रुपन्देही । सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनि बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् ।
रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–७ स्थित श्री बगौली माध्यमिक विद्यालयमा अध्यापन गर्ने यादव शिक्षण पेसासँगै कृषि कर्मलाई आत्मसात् गर्दै ‘आत्मनिर्भर जीवन’ को उदाहरण बनेका छन् । कार्यालय समयमा विद्यालय पुग्ने, कक्षाकोठामा ज्ञान बाँड्ने र फुर्सदको समय खेतबारीमा बिताउने उनको दैनिकीले ‘समय अभाव’ भन्ने बहानालाई पनि चुनौती दिएको छ । सार्वजनिक बिदाका दिन तथा बिहान–साँझ समयको सदुपयोग गर्दै कृषिबाट राम्रो आम्दानी गरिरहेको उनले जानकारी दिए।
रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ बोगडी बस्ने यादव युवा उमेरमा नै जिम्मेवार शिक्षक मात्र होइन, नयाँ सोच भएका मिहिनेती कृषकका रूपमा समेत चिनिन थालेका छन् । विद्यालय बाहेकको समयलाई उनले उत्पादनशील बनाउँदै आधुनिक र व्यावसायिक ढङ्गबाट कृषि पेसा अघि बढाएका छन् । यादवको कृषि यात्राले आज स्वदेशमा सम्भावना छैन भन्दै वैदेशिक रोजगारीमा गएका धेरै युवालाई नयाँ बाटो देखाएको छ ।
उनि भन्छन्, “विदेश गएर अर्काको भूमिमा काम गर्नुभन्दा आफ्नै देशकै माटोमा पसिना बगाएर उत्पादनमा लाग्नु नै उपयुक्त लाग्छ । आफ्नै खेतमा फलफूल र तरकारी उत्पादन गरी स्वदेशमै मात्र होइन, विदेशसम्म पठाउन सकिन्छ । लाखौँ रकम खर्चेर विदेशिनुभन्दा त्यो रकम नेपालमै लगानी गरी कृषि पेसामा लागेर आफ्नै परिवारसँगै बस्न पाइन्छ र आम्दानी पनि राम्रो हुन्छ ।” उनले कृषि पेसामा प्रशस्तै सम्भावना रहेको बताए । कृषिको आधुनिकरण र व्यावसायिकीकरणमा भने सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
कृषि कार्यलाई सहज बनाउन उनले प्रयोग गरेको मिनी (हाते) ट्याक्टर उनका लागि प्रविधि र श्रमको मिलन बनेको छ । केराखेती गोडमेल गर्न करिब रु १० हजार ज्याला खर्चिनुपर्नेमा मिनी ट्याक्टर प्रयोग गर्दा करिब रु ३०० बराबरको इन्धन खर्चमै काम सम्पन्न भएको उनि बताउछन् । यसले समय र पैसाको दुवै बचत गरिदिएको यादवको भनाइ छ ।
हाल यादवले करिब पाँच कट्ठामा काउली, आठ कट्ठामा टमाटर र करिब दुई बिघा क्षेत्रफलमा केराखेती गर्नुभएको छ । धनियाँ, साग, खुर्सानीजस्ता तरकारी पनि नियमित रुपमा उत्पादन भइरहेको उनले जानकारी दिए । कृषिबाट वार्षिक दुई लाख ५० हजार बढी आम्दानी हुने गरेको उनले बताए । सरकारले कृषि क्षेत्रलाई विद्युतीकरण गर्न सके ‘अन्नभण्डार’ का रुपमा चिनिने मर्चवार क्षेत्रमा उत्पादन हुने सागसब्जी नेपालभरि मात्र नभई विदेशसम्म पनि निर्यात गर्न सकिने उनको विश्वास छ ।
यद्यपि उनको कृषि यात्रामा चुनौती पनि उत्तिकै छन् । जङ्गली जनावरको आक्रमणले कृषकहरु मारमा पर्ने गरेको उनि बताउछन् । यादव भन्छन्, “समयमै बीउ र मल नपाउने, सिँचाइका लागि विद्युतीय पहुँच नहुनु र सरकारले अपेक्षित सहयोग दिन नसक्नु एउटा पीडा हो । लगाइएको तरकारीलाई नीलगाई, बँदेल, छाडा चौपाया तथा अन्य जङ्गली जनावरबाट जोगाउनु अर्को चुनौती छ ।” जनावरबाट बाली जोगाउन उनले ‘इलेक्ट्रिक फेन्सिङ’ प्रयोग गरेका छन्, जसले केही हदसम्म राहत दिएको उनि बताउछन् । साथै सामूहिक रूपमा खेतीपाती गर्दै नियमित हेरचाह र निगरानी गर्दा पनि जनावरबाट बाली जोगाउन सहयोग पुगेको उनि बताउछन् ।
कलम र कोदालो दुवै सम्हाल्दै अघि बढिरहेका शिक्षक सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषि कर्मलाई सम्मानजनक र सम्भावनायुक्त पेसाका रूपमा परिभाषित गरेका छन् । उनको जीवन यात्रा आजका युवाका लागि स्पष्ट सन्देश हो ‘सम्भावना विदेशमा मात्रै होइन, आफ्नै माटोमा पनि प्रशस्त छ ।’



































