जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित सहमतिमा कडा सर्तहरू अनिवार्य रूपमा समावेश हुनुपर्ने बताएका छन् । उनका अनुसार इरानले आफ्नो आणविक सामग्री पूर्ण रूपमा हटाउनुपर्ने, युरेनियम प्रशोधन प्रक्रिया रोक्नुपर्ने तथा प्रक्षेपास्त्र कार्यक्रममाथि कडा प्रतिबन्ध लगाइनुपर्ने आवश्यक छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हालै भएको भेटपछि आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री नेतन्याहूले सम्भावित सहमतिका सबै विकल्पहरू प्रयोग गर्ने विषयमा अमेरिकी नेतृत्व दृढ रहेको उल्लेख गरेका थिए । यद्यपि, उनले इरानसँग हुने कुनै पनि सहमतिप्रति आफू सशंकित रहेको स्पष्ट पारेका छन् ।
उनले इजरायल र अमेरिकाबीचको सम्बन्धलाई सहयोगबाट साझेदारीतर्फ रूपान्तरण गर्ने लक्ष्य रहेको बताउँदै स्वदेशमै आत्मनिर्भर रक्षा उद्योग विकास गर्ने योजना अघि सारेका छन् । गाजा क्षेत्रमा जारी सैन्य कारबाहीका विषयमा उनले इजरायली सेनाले करिब ५ सय किलोमिटरमध्ये १ सय ५० किलोमिटर सुरुङ संरचना ध्वस्त पारिसकेको दाबी गरे । ‘हामीले बाँकी कार्य पूरा गर्नैपर्छ,’ उनले भने, ‘हमासले हतियार उत्पादन गर्ने वा पुनः संगठित हुने संरचनाहरू प्रयोग गर्न नपाओस् भन्ने सुनिश्चित गर्नु आवश्यक छ ।’
उनले इजरायलले हाल कार्यान्वयनमा रहेको युद्धविरामलाई अवसर दिएको भए पनि आवश्यक परे हमासलाई पूर्ण रूपमा निष्क्रिय बनाउन युद्ध पुनः सुरु गर्न सक्ने संकेत गरेका थिए ।
गत १० अक्टोबर २०२५ देखि लागू भएको युद्धविरामपछि इजरायली कारबाहीमा ६ सय १ जना प्यालेस्टिनीको मृत्यु भएको र १ हजार ६ सय ७ जना घाइते भएको गाजास्थित स्वास्थ्य निकायले जनाएको छ ।



































