उत्तर कोरियामा किमको कडा सन्देश : उपप्रधानमन्त्री बर्खास्त, अयोग्य अधिकारीमाथि सार्वजनिक प्रहार

सियोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले एक महत्वपूर्ण औद्योगिक कारखानाको उद्घाटन समारोहकै बीच उपप्रधानमन्त्री याङ सुङ होलाई पदबाट हटाएका छन् । राज्य सञ्चारमाध्यमका अनुसार किमले “अयोग्य, गैरजिम्मेवार र निष्क्रिय” अधिकारीहरूविरुद्ध असाधारण रूपमा सार्वजनिक र कडा आलोचना गरेका हुन् ।

राज्य सञ्चालित कोरियन केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार किमको सम्बोधनकै क्रममा याङलाई “तुरुन्तै” बर्खास्त गरिएको हो । भाषणमा किमले नेतृत्व तहका अधिकारीहरूलाई लक्षित गर्दै उनीहरूलाई “असभ्य, गैरजिम्मेवार र अयोग्य” भन्दै आक्रोश व्यक्त गरे ।

केसीएनएले उद्धृत गरेअनुसार किमले भने, “कृपया कमरेड उपप्रधानमन्त्री, ढिलो हुनु अघि आफैंले राजीनामा दिनुहोस्, यदि आफैं गर्न सक्नुहुन्छ भने ।”

परमाणु हतियार सम्पन्न उत्तर कोरिया आफ्नो हतियार कार्यक्रमका कारण विभिन्न अन्तर्राष्ट्रिय प्रतिबन्धको चपेटामा छ । देश लामो समयदेखि कमजोर राज्य–नियन्त्रित अर्थतन्त्र र दीर्घकालीन खाद्यान्न अभावसँग संघर्षरत छ ।

किमले यसअघि पनि आर्थिक नीतिको व्यवस्थापनमा कमजोरी देखाउने अधिकारीहरूलाई कडा चेतावनी दिँदै आएका छन् । तर यसरी सार्वजनिक कार्यक्रममा नै उच्च तहका अधिकारीलाई हटाउनु दुर्लभ घटनाका रूपमा हेरिएको छ ।

सोमबार उत्तरपूर्वी हामग्योङ प्रान्तमा अवस्थित औद्योगिक मेसिनरी कम्प्लेक्सको उद्घाटन निरीक्षणका क्रममा किमले लामो समयदेखि “पराजयवादी सोच, गैरजिम्मेवारी र निष्क्रियतामा अभ्यस्त” क्याडरहरूको तीव्र आलोचना गरेका थिए । केसीएनए अनुसार किमले याङलाई “गम्भीर जिम्मेवारी सुम्पन अयोग्य व्यक्ति” भनेका छन् ।

उनले उदाहरण दिँदै भने, “सरल शब्दमा भन्नुपर्दा, यो गोरुको सट्टा बोकालाई गाडी जोत्नु जस्तै गल्ती हो — क्याडर नियुक्ति प्रक्रियामा भएको आकस्मिक त्रुटि हो ।”

“आखिर गाडी तान्ने काम गोरुले गर्छ, बोकाले होइन,” किमले जोड दिए ।

किमले देशको “शताब्दीयौँदेखिको आर्थिक पिछडापन” चाँडै अन्त्य गर्दै राष्ट्रको भविष्य सुनिश्चित गर्न सक्ने आधुनिक र उन्नत अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्योङयाङले सार्वजनिक गरेका तस्बिरहरूमा किम गम्भीर मुद्रामा भाषण दिइरहेका देखिन्छन् । कार्यक्रममा सहभागी कामदारहरू हरियो पोसाक र खैरो टोपीमा उपस्थित थिए ।

अल्छी प्रशासन र कमजोर अर्थतन्त्र

गरिबीग्रस्त उत्तर कोरियाले लामो समयदेखि जनताको जीवनस्तरभन्दा सैन्य र प्रतिबन्धित परमाणु कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । अपर्याप्त पूर्वाधार, वन विनाश र दशकौँको कमजोर राज्य व्यवस्थापनका कारण देश बाढी र खडेरीजस्ता प्राकृतिक विपद्प्रति अत्यन्त संवेदनशील छ ।

नयाँ मेसिनरी कम्प्लेक्स उत्तरपूर्वी क्षेत्रदेखि दक्षिणतर्फको वोनसानसम्म फैलिएको ठूलो मेसिन उत्पादन क्षेत्रको हिस्सा हो । उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका याङ मु–जिनका अनुसार यसले देशको कुल मेसिन उत्पादनको करिब १६ प्रतिशत हिस्सा ओगट्छ ।

विश्लेषकहरूका अनुसार याङको सार्वजनिक बर्खास्ती २०१३ मा किमका काका जाङ सुङ थाएकलाई सत्ता पल्टाउने षड्यन्त्रको आरोपमा मृत्युदण्ड दिइएको घटनासँग तुलना गर्न मिल्छ ।

याङ मु–जिनले एएफपीलाई भने, “किमले पार्टी अधिकारीहरूलाई चेतावनी दिन सार्वजनिक उत्तरदायित्वलाई ‘आघात रणनीति’का रूपमा प्रयोग गरिरहेका छन् ।”

उत्तर कोरिया पाँच वर्षपछि सत्तारूढ पार्टीको पहिलो कांग्रेसको तयारीमा छ, जुन आगामी हप्ताहरूमा हुने अनुमान गरिएको छ । कांग्रेसमा आर्थिक नीति, रक्षा तथा सैन्य योजना मुख्य एजेन्डा हुने अपेक्षा गरिएको छ ।

गत महिना किमले प्योङयाङमा भएको शीर्ष नेतृत्वको बैठकमा “दुष्ट प्रवृत्ति” उखेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यद्यपि राज्य सञ्चारमाध्यमले विस्तृत विवरण नदिए पनि, पार्टीभित्र अनुशासनसम्बन्धी थुप्रै हालिया “विचलन” फेला परेको जनाएको छ, जसलाई प्रायः भ्रष्टाचारसँग जोडेर हेरिन्छ ।