आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इङ्ल्यान्डविरुद्ध नेपालको पहिलो खेलले नेपाली क्रिकेटको आत्मविश्वास, परिपक्वता र सम्भावनाको स्पष्ट सन्देश दिएको छ । ४ रनको साँघुरो अन्तरले पराजित भए पनि नेपाली खेलाडीले देखाएको साहस विश्व क्रिकेटमा पहिचान मजबुत बनाउने ऐतिहासिक क्षणका रूपमा दर्ज भएको छ ।
विश्व क्रिकेटमा २ पटकको च्याम्पियन इङ्ल्यान्डजस्तो शक्तिशाली टीमलाई अन्तिम बलसम्म दबाबमा राख्नु नेपालजस्तो उदीयमान टोलीका लागि सामान्य उपलब्धि होइन । नतिजा नेपालका पक्षमा नआए पनि खेलको स्तर, प्रतिस्पर्धा र कुशलताले नेपाली क्रिकेट कुन दिशामा अघि बढिरहेको छ भन्ने स्पष्ट देखाएको छ । हारका कारण अंक नपाए पनि आत्मविश्वास, अनुभव र भविष्यका लागि उज्ज्वल मार्ग देखाएको छ ।
मुम्बईको वानखडे रंगशालामा झण्डै १७ हजार दर्शकमाझ सम्पन्न खेलमा नेपाली समर्थकहरूको उपस्थिति आफैंमा उल्लेखनीय रह्यो । विदेशी भूमिमा समेत नेपाल–नेपाल भनेर रंगशाला गुञ्जनु नेपाली क्रिकेटको लोकप्रियता र जनसमर्थनको प्रमाण हो । यसले खेलाडीहरूलाई मात्र होइन, सम्पूर्ण नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याएको छ ।
पहिले ब्याटिङ गरेको इङ्ल्यान्डलाई २० ओभरमा १८४ रनमै सीमित राखेर नेपालले आक्रामक बलिङको नमूना प्रदर्शन गर्यो । सन्दीप लामिछानेको किफायती बलिङ, दीपेन्द्रसिंह ऐरीको अनुशासित स्पेल र डेब्यू खेलाडी शेर मल्लको आत्मविश्वासी सुरुवातले इङ्ल्यान्डलाई सहज रूपमा ठूलो स्कोर बनाउन दिएन । विशेषगरी पहिलो बलमै विकेट लिएर शेर मल्लले देखाएको कुशलताले नेपाली क्रिकेटमा नयाँ सम्भावना जागृत भएको छ ।
लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुआतमा दबाब झेले पनि मध्यक्रममा कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले खेलको धार परिवर्तन गरे । यी २ बिचको ८२ रनको साझेदारी नेपाली इनिङको मेरुदण्ड बन्यो । दबाबपूर्ण अवस्थामा संयमता र जिम्मेवारीका साथ खेल्नु दुवैको परिपक्वताको प्रमाण हो । ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्नु नेपाली क्रिकेट इतिहासकै महत्वपूर्ण उपलब्धि हो । रोहित पौडेलले पनि युवा कप्तानका रूपमा देखाएको धैर्य र नेतृत्व क्षमताले टोलीको भविष्य उज्यालो रहेको संकेत दिएको छ । खेल अन्तिम क्षणमा रोमाञ्चक मोडमा पुगे पनि अन्तिम ओभरमा नेपालले अपेक्षित नतिजा निकाल्न सकेन ।
दबाबमा सही निर्णय लिन नसक्नु, स्ट्राइक रोटेसनमा कमजोरी र अनुभवी फिनिशरको अभावले हार व्यहोर्नुपर्यो । यही खेलले नेपालका सुधार गर्नुपर्ने पक्षहरू पनि स्पष्ट रूपमा उजागर गर्यो । विशेषगरी अन्तिम ओभरको रणनीति, दबाब व्यवस्थापन र अनुभवको खाँचो अब गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने देखिएको छ तर सकारात्मक पक्षहरू झन् बलिया भएका छन् ।
बलिङ आक्रमणको विविधता, फिल्डिङको स्तर, युवा खेलाडीहरूको आत्मविश्वास र टीममा एकताको भावना नेपाली क्रिकेटको ठूलो शक्ति बनेका छन् । दीपेन्द्रसिंह ऐरी टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक विकेट लिने बलर बन्नु अर्को ऐतिहासिक उपलब्धि हो । सन्दीप लामिछानेको नियन्त्रणात्मक बलिङले नेपाल विश्व क्रिकेटमा प्रतिस्पर्धा गर्न सक्षम टोली भएको सन्देश दिएको छ ।
खेलले नेपाली क्रिकेटरहरू केवल सहभागिताका लागि होइन, प्रतिस्पर्धा र जीतका लागि मैदानमा उत्रिन्छन् भन्ने प्रमाण दिएको छ । हारका बाबजुद समर्थकहरूको विश्वास झन् बलियो बनेको छ । अब आवश्यकता भनेको यस्तै प्रदर्शनलाई निरन्तरता दिँदै सानातिना कमजोरी सुधार गर्नु हो । यदि नेपालले अन्तिम क्षणको दबाब सम्हाल्न सक्ने क्षमता थप विकास गर्न सक्यो भने विश्व क्रिकेटमा ठूलो सफलता टाढा नरहेको विश्वास गर्न सकिन्छ ।
इङ्ल्यान्ड विरुद्धको खेल नेपाली क्रिकेटका लागि नयाँ युगको संकेत हो । जीत हात नलागे पनि विश्व मञ्चमा देखाएको साहस र आत्मविश्वास नै नेपाली क्रिकेटको साँचो जीत हो । नयाँ प्रतियोगिताको पहिलो खेलमा अनुभवी टीमलाई टक्कर दिएर नेपाली टोलीले सकारात्मक संकेत गरेको छ ।
मिति २०८२ माघ २७ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































