काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता भङ्ग भएसँगै प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्दसूची पेचिलो बनेको छ। एकताकै आधारमा रास्वपाले उज्यालो नेपाल पार्टीका नेताहरूलाई समेटेर निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची अब विवादमा परेको हो।
एकता भङ्ग भएपछि उज्यालो नेपाल पार्टीले छुट्टै बन्दसूची बुझाउने कानुनी समयसीमा गुमाइसकेको छ भने रास्वपाले यसअघि बुझाएको सूचीबाट केही नाम फिर्ता भएपछि नयाँ नाम समावेश गर्नुपर्ने अवस्था आएको छ। तर, बन्दसूचीमा परेका केही नेताहरू उज्यालो नेपाल पार्टीमा नफर्किने अडानमा देखिएपछि समस्या थप जटिल बनेको छ।
आइतबार रास्वपाले समानुपातिक सूची अद्यावधिक गरे पनि उज्यालो नेपाल पार्टीको तर्फबाट समेटिएकी रिमा विश्वकर्माको नाम भने यथावत् राखिएको छ। रिमा उज्यालो नेपाल पार्टी स्थापनादेखि नै सक्रिय अभियानकर्ताका रूपमा देखिँदै आएकी थिइन्। तर, रास्वपासँग एकता भङ्ग भएपछि उज्यालो नेपाल पार्टीले गरेको पत्रकार सम्मेलनमा उनी देखिइनन्।
उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यका अनुसार रिमा केन्द्रीय समिति बैठकमा उपस्थित भए पनि छोटो समयमै बैठक छाडेर निस्किएकी थिइन्। ती नेताका अनुसार बैठकबाट बाहिरिँदा रिमाको आँखामा आँसु देखिन्थ्यो। उनका अनुसार रिमा अब उज्यालो नेपाल पार्टीमा नफर्कने सम्भावना देखिएको छ, यद्यपि उनले औपचारिक निर्णय भने सार्वजनिक गरेकी छैनन्। स्रोतका अनुसार रिमा रास्वपाको बन्दसूचीबाट नाम फिर्ता नलिने पक्षमा छिन्। कानुनी रूपमा उनी रास्वपामा आबद्ध नरहे पनि बन्दसूचीबाट हट्नुपर्ने बाध्यता छैन।
यस्तै, उज्यालो नेपाल पार्टीबाट रास्वपाको समानुपातिक सूचीमा रहेका डा. अभिषेक राज सिंहले पनि नाम फिर्ता नगर्ने संकेत गरेका छन्। उनले हाल आफू छलफलमै रहेको बताउँदै कुनै निर्णय नगरेको बताए। तर स्रोतका अनुसार उनी सुरुदेखि नै रास्वपासँगको एकताको पक्षमा थिए। मधेसी कोटातर्फ रास्वपाको समानुपातिक सूचीमा चौथो नम्बरमा रहेका कारण उनी रास्वपामै रहने सम्भावना बलियो देखिएको छ। रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता हुँदा दुवै दलले समानुपातिक सूची भागबन्डाका आधारमा बुझाएका थिए। तर शनिबार साँझ एकता भङ्ग भएसँगै रास्वपाले उज्यालो नेपाल पार्टीतर्फबाट समावेश गरिएका नामहरू अद्यावधिक गर्न थालेको छ।
यसअघि नै उज्यालो नेपाल पार्टीका त्रिशला गुरुङ र महेन्द्र लावतीले रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिने घोषणा गरिसकेका थिए। तुलसा वाइवा लगायत अन्य केही नेताहरू पनि उज्यालो नेपाल पार्टीमै फर्किने भएका छन्। वाइवाले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने स्पष्ट पारेकी छन्। महेन्द्र लावतीले आफू उज्यालो नेपाल पार्टीमै रहेर प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन्। यस्तै, थारु समूहको कोटामा रास्वपाको समानुपातिक सूचीमा दोस्रो नम्बरमा रहेका सोमप्रसाद चौधरीले पनि रास्वपाबाट नाम फिर्ता लिने बताएका छन्।
उनले उज्यालो नेपाल पार्टीसँग एकता नभएको अवस्थामा आफू त्यहीँबाट राजनीतिक यात्रा अघि बढाउने स्पष्ट पारे। उज्यालो नेपाल पार्टीका तत्कालीन अध्यक्ष अनुप उपाध्याय पनि पार्टीमै फर्किएका छन्। उनले अध्यक्षको जिम्मेवारी कुलमान घिसिङलाई सुम्पिएर आफू संरक्षकको भूमिकामा बसेका छन्। त्यसैले उनले पनि रास्वपाको समानुपातिक सूचीबाट नाम हटाएका छन्।
निर्वाचन आयोगका अनुसार बन्दसूचीमा रहेका उम्मेदवारहरूले नाम फिर्ता नलिएसम्म रास्वपाले नयाँ नाम समावेश गर्न सक्दैन। उज्यालो नेपाल पार्टीमै रहेर रास्वपाको बन्दसूचीमा बस्नु राजनीतिक र नैतिक रूपमा समस्या हुने देखिएको आयोगको बुझाइ छ। पुराना राजनीतिक शक्तिलाई चुनौती दिने दाबीका साथ गरिएको रास्वपा–उज्यालो नेपाल पार्टीबीचको एकता १२ दिनमै टुट्न पुगेको छ। पद, भूमिका र नेतृत्वको विवादका कारण सात बुँदे सहमति पनि टिक्न सकेन।
एकता असफल भएपछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ शनिबार पार्टी अध्यक्ष बनेर उज्यालो नेपालमै रहने घोषणा गरेका छन्। उज्यालो नेपाल पार्टी साविककै अवस्थामा फर्किएपछि समानुपातिक निर्वाचन प्रक्रियाबाट भने बाहिरिने निश्चित भएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बन्दसूचीमा रहेका व्यक्तिले नाम फिर्ता नलिएसम्म सूची अद्यावधिक हुन नसक्ने स्पष्ट पारे। उनले भने, ‘सम्बन्धित व्यक्तिले नाम फिर्ता नलिएसम्म जुन दलको बन्दसूचीमा नाम छ, ऊ त्यही दलको उम्मेदवार मानिन्छ।’
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।
































