काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव २६ अङ्कले बढेर २ हजार ७१४ दशमलव ८१ को बिन्दुमा कायम भएको हो । यो १ दशमलव ५८ प्रतिशतको वृद्धि हो ।
आज ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता शेयर १ लाख १५ हजार १८१ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार ७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ १ दशमलव २४, विकास बैङ्क १ दशमलव ४५, वित्त शून्य दशमलव ९७, होटल तथा पर्यटन ३ दशमलव ३६, जलविद्युत् १ दशमलव ७७ र लगानी समूह २ दशमलव ५४ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा १ दशमलव ८६, उत्पादन तथा प्रशोधन १ दशमलव ३९, लघुवित्त १ दशमलव ५४, म्युचुअल फन्ड १ दशमलव ०४, निर्जीवन बीमा १ दशमलव ६५, व्यापार शून्य दशमलव ३७ र अन्य समूह १ दशमलव ४४ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा गुर्खाज फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एसबिएल डिबेञ्चर २०८९ को शेयर मूल्य ४ दशमलव २३ प्रतिशतले घटेको छ ।



































