चितवन । भारतमा दुधको मूल्य बढेपछि यहाको किसानले बजार पाएका छन् । भारतमा दुधको मूल्य विगतको तुलनामा बढेर नेपाली दुध सरह भएपछि नेपाली किसानले दुधको मूल्य पाएका हुन् । भारतीय दुध नेपालीभन्दा सस्तो हुदा भारतबाट ठूलो मात्रामा नेपालमा दुध आउने गर्दथ्यो ।
विगतका वर्षमा यो मौसममा भारतबाट अवैैध दुध भित्रिदा यहाको उत्पादन प्रभावित हुने गर्दथ्यो । यससँगै यहाँ उत्पादन भएको दुधलाई बिक्री गर्न नसकेपछि प्रशोधन गर्न बाध्य हुनुपर्थ्यो । यस वर्ष भारतमा दुधको मूल्य बढेपछि यहाको दुध सीमा क्षेत्रबाट अवैध रुपमा भारतका बजारमा जान थालेको छ । जसका कारण नेपाली उत्पादनले बजार पाएको छ ।
केन्द्रीय दुग्ध सहकारी सघंका अध्यक्ष अम्बरबहादुर कुँवरका अनुसार भारतमा दुधको मूल्य नेपालको भन्दा ४६ पैसा मात्र बढी छ । जसका कारण भारतीय बजारबाट विगतमा अवैध रुपमा आउने गरेको दुध यस वर्ष आएको छैन । उनले भने, “ढुवानी जोड्दा नेपालीभन्दा महँगो पर्ने भएपछि भारतबाट दुध आएको छैन, यहाको लुकीछिपी सीमा क्षेत्रबाट भारत लगिएको छ ।”
यहाको सीमा क्षेत्रबाट भारतको पट्नालगायत सीमा क्षेत्रमा लुकाई–छिपाई दुध गएको सूचना आएको उनी बताउछन् । यससँगै भुक्तानी समयमा नपाउदा किसानले पशुपालनमा रुचि कम गरेका कारण उत्पादन पनि घटेको उनको भनाइ छ ।
यो मौसममा यकिन तथ्याङ्क नभए पनि दैनिक ४५ लाख हाराहारी लिटर दुध उत्पादन हुने गरेको उनले बताउछन् । गत वर्षको तुलनामा एक लाख हाराहारी लिटर दुध घटेको उनको भनाइ छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सघंका अध्यक्ष किशोर बगाले यस वर्ष भारत तर्फबाट दुध नआउदा यहा उत्पादित दूधले बजार पाएको बताउछन् । उनको भनाइमा मंसिर, पुस र माघ महिना दुधको खपत कम हुने भएकाले उत्पादनको व्यवस्थापन जटिल हुने गर्दछ । जाडो महिनामा दही, आइसक्रिम जस्ता दुग्धजन्य उत्पादन खपत नहुने उनले बताउछन् ।
उनले भने, “भारततर्फबाट दुध नआउदा हामीलाई ठीक भएको छ, यहाको बजार मिलेको छ ।” विगतका वर्षमा मिल्क होलिडे पनि गर्नु परेको भन्दै उनले अहिले बजारमा उत्पादित दुध खपत भइरहेको बताए ।
दुध बिक्री नभएपछि प्रशोधनका लागि यहाको चितवन मिल्कमा यो समयमा धेरै दुध आउने गर्दथ्यो । चितवन मिल्कका प्रबन्धक दुर्गाप्रसाद पराजुलीले विगतका वर्षमा तीन दिनसम्म कन्टेनर सडकमा लाइन बस्ने गरेको भन्दै उनले यो वर्ष त्यस्तो अवस्था नरहेको बताए । गत वर्षमा दैनिक दुई लाख लिटर दुध आउने गरेकामा यो वर्ष ७० हजार लिटर हाराहारी मात्रै आएको बताउछन् ।
असार, साउनमा यहा प्रशोधनका लागि दुध आउदैन । भदौदेखि जेठसम्म प्रशोधनका लागि दुध आउने गर्दछ । यो वर्ष भदौ, असोजमा महिनाको चार लाख लिटर हाराहारी, कात्तिकमा १० लाख हाराराहारी, मंसिरमा १५ लाख हाराहारी र पुसमा २० लाख हाराहारी दुध आएको भन्दै उनले गत वर्षको तुलनामा निकै कम भएको बताए । उनले स्मरण गरे, “गत वर्षमा नौनी र दुध पाउडर राख्ने ठाउँ नभएर उद्योग बन्द गर्नुपर्ने अवस्था हुन्थ्यो, अहिले अवस्था त्यस्तो छैन ।”
भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ । कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क अहिले सहकारी र डेरीहरूले शुल्क तिरेर प्रशोधन गर्न दुध ल्याउने गर्दछन् । चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ ।




































