हिमाली जिल्लामा दोस्रो चरणमा मतदान !

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिएमा हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराउने सरकारको तयारी रहेको स्पष्ट पारेकी छन् । निर्वाचन सार्ने वा रोक्ने विषय अहिलेसम्म सरकारको एजेन्डामा नरहेको उल्लेख गर्दै उनले तोकिएको मितिमै निर्वाचन सम्पन्न गराउन सरकार दृढ रहेको बताइन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित कावासोती नगरपालिका–१ हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले यस्तो धारणा व्यक्त गरेकी हुन् । “निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण सहयोग गर्छ । विशेष गरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौँ,” प्रधानमन्त्री कार्कीले भनिन् ।

प्रधानमन्त्री कार्कीले भौगोलिक विकटता र मौसमका कारण हिमाली जिल्लामा मतदान गराउन चुनौती हुने स्वीकार गर्दै त्यस्ता चुनौती समाधान गरेरै निर्वाचन सम्पन्न गराइने बताइन् । कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उनको भनाइ छ । “कम जनसंख्या भएका ठाउँमा आवश्यक परे सवारीसाधन प्रयोग गरेर मतदाता ओसारेर भए पनि निर्वाचन गराइन्छ । तर, बिल्कुलै हुन नसक्ने अवस्था आयो भने मात्रै दोस्रो चरणको विकल्पतर्फ सोच्न सकिन्छ,” उनले भनिन् । प्रधानमन्त्री कार्कीले हालसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषय प्रवेश नै नगरेको दाबी गर्दै सबै राजनीतिक दल, उम्मेदवार र आम नागरिकलाई ढुक्कका साथ आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीमा जुट्न आग्रह गरिन् । “अहिलेसम्म निर्वाचन सार्ने कुनै योजना छैन । सबैले ढुक्क भएर फागुन २१ गतेको निर्वाचनमा सहभागी हुनुपर्छ,” उनले भनिन् ।

समयमै निर्वाचन सम्पन्न भए देशले नयाँ गति लिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले नवनिर्वाचित जनप्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देशलाई नयाँ दिशातर्फ अगाडि बढाउने बताइन् । लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रतिनिधिको भूमिकाले राजनीतिक स्थायित्व र विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार शतप्रतिशत प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन् । “शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन हामीले शतप्रतिशत प्रयास गरेका छौँ । निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ,” उनले भनिन् ।

विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनमा केही चुनौती आउन सक्ने भए पनि ती सबै चुनौती समाधान गरेरै निर्वाचन गराउने सरकारको तयारी रहेको प्रधानमन्त्री कार्कीले बताइन् । सुरक्षा व्यवस्था, प्रशासनिक समन्वय र आवश्यक स्रोत–साधनको व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ ।

तालिम समापन कार्यक्रममा प्रधानमन्त्री कार्कीले राष्ट्रिय सेवा दलले युवालाई अनुशासित, जिम्मेवार र राष्ट्रप्रति समर्पित बनाउने काम गरिरहेको उल्लेख गर्दै यसले राष्ट्रिय एकता र आपतकालीन अवस्थामा राज्यलाई ठूलो सहयोग पुग्ने बताइन् । सरकार निर्वाचनलाई सफल बनाउन सबै निकायबीच समन्वय गरेर अघि बढिरहेको जनाउँदै प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिइन् ।

 प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।