वासिङ्टन । कंग्रेसले सरकारी ‘शटडाउन’ अन्त्य गर्न मंगलबार खर्च विधेयकमाथि मतदान गर्ने तयारी गरेको छ । यो निर्णय तल्लो सदन (हाउस) को एक समितिले सोमबार राति उक्त विधेयक अगाडि बढाउने पक्षमा मतदान गरेपछि आएको हो ।
संघीय आप्रवासन अधिकारीहरूले मिनियापोलिसमा दुई जना अमेरिकी नागरिकको हत्या गरेपछि डेमोर्क्याटहरू आक्रोशित बनेका थिए, जसका कारण खर्चसम्बन्धी वार्ता बिग्रियो र गृह सुरक्षा विभाग (डीएचएस) का लागि नयाँ बजेटको विषयमा सहमति हुन सकेन । यही कारण सरकारले ‘शटडाउन’ भोग्नुपरेको हो ।
गत शुक्रबार, सिनेटले सेप्टेम्बरसम्म अधिकांश संघीय निकायलाई सञ्चालनमा राख्ने पाँचवटा बाँकी बजेट विधेयकहरू पारित गर्यो । साथै, आप्रवासन कार्यान्वयन नीतिबारे सांसदहरूले छलफल गर्न समय पाउने गरी डीएचएसलाई दुई हप्ता सञ्चालन गर्न दिने अस्थायी बजेट व्यवस्था पनि स्वीकृत गरिएको थियो ।
‘शटडाउन’ हुँदा अत्यावश्यक नभएका संघीय सेवाहरूका लागि बजेट रोक्का हुन्छ, जसका कारण केही निकायले सेवा बन्द गर्नुपर्छ, केही कर्मचारीलाई बेतलबी बिदामा पठाइन्छ वा तलब नपाई काम गर्न बाध्य पारिन्छ ।
सोमबार साँझ, हाउस रुल्स कमिटीले सिनेटले पारित गरेको प्याकेजलाई पूर्ण हाउसमा मतदानका लागि अगाडि बढाउने पक्षमा मतदान गर्यो, जसमा मंगलबार मतदान हुने अपेक्षा गरिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकनहरूलाई छिटोभन्दा छिटो यो खर्च विधेयक पारित गर्न दबाब दिइरहेका छन्, यद्यपि केहीले आप्रवासन अधिकारीसम्बन्धी सीमित सुधारको ढोका खोल्ने यस सम्झौताप्रति असन्तुष्टि जनाएका छन् ।
सोमबार ट्रुथ सोसलमा लेख्दै ट्रम्पले ‘यस समयमा कुनै पनि परिवर्तन हुनु हुँदैन’ भन्दै विधेयक तुरुन्त पारित गर्न आग्रह गरे ।
उनले भने, ‘उठाइएका विषयहरू समाधान गर्न हामी सद्भावका साथ सँगै काम गर्नेछौँ, तर हामीले फेरि अर्को लामो, निरर्थक र विनाशकारी शटडाउन भोग्नु हुँदैन, जसले हाम्रो देशलाई निकै नराम्रो असर पुर्याउँछ ।’ उनले गत गर्मीयामको ४३ दिन लामो रेकर्ड शटडाउनको सन्दर्भ दिँदै यस्तो बताएका हुन् ।
हाउसका डेमोर्क्याटहरूले खर्च विधेयकमा मतदान गर्नु अघि डीएचएसले आप्रवासन छापामार कारबाही (इमिग्रेशन स्वीप) गर्ने तरिकामा परिवर्तन गर्नुपर्ने माग गरेका छन् । उनीहरूको आरोप अनुसार, भारी हतियार बोकेका, मुख छोपेका र परिचय नखुलाएका अधिकारीहरूले कहिलेकाहीँ वारेन्टबिना मानिसहरूलाई नियन्त्रणमा लिने गरेका छन् ।
गत महिना मिनियापोलिसमा मुख छोपेका आप्रवासन अधिकारीहरूले तीन सन्तानकी आमा रेनी गुड र पूर्वसैनिकसँग काम गर्ने नर्स एलेक्स प्रेट्टीलाई गोली हानी हत्या गरेपछि देशभर आक्रोश फैलिएको थियो । डेमोर्क्याटहरूको दबाबपछि केही रियायतहरू पहिले नै दिइसकिएको छ ।
सोमबार, डीएचएस सचिव क्रिस्टी नोएमले त्यहाँ कार्यरत संघीय अधिकारीहरूले तत्काल लागू हुने गरी बडी क्यामेरा लगाउने र यो व्यवस्था पछि देशव्यापी रूपमा विस्तार गरिने बताइन् ।
दुवै दलले यी वार्ताहरू राजनीतिक रूपमा निकै संवेदनशील हुने स्वीकार गरेका छन्, किनकि डेमोर्क्याटहरूले आप्रवासन कार्यान्वयनमा नयाँ कडाइ (गार्डरेल) मागिरहेका छन् भने कन्जरभेटिभहरू आफ्ना नीतिगत प्राथमिकता अघि सारिरहेका छन् । रिपब्लिकनको नियन्त्रणमा रहेको हाउसका सभामुख माइक जोनसनले सहमति चाँडै हुनेमा आशावादी देखिएका छन् ।
‘म विश्वस्त छु, हामी मंगलबारसम्म सबै कुरा टुंग्याउनेछौँ,’ उनले फक्स न्युज सन्डेमा भने ।
तर हाउसमा उनको बहुमत अत्यन्तै सानो भएकाले रिपब्लिकन पक्षबाट एकभन्दा बढी मत गुमाउन सक्ने अवस्था छैन । सोमबार टेक्सासमा भएको विशेष निर्वाचन जितेका एक डेमोर्क्याट सांसदको आगमनले उनको बहुमत अझै घटेको छ ।
यदि केही रिपब्लिकन सांसदहरूले साथ नदिए भने, जोनसनलाई खर्च विधेयक अगाडि बढाउन र शटडाउन अन्त्य गर्न डेमोर्क्याटहरूको मतमा भर पर्नुपर्ने हुन सक्छ ।
यदि हाउसले सिनेटको सम्झौता पारित गर्यो भने, त्यसपछि सांसदहरूसँग डीएचएसका लागि पूरै वर्षको बजेटमा सहमति जुटाउन केवल दुई हप्ता मात्र समय रहनेछ ।




































