गगन थापामाथि चुनौतीका चाङ

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगनकुमार थापालाई पार्टीको सभापतिमा निर्वाचित गरेसँगै कांग्रेसको आन्तरिक राजनीति नयाँ मोडमा प्रवेश गरेको छ ।

पार्टी विधानबमोजिम विशेष महाधिवेशनको माग महाधिवेशन प्रतिनिधिहरूको बहुमतबाट उठे पनि तत्कालीन केन्द्रीय समितिको बहुमतले त्यसलाई अस्वीकार गरेपछि परिस्थिति झन् जटिल बनेको थियो । यही पृष्ठभूमिमा तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूको अग्रसरतामा काठमाडौंमा विशेष महाधिवेशन आयोजना गरिएको हो ।

विशेष महाधिवेशन सुरु भएलगत्तै तत्कालीन सभापति शेरबहादुर देउवा पक्षधरहरूले वार्ताको नाममा प्रक्रिया लम्ब्याउने र महाधिवेशन नै तुहाउने प्रयास गरेका थिए । विशेष महाधिवेशन पक्षधरहरू पटक–पटक लचिलो बने पनि देउवाले पार्टीमा कार्यकारी भूमिकामा निरन्तर सक्रिय रहनुपर्ने अडान नछाडेपछि सहमतिको सम्भावना सकिँदै गयो । अन्ततः देउवाको यही हठका कारण विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्नुपर्ने अवस्था आएको थियो।

यसैबीच देउवा नेतृत्वको कार्यसमितिले तत्कालीन महामन्त्रीद्वय थापा र शर्मालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्‍यो । तर त्यो निर्णय सानेपामा औपचारिक रूपमा हुनुअघि नै विशेष महाधिवेशनले तत्कालीन केन्द्रीय समिति भङ्ग गरिसकेको थियो । कानुनी र विधानसम्बन्धी हिसाबले यी विषयहरू दाउपेचका रूपमा देखिए पनि राजनीति केवल कागजी प्रावधानमा मात्र सीमित हुँदैन । अन्ततः राजनीति समाजको यथार्थ र जनभावनाबाट निर्देशित हुन्छ ।

आजको यथार्थ भने भदौ २३ र २४ गते देखिएको ‘जेन–जी’ आन्दोलनसँग गाँसिएको छ । आन्दोलनका क्रममा भएको दमन र विध्वंसले नेपाली समाजमा लामो समयदेखि गुम्सिएर बसेको असन्तोष सतहमा ल्याएको थियो । निरन्तर शासन सत्तामा रहँदै आएका राजनीतिक नेतृत्वलाई देशको दुर्दशाका लागि जिम्मेवार ठान्दै युवाहरू आक्रोशित बनेका थिए । त्यो आक्रोश सडकमै विस्फोट भएको थियो । देउवा र उनका समर्थकहरूले त्यो विद्रोहको सामाजिक–राजनीतिक यथार्थ स्वीकार गर्न तयार नभएपछि स्थिति झन् टकरावपूर्ण बन्यो । जेन–जी विद्रोहअघि नै समयको पदचाप सुन्ने प्रयास गरिरहेका गगन थापा, विश्वप्रकाश शर्मालगायतका कांग्रेस नेताहरूले विद्रोहबाहेक अर्को विकल्प देखेनन् । यही कारणले विशेष महाधिवेशनलाई विभाजनको संज्ञा दिनुभन्दा पनि कांग्रेसभित्रको विद्रोहका रूपमा बुझ्नु उपयुक्त हुन्छ । नाम, कानुन वा विधानले जे भने पनि २०८२ सालको विशेष महाधिवेशन मूलतः विद्रोहकै परिणाम हो ।

अब नवनिर्वाचित सभापति गगनकुमार थापाका सामु सबैभन्दा ठूलो चुनौती यही विद्रोहको औचित्य सावित गर्नु हो । इतिहास फर्केर हेर्दा, शेरबहादुर देउवाले २०५९ सालमा नेपाली कांग्रेस विभाजन गर्दा त्यसको औचित्य स्थापित गर्न सकेका थिएनन् । देउवाले गिरिजाप्रसाद कोइरालामाथि पार्टी सञ्चालनमा एकलौटी, विधि–प्रक्रियाको अवहेलना र असहिष्णुताको आरोप लगाए पनि सत्ता र नेतृत्वमा पुगेपछि स्वयं देउवाले पनि उही प्रवृत्ति दोहोर्‍याए । त्यसैले देउवा धेरैका नजरमा ‘कोइराला–२’ का रूपमा देखिए । यस सन्दर्भमा गगनकुमार थापाका लागि सबैभन्दा ठूलो सावधानी देउवा–२ नबन्नु हो ।

पार्टीलाई खल्तीको वस्तु ठान्ने प्रवृत्ति देउवामा मात्र होइन, नेपालका नयाँ–पुराना प्रायः सबै पार्टीका नेताहरूमा व्याप्त छ । त्यससँगै आफूलाई विशेष र कार्यकर्तालाई गौण ठान्ने ओली प्रवृत्तिसमेत नेपाली राजनीतिमा गहिरो रूपमा जरा गाडेर बसेको छ । यस्तो अधिनायकवादी मानसिकताबाट आफूलाई अलग राख्नु थापाका लागि पहिलो परीक्षा हुनेछ । देउवाको कार्यकालमा पार्टी सञ्चालन विधान, लोकतान्त्रिक विधि, प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्तअनुसार नभएको आरोप व्यापक थियो । पार्टीले पाएका अवसर सीमित कृपापात्रहरूमा केन्द्रित हुँदा कार्यकर्ता उपेक्षित बने । पार्टीभित्र मालिक–मोहीजस्तो सम्बन्ध विकास भयो । यही अवस्थाबाट कांग्रेसलाई मुक्त गर्दै संस्थागत, पारदर्शी र लोकतान्त्रिक ढंगले पार्टी सञ्चालन गर्नु थापाको अर्को ठूलो चुनौती हो ।

चुनाव नजिकिएकाले तत्काल थापाको ध्यान निर्वाचनतर्फ केन्द्रित हुनु स्वाभाविक छ । तर उम्मेदवार छनोटका लागि संसदीय बोर्ड गठनदेखि चयन प्रक्रियासम्म अपनाइने विधि नै थापाको लोकतान्त्रिक प्रतिबद्धताको वास्तविक कसी बन्नेछ । यदि थापाले पार्टीलाई विधि, प्रक्रिया र आन्तरिक लोकतन्त्रका आधारमा अघि बढाउन सके भने त्यसले केवल नेपाली कांग्रेसलाई मात्र होइन, समग्र नेपाली राजनीतिक संस्कारलाई परिमार्जन गर्ने उदाहरण प्रस्तुत गर्न सक्छ । सभापतिमा निर्वाचित भएपछि थापाले व्यक्त गरेको “जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईंहरू कसैको पनि शिर निहुरिने अवस्था आउन दिनेछैन” भन्ने अभिव्यक्तिले धेरैलाई आशावादी बनाएको छ । अब त्यो आशालाई व्यवहारमा उतार्दै चुनौतीहरूको सामना गर्नु र सशक्त तथा सफल नेतृत्व दिनु थापाको वास्तविक परीक्षा हुनेछ । यदि उनी त्यसमा सफल भए भने नेपाली कांग्रेस मात्र होइन, नेपाली राजनीति नै नयाँ दिशातर्फ अग्रसर हुन सक्छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।