कांग्रेस महाधिवेशन प्रतिनिधि चाहँदैनन् पार्टी विभाजन

काठमाडौं । नेपाली कांग्रेसको राजनीतिक यात्रामा अर्को महत्वपूर्ण मोडका रूपमा दोस्रो विशेष महाधिवेशन सुरु भएको छ । आइतबारदेखि काठमाडौंमा आरम्भ भएको यस विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले आफूहरू पार्टी विभाजन होइन, सुधार र रूपान्तरणका लागि एकत्रित भएको स्पष्ट पारेका छन् ।

संस्थापन पक्षले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गर्न खोज्दा पार्टी फुट्न सक्ने आशंका व्यक्त गरिरहेका बेला महाधिवेशन पक्षधर प्रतिनिधिहरूले भने ती आरोप अस्वीकार गरेका छन् । उनीहरूका अनुसार विशेष महाधिवेशन पूर्ण रूपमा विधानसम्मत छ र यसले पार्टीलाई कमजोर होइन, अझ सुदृढ बनाउनेछ । भृकुटीमण्डपमा भेला भएका प्रतिनिधिहरूले कांग्रेस विधानको धारा १७ (२) अनुसार नै विशेष महाधिवेशन आह्वान गरिएको दाबी गरेका छन् ।

उक्त धारामा केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिले विशेष कारणसहित लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । जेन–जी आन्दोलनको भावनाअनुसार नेतृत्व परिवर्तन आवश्यक भएकाले विधानकै प्रक्रिया अपनाएर विशेष महाधिवेशन आयोजना गरिएको दैलेख–१ की प्रतिनिधि कृष्णकुमारी चन्दले बताइन् । उनले भनिन्, “हामीले पहिला नियमित महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको प्रस्ताव राख्यौं ।

तर त्यसलाई बेवास्ता गरियो । पार्टी नेतृत्वले जेन–जी आन्दोलनको मर्म नबुझेपछि हामी विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशनको मागमा गयौं । यो प्रक्रिया पूर्ण रूपमा वैधानिक छ ।” महाधिवेशन नै पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने सर्वोच्च निकाय भएकाले विशेष महाधिवेशन पक्षधरलाई विभाजनकारी भन्न नमिल्ने उनीहरूको तर्क छ । झापा–५ का प्रतिनिधि भूमिराज राईले भने, “यदि विशेष महाधिवेशन विभाजनको माध्यम हुन्थ्यो भने विधानमै यस्तो व्यवस्था हुने थिएन । यो प्रक्रिया पार्टीलाई फुटाउने होइन, रूपान्तरणको बीउ रोप्ने प्रयास हो ।”

संस्थापन पक्षले निराधार रूपमा विभाजनको हल्ला फैलाएको आरोप पनि विशेष महाधिवेशन पक्षधरहरूले लगाएका छन् । सिन्धुपाल्चोक–१ की प्रतिनिधि गोपिनी गिरीका अनुसार पार्टी रूपान्तरणका लागि एकताबद्ध सन्देश दिन खोज्दा संस्थापन पक्षले त्यसलाई अस्वीकार गरेको छ । उनले भनिन्, “हामीले एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दा निमन्त्रण नै अस्वीकार गरियो । विगतमा पार्टी विभाजनको अवस्थामा पुगेका नेताबाट अहिले हामीमाथि विभाजनकारी आरोप लगाउनु उपयुक्त होइन ।”

नेपाली कांग्रेस २०५१ सालमा विभाजनको संघारमा पुगेको इतिहास स्मरण गर्दै प्रतिनिधिहरूले अहिले पनि एकताको जिम्मेवारी नेतृत्वमै रहेको बताएका छन् । नवलपुर–१ की प्रतिनिधि विष्णुदेवी पाण्डेले भनिन्, “वैधता बहुमतसँग हुन्छ । एकताको सन्देश दिने दायित्व सभापतिको पनि हो ।” यद्यपि, विशेष महाधिवेशनबाट नेतृत्व चयन भए पार्टी फुट्न सक्ने चिन्ता कतिपय कार्यकर्तामा देखिन्छ । उदयपुरका कार्यकर्ता फरिन खड्काले भावुक हुँदै भने, “अरू जे भए पनि पार्टीको चिन्ह, इतिहास र संगठन जोगिनुपर्छ ।”

यसबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी नफुट्ने स्पष्ट आश्वासन दिइरहेका छन् । महामन्त्री थापाले पार्टी एकता जोगाउन आफू दृढ रहेको बताउँदै भनेका थिए, “पार्टी फुट्दैन । साँच्चिकै संकट आयो भने पनि म एकता जोगाउन कुनै कसर बाँकी राख्दिनँ ।” महामन्त्री शर्माले पनि विशेष महाधिवेशन पार्टी विभाजनतर्फ नजाने स्पष्ट पार्दै एकता कायम राख्ने प्रतिबद्धता जनाएका छन् । विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन सम्भव नभए नीति महाधिवेशन गरेर वैशाखमा तय भएको नियमित महाधिवेशनतर्फ जाने रणनीति पनि पक्षधरहरूको छ । बारा–३ का क्षेत्रीय सभापति प्रभात कुमार चौरासियाले भने, “हाम्रो चाहना नीति र नेतृत्व दुवै परिवर्तन गर्ने हो । तर राम्रो नीति बनाएर पनि पार्टीलाई अघि बढाउन सकिन्छ ।”

कतिपय प्रतिनिधिहरूले भने नेतृत्व चयन नभए प्रतिनिधिमाथि धोका हुने चेतावनी दिएका छन् । जेन–जी आन्दोलनको सम्मान, पार्टी रूपान्तरण र आगामी चुनावलाई ध्यानमा राख्दै नेतृत्व परिवर्तन अपरिहार्य भएको उनीहरूको मत छ । दार्चुलाका प्रतिनिधि नरेन्द्र सिंह धामीले भने, “पुरानै सोच र कमजोर नेतृत्व लिएर चुनाव जित्न सकिँदैन । नयाँ ऊर्जा दिन नेतृत्व परिवर्तन आवश्यक छ ।”

नवलपरासी–२ का प्रतिनिधि राधेश्याम पाठकले नेतृत्व परिवर्तन नभए प्रतिनिधिहरू निराश हुने बताए । उनले भने, “धेरै प्रतिनिधि ठूलो अपेक्षा र उत्साहका साथ आएका छन् । यदि नेतृत्व परिवर्तन भएन भने उनीहरूलाई धोका हुन्छ ।” विशेष महाधिवेशनको नेतृत्व महामन्त्री गगन थापाले गरिरहेको सन्दर्भमा उनले नै पार्टी नेतृत्व सम्हाल्नुपर्ने आवाज पनि उठेको छ । प्रतिनिधि चन्दले भनिन्, “कांग्रेसको नेतृत्व अब युवाले लिनुपर्छ । विशेष महाधिवेशनको अगुवाइ गरेका कारण गगन थापाले नेतृत्व लिनुपर्छ ।” यसैबीच, थापाले हलको निर्णय नै अन्तिम हुने स्पष्ट संकेत गरिसकेका छन् । उनले भनेका छन्, “विशेष महाधिवेशनको गन्तव्य हलले तय गर्छ । हलले निर्णय गर्‍यो भने म पछि हट्दिनँ ।” अब यो विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै परिवर्तन गर्छ वा नीतिगत सुधारमा मात्र सीमित रहन्छ भन्ने प्रश्नको उत्तर कार्यकर्ता र प्रतिनिधिहरू प्रतीक्षामा छन् ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।