जानकारी मात्रै बाहिर आएको हो।” उल्लेखनीय छ, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकको पनि बयान लिइसकेको छ। बयानका क्रममा लेखकले आन्दोलनका बेला गोली चलाउन आफूले कुनै आदेश नदिएको दाबी गरेका थिए। लामो समयदेखि आयोगमा बयान दिन नजाने अडान लिँदै आएका ओलीले अन्ततः आइतबार लिखित स्टेटमेन्ट बुझाएका छन्। यससँगै जेनजी आन्दोलनसम्बन्धी उच्च तहका जिम्मेवार व्यक्तिहरूको बयान संकलन प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको मानिएको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।