स्विस अल्प्स पर्वतको उचाइमा विदेशमन्त्री मार्को रुबियोले आफ्ना ‘बोस’ ट्रम्पको पक्षमा माहोल बनाइरहेका थिए । ‘वर्ड इकोनोमिक फोरम’को मुख्य मञ्चमा बिहीबार आयोजित समारोहमा ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ सार्वजनिक गर्यो ।
बोर्ड ट्रम्पका शान्ति प्रयासहरूसँग सहमत राष्ट्रहरूको एउटा समूह हो, जसको मुख्य तत्कालीन योजना युद्धले क्षतविक्षत भएको गाजाको पुनर्निर्माण गर्नु हो । रुबियोले यस निकायलाई असफल हुँदै गरेको अन्तर्राष्ट्रिय प्रणालीको विकल्पको रूपमा प्रस्तुत गरेका छन् ।
‘अन्तर्राष्ट्रिय मामिलाहरूमा प्रायः हामी यस्ता कार्यक्रमहरूमा हुन्छौं, जहाँ मानिसहरूले लेखिएका भाषणहरू पढ्छन् र कडा शब्दमा पत्रहरू लेख्छन्, तर व्यवहारमा केही पनि हुँदैन,’ रुबियोले मञ्चमा ट्रम्पको वरिपरि जम्मा भएका १९ जना नेता तथा मन्त्रीहरूतर्फ इसारा गर्दै भने, ‘यो कार्यमा विश्वास गर्ने नेताहरूको समूह हो र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति पनि काम गरेर देखाउने राष्ट्रपति हुनुहुन्छ ।’
गाजाको पुनर्निर्माण योजनाबाहेक ‘बोर्ड अफ पिस’ले आगामी महिनाहरूमा के कस्तो लक्ष्य राख्छ वा यसले के प्रतिनिधित्व गर्छ भन्ने कुरा अझै धेरै अस्पष्ट र अनिश्चित छ । अमेरिकाका धेरैजसो महत्वपूर्ण पश्चिमी मित्र राष्ट्रहरू यसमा सहभागी हुन इच्छुक देखिएका छैनन्, जबकि ट्रम्पले रूस र बेलारुस जस्ता तानाशाही शासन भएका देशहरूलाई पनि स्पष्ट रूपमा निम्तो दिएका छन् ।
बोर्डका समर्थक र आलोचक दुवैले यसलाई वर्तमान अन्तर्राष्ट्रिय व्यवस्थाका लागि एउटा चुनौतीका रूपमा हेरेका छन् । ट्रम्प अहिले विश्व मामिलामा अमेरिकाको पूर्ण आधिपत्य हुनुपर्छ भन्ने कुरामा दृढ देखिन्छन्, चाहे त्यो भेनेजुएलाको सत्ता परिवर्तन होस् वा ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने उनको इच्छा ।
सीएनएनसँगको अन्तर्वार्तामा आयरल्याण्डकी पूर्वराष्ट्रपति तथा संयुक्त राष्ट्रसंघकी पूर्व उच्च अधिकारी मेरी रोबिन्सनले यस निकायलाई ‘साम्राज्यवादी सोच भएका एक व्यक्तिको शक्ति कब्जा गर्ने प्रयास’ भनेर टिप्पणी गरिन् ।
अर्कोतर्फ, ‘फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिज’ का कार्यकारी निर्देशक जोनाथन स्क्यान्जरले यसको समर्थन गर्दै भने, ‘संयुक्त राष्ट्रसंघका स्यालहरू अहिले त्रसित भएर हेरिरहेका छन् । यदि ट्रम्प सफल भए भने यो राष्ट्रसंघको असफलताको अर्को संकेत हुनेछ ।’
तर डाभोसमा यसप्रति मिश्रित प्रतिक्रिया थियो । मैले ‘बोर्ड अफ पिस’मा हस्ताक्षर गर्ने २ देशका नेताहरूसँग कुरा गरें । कोसोभोकी राष्ट्रपति भजोसा ओस्मानी र आर्मेनियाका राष्ट्रपति वाहग्न खाचातुरियान दुवैले यो बोर्ड संयुक्त राष्ट्र संघको चुनौती नभई पूरक भएको दाबी गरे । उनीहरूले सदस्यताका लागि ट्रम्प प्रशासनले १ बिलियन डलर मागेको भन्ने रिपोर्टहरूको पनि खण्डन गरे ।
