क्यानद्वारा २०२६ का लागि पुरुष र महिला क्रिकेट खेलाडीको केन्द्रीय सम्झौता सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय पुरुष तथा महिला क्रिकेट खेलाडीहरूको नयाँ केन्द्रीय सम्झौता र वर्गीकरण सार्वजनिक गरेको छ । क्यानले यस वर्ष ३८ जना पुरुष र २५ जना महिला खेलाडीलाई विभिन्न श्रेणीमा समावेश गर्दै मासिक पारिश्रमिक तथा म्याच फीको व्यवस्था गरेको हो ।

यसपटक क्यानले पुरुषतर्फ पहिलो पटक ‘ए प्लस’ श्रेणी थप गरेको छ । उक्त श्रेणीमा राष्ट्रिय एकदिवसीय टोलीका कप्तान रोहित पौडेल, टी–२० टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी तथा स्टार लेग स्पिनर सन्दीप लामिछानेलाई समावेश गरिएको छ । उनीहरूले मासिक जनही १ लाख २० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । क्यानले यो हालसम्मकै उच्च मासिक पारिश्रमिक भएको जनाएको छ ।

पुरुषतर्फ ‘ए’ श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी रहेका छन् । उनीहरूले मासिक १ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।यस्तै ‘बी’ श्रेणीमा ललित नारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुल्शन झा समावेश छन् । उनीहरूको मासिक पारिश्रमिक ७५ हजार रुपैयाँ तोकिएको छ ।

‘सी’ श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बसिर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल शाह रहेका छन् । उनीहरूले मासिक ५५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

त्यस्तै ‘डी’ अर्थात् डेभलपमेन्ट श्रेणीमा त्रितराज दास, राशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिश जीसी र सागर ढकाल रहेका छन् । उनीहरूलाई मासिक ३५ हजार रुपैयाँ पारिश्रमिक दिइने क्यानले जनाएको छ ।

महिलातर्फ ‘ए’ श्रेणीमा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, पूर्वकप्तानद्वय रुविना क्षेत्री र सीता राना मगर रहेका छन् । उनीहरूले मासिक ५५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । ‘बी’ श्रेणीमा कविता कुँवर, सम्झना खड्का र मनीषा उपाध्याय समावेश छन् । उनीहरूको मासिक पारिश्रमिक ४० हजार रुपैयाँ तोकिएको छ । त्यस्तै ‘सी’ श्रेणीमा विन्दु रावल, कविता जोशी, रुबी पोदार र रिया शर्मा रहेका छन् । उनीहरूले मासिक ३० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

हिलातर्फ डेभलपमेन्ट श्रेणीमा रोमा थापा, सुमन विष्ट, ईश्वरी विष्ट, सोनी पाख्रिन, सना प्रविन, सावित्री धामी, काजल श्रेष्ठ, सीमाना केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अश्मिना कर्माचार्य र रचना चौधरी रहेका छन् । उनीहरूलाई मासिक २५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइनेछ ।

क्यानका अनुसार पुरुष तथा महिला दुवै टोलीका खेलाडीले म्याच फीसमेत पाउनेछन् । प्रत्येक एकदिवसीय खेलका लागि १५ हजार रुपैयाँ तथा टी–२० अन्तर्राष्ट्रिय खेलका लागि १० हजार रुपैयाँ म्याच फी छुट्टै उपलब्ध गराइने क्यानले जनाएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।