काठमाडौं । मङ्गलबार र बुधवार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा देशका धेरै स्थानमा वर्षा र हिमपात भएपछि प्रभावित भएको जनजीवन आजदेखि सामान्य बनेको छ ।
वर्षा र हिमपातले ठाउँठाउँमा यातायात आवागन तथा जनजीवन प्रभावित भएको थियो । हिमाली तथा उच्च पहाडी जिल्लाका सडकमा बाक्लो हिउँ पर्दा अवरुद्ध भएको सडक आज साँझसम्ममा हिउँ पन्छाएर आवागमन सञ्चालन गरिएको छ ।
सशस्त्र प्रहरीले आज अपराह्न मुस्ताङ जाने बाटोमा परेको हिउँसमेत पन्छाएको छ । अन्य विभिन्न क्षेत्रमा हिउँले अवरुद्ध भएको राजमार्ग खुलेको छ । सुरक्षा निकायको सक्रियतामा हिउँ पन्छाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हिजो अपराह्नदेखि मौसममा सुधार आई आज बिहानैदेखि घाम लाग्दा दैनिक जनजीवन सामान्य भएको प्रहरीको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले प्रणाली बाहिरिएर धेरै ठाउँमा घाम लागे पनि बिहान बेलुका भने चिसो कायम रहने हुँदा चिसोबाट जोगिन अनुरोध गरेका छन्। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा भने हल्का हिमपात र वर्षा हुने उनले बताए । तर मङ्गलबार र बुधबारको जस्तो अवस्था आइतबारसम्मलाई नरहेको उनले बताए ।
पछिल्लो प्रणाली विकास हुँदा काठमाडौं उपत्यकासहित पश्चिम कोशी र मधेस प्रदेशबाहेकमा वर्षा र हिमपात भएको थियो । यसपाली सबैभन्दा बढी वर्षा सुर्खेतमा ४३ मिलिमिटरसम्म भएको थियो । आज साँझको मौसम बुलेटिनअनुसार अहिले जुम्लामा माइनस ४.५ डिग्री, जोमसोममा शून्य डिग्री, दोलखाको जिरीमा माइनस शून्य दशमलव ८ डिग्री न्यूनतम तापक्रम रहेको छ ।
काठमाडौंमा ४.८, ताप्लेजुङमा ५.९, दिपायलमा ५.५ डिग्री न्यूनतम तापक्रम रहेको छ ।




