ओस्मानीले भनिन् कि कोसोभोलाई पैसा तिर्न भनिएको छैन र उनीहरूको सहभागिता एउटा उदाहरण पेश गर्नका लागि हो । झण्डै ३ दशकअघि सर्बियाबाट अलग हुन अमेरिकाले गरेको सहयोग सम्झिँदै उनले भनिन्, ‘हामीलाई थाहा छ, मद्दतको हात चाहिने देश हुनुको अर्थ के हो । हामी सबै शरणार्थी थियौं, हामीले घर र प्रियजन गुमायौं । लोकतान्त्रिक संसार हाम्रो साथमा उभिएकै कारण हामीले शून्यबाट जीवन सुरु गर्न सक्यौं । अब हाम्रो पालो फिर्ता दिने हो ।’
आर्मेनियाका राष्ट्रपति खाचातुरियानले यसको सदस्यता लाखौं डलरको कुरा नभई आवश्यक परेकालाई सहयोग गर्ने एउटा अवसर र दृष्टिकोण भएको बताए । उनले संयुक्त राष्ट्रसंघले धेरैजसो उल्लंघनका घटनाहरू रोक्न नसकेको गुनासो गर्दै बोर्ड अफ पिसले राष्ट्रसंघ प्रणालीप्रति विश्वास जगाउन मद्दत गर्ने आशा व्यक्त गरे ।
यद्यपि धेरै प्रतिष्ठित विश्लेषकहरू यो कुरामा सहमत छैनन् । राजनीतिक दार्शनिक फ्रान्सिस फुकुयामाले डाभोसको यो तामझामपछि लेखेका छन्, ‘ट्रम्प संस्थाहरूलाई ध्वस्त पार्ने व्यक्ति हुन्, जसले तिनलाई आफ्ना व्यक्तिगत फाइदा हुने प्राथमिकताहरूसँग बदल्न चाहन्छन् । संस्था भनेको यस्तो नियम वा संरचना हो, जुन कुनै एक व्यक्तिमा निर्भर हुँदैन र निर्माणकर्ता हटेपछि पनि टिकिरहन्छ ।’
ओबामा र बाइडेन प्रशासनमा काम गरिसकेका विदेश नीति सल्लाहकार फिल गोर्डनले ‘बोर्ड अफ पिस’लाई ट्रम्पको राजनीतिक शैलीकै निरन्तरता भनेका छन् । उनले भने, ‘ट्रम्प आफूलाई एक सर्वशक्तिमान् नेताको रूपमा स्थापित गर्न चाहन्छन्, जसले सबैको सम्मान पाउनुको साथै स्रोतसाधनहरूमा आफ्नो नियन्त्रण राखोस् । ‘अमेरिका फस्ट’को नाराका कारण उनलाई एक्लो बस्न चाहने (आइसोलेटेड) सोच्नेहरूले अहिले उनी त्यस्ता होइनन् भन्ने बुझ्दैछन् ।’
विश्व राजनीतिमा ट्रम्पले ल्याएको परिवर्तन, जसलाई पुरानो शैलीको ‘प्रभाव क्षेत्र’को विस्तार वा ‘जसको शक्ति उसकै भक्ति’को राजनीतिको रूपमा हेरिएको छ, यसले उदारवादी व्यवस्थाका पक्षधरहरूलाई चिन्तित बनाएको छ ।
बेलारुसकी निर्वाचित विपक्षी नेता स्वेतलाना तिखानोव्स्कायाले चेतावनी दिँदै भनिन्, ‘नीतिमा लेनदेनको दृष्टिकोण राख्नु निकै खतरनाक हुन्छ । के हामी यो संसारमा व्यावहारिकताको तानाशाही जितोस् भन्ने चाहन्छौं ? मलाई शंका छ, किनकि त्यो पैसाको मात्र संसार हुनेछ र हाम्रो समाजले पक्कै पनि यस्तो चाहँदैन ।’
सोमालियाका उपप्रधानमन्त्री सलाह अहमद जामाले ‘ग्लोबल साउथ’ (विकासोन्मुख देशहरू) को चाहनाबारे प्रस्ट पार्दै भने, ‘हामी एक यस्तो स्थिर संसारको कल्पना गरिरहेका छौं, जहाँ बालबालिकाहरू जहाँ जन्मिए पनि उनीहरूले समान अवसर पाऊन् र उनीहरूको भविष्य खोसियोस् । हाम्रो सरकारको धेरैजसो सफलता हामी कस्तो अन्तर्राष्ट्रिय व्यवस्थामा बाँचिरहेका छौं भन्ने कुरामा निर्भर गर्दछ ।’ (द वाशिङ्टन पोस्टबाट भावानुवाद)





































