स्याङ्जा । सरोकार भएका निकायका प्रतिनिधिले शिशुका लागि आमाको दूधको विकल्पमा प्रयोग गरिने वस्तुले आमा र बच्चाको स्वास्थ्यमा जोखिम बढाउने भएकाले विककल्प खोज्न नहुने बताएका छन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाद्वारा वालिङमा आयोजित कार्यक्रममा पछिल्लो समय आमाको दूधको विकल्पमा अन्य खाधवस्तुको प्रयोग गर्नेक्रम बढ्दै जादा त्यसले आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरेका हुन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले शिशुको स्वास्थ्य रक्षा गर्दै स्तनपानको महत्वलाई सम्बर्धन गर्न सरोकार भएका निकायका प्रतिनिधिले सर्वसाधारणलाई सचेत गराउनुपर्नेमा जोड दिए ।
“स्तनपानले आमा र बच्चा दुवैको स्वास्थ्यमा सकारात्मक फाइदा पुग्ने भएकाले आमाको दूध अमृतसमान मानिएको छ”, उनले भने, “स्तनपानको महत्व, विधमान ऐनमा भएका प्रावधानलगायत विषयमा जानकारी गराउदै जनचेतना जगाउनका सरोकार भएका सबै लाग्नु जरुरी छ ।”
पछिल्लो समय स्तनपान गराउने आमाको सङख्या घट्नु र बजारमा पाइने ‘फर्मुला मिल्क’को प्रयोग बढ्दो अवस्थामा रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख नेपालीले बताए । आमाको शैक्षिक तथा पारिवारिक अवस्थाले पनि स्तनपानमा फरक पार्ने गरेको उनको बुझाइ छ ।
“स्तनपानले सन्ततिको शारीरिक विकासदेखि मानसिक स्वास्थ्यमासमेत गम्भीर असर पार्नसक्छ”, प्रमुख नेपालीले भने,
“बच्चा जन्मिएको एक घण्टाभित्र र छ महिनाासम्म आमाको दूध अनिवार्य रूपमा खुवाउनस पर्छ । साथै थप पूरक आहारसँगै दुई वर्षसम्म स्तनपान गराउनु अनिवार्य हुन्छ ।”
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्रीवितरण नियन्त्रण गर्ने ऐन तथा स्तनपानसम्बन्धी सरोकार भएका निकाय, स्वास्थ्यकर्मी, औषधि पसल, फार्मेसी, स्वास्थ्य क्लिनिक तथा स्थानीय अगुवालाई यसका बारेमा जानकारी गराइएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाकी अधिकृत श्रृष्टि लम्सालले बताइन् ।
बजारमा उपलब्ध हुने शिशु आहार (फर्मुला मिल्क) को बढ्दो प्रयोग र त्यसका भ्रामक विज्ञापनलाई नियन्त्रण गर्न ऐनको प्रभावकारी कार्यान्वय गर्नुपर्नेमा जोड दिइएको थियो ।
विसं २०४९ को ऐन अनुसार आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीवितरण गर्नेलाई कानुन अनुसार दण्ड र सजाय हुने भएकाले अनुगमन अगाडि बढाइने वालिङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत कमलप्रसाद पाण्डेले बताए ।































