काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवद्र्धनबिनाको समृद्धि अपूरो हुने बताएका छन् ।
गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्कसँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताए ।
“कला र साहित्य राष्ट्रको बल र पहिचान हो,” मन्त्री तिमिल्सिनाले भने, “भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन । साहित्यलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा सरकारले गम्भीरपूर्वक सोच्ने बेला आएको छ ।”
उनले पछिल्लो समय सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको महत्त्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै बदलिँदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताए । साहित्य क्षेत्रको दीर्घकालीन विकासका लागि नतिजामुखी र दिगो प्रभाव पार्ने नीतिगत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
सञ्चारमन्त्री तिमिल्सिनाले राजनीतिक क्षेत्रले साहित्य र कलाको महत्त्वलाई अपेक्षित प्राथमिकता दिन नसकेको धारणा व्यक्त गरे । समाजलाई बुझ्न, मानव संवेदनालाई पहिचान गर्न र जीवनका विविध पक्षलाई विश्लेषण गर्न साहित्यले महत्त्वपूर्ण सहयोग गर्ने उल्लेख गर्दै उहाँले साहित्यिक चेत र अध्ययनले अन्य क्षेत्रमा काम गर्दा पनि निरन्तर सहयोग पुर्याएको अनुभव सुनाए । ।
लामो इतिहास बोकेका सरकारी तथा सार्वजनिक सञ्चार संस्था तथा साहित्यिक र सांस्कृतिक संस्थाहरू आर्थिक रूपमा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संस्थालाई नयाँ जीवन दिनु र आर्थिक रूपमा सबल बनाउनु आवश्यक रहेको र हाम्रो इतिहासको पुनर्जागरण गर्ने बेला आएको मनत्री तिमिल्सिनाले बताए ।
विगतमा संस्थागत संस्कार विकास गर्न नसकिएको र सरकारी संस्थानलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्रका रूपमा प्रयोग गरिएका कारण धेरै संस्था कमजोर बनेको उनले बताए । कार्यक्रममा ‘मधुपर्क सम्मान–२०८३’ अन्तर्गत पद्यतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ वरिष्ठ कथाकार भाउपन्थी तथा ‘मधुपर्क प्रतिभा सम्मान’बाट डा गीता त्रिपाठीलाई सम्मान गरिएको थियो । उनीहरूलाई सम्मानपत्रसहित रु ५० हजार नगद प्रदान गरिएको गोरखापत्र संस्थानले जनाएको छ । मधुपर्कका पूर्वसम्पादक कपिल घिमिरेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।































