काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले संविधान जारी भएयता संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् ।
राष्ट्रियसभाको सोमबारको बैठकमा सांसद मदनकुमारी साह (गरिमा) को प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले संविधान अनुकूल र सङ्घीय प्रणालीअनुसार कानुन सुधार निरन्तर जारी रहेको सभालाई जानकारी दिए ।
उनका अनुसार संविधान जारी भएपछिका वर्षहरूमा हालसम्म १४६ वटा छुट्टाछुट्टै ऐन जारी भइसकेका छन । मौजुदा कानुनलाई संविधान र सङ्घीय शासन प्रणाली अनुकूल बनाउन विभिन्न मितिमा केही नेपाल ऐन संशोधन गर्ने ऐनहरूमार्फत व्यापक सुधार गरिएको उहाँले सभामा चर्चा गरे ।
मन्त्री सिन्हाका अनुसार केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७२ अन्तर्गत १९३ वटा ऐन संशोधन गरिएको छ भने २०७४ सालको ऐनमार्फत ३६ ऐन संशोधन र १५ ऐन खारेज गरिएको थियो ।
मौलिक हक कार्यान्वयनका लागि संविधान बमोजिम आवश्यक १६ वटा मौलिक हकसम्बन्धी ऐन २०७५ असोज २ मै जारी भइसकेको छ । ती ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली तयार भइसकेको मन्त्री सिंन्हाले जानकारी गराए । आवासको अधिकारसम्बन्धी ऐनलगायत अन्य केही ऐन कार्यान्वयनका लागि भने आवश्यक नियमावली अझै सम्बन्धित मन्त्रालयमा मस्यौदा चरणमै रहेको उनको भनाइ छ ।
विधेयकको वर्तमान अवस्थाबारे जानकारी दिने क्रममा उहाँले संसद् विघटनका कारण ३० वटा विधेयक निष्क्रिय भएको बताए । साथै विधायन ऐन, २०८१ जारी भएपछि सङ्घीय संसद्मा पेस गरिने १२१ वटा विधेयकको प्राथमिकता क्रमसहित सूची २०८२ असार ३२ गते पेस गरिएको भए पनि प्रतिनिधिसभा विघटनका कारण धेरै विधेयकको मस्यौदा कार्य अघि बढ्न नसकेको जानकारी दिए ।
विधायन ऐन, २०८१ अनुसार निर्देशिका, कार्यविधि र नियमावली दर्ताका लागि चैत २ गतेसम्मको समयसीमा तोकिएको छ । तोकिएको अवधिभित्र दर्ता नभएमा ती प्रत्यायोजित विधायन पुनर्लेखन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको मन्त्री सिंन्हाले बताए ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार सङ्घीय स्तरमा ३५५ वटा ऐन, ३२५ वटा नियमावली, ६६ वटा गठन आदेश, १३४ निर्देशिका, २५० कार्यविधि निर्माण भएको मन्त्री सिन्हाले जानकारी दिए ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































