काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले ल्याएको प्रतिज्ञापत्रमा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ। बिहीबार कांग्रेस सभापति गगन थापाले काठमाडौँको राष्ट्रिय सभागृहमा विस्तृत प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।
कांग्रेसले चुनावी घोषणापत्रलाई प्रतिज्ञापत्र बनेको छ। यसअघि बुधबार जनकपुरधाममा आयोजित चुनावी सभामा प्रतिज्ञापत्रमा रहेको ‘भिजन–१०’ सार्वजनिक गरेको थियो। कांग्रेसको दुई सय पृष्ठको प्रतिज्ञापत्रमा दिगो भौतिक पूर्वाधारमा जोड दिइएको छ। यसमा कांग्रेसले ‘दिगो पूर्वाधार, सबल अर्थतन्त्र, सुरक्षित भविष्य, विकसित नेपाल’ नारा दिएको छ।
आर्थिक वृद्धिलाई सघाउने, नागरिकको जीवनस्तर उकास्ने र क्षेत्रीय सन्तुलन काम गरी आधुनिक र दिगो पूर्वाधार निर्माण गर्न सडक, यातायात, आवास तथा सहरी विकास, उर्जा विकासका लागि काम गर्ने प्रतिबद्धता जनाइएको छ। कांग्रेसले पूर्वाधार विकासलाई नयाँ चरणमा लैजान लक्ष्य राखेको छ। यसका लागि कांग्रेसले राष्ट्रिय प्राथमिकता र आवश्यकताका आधारमा आयोजना छनोट र स्रोत सुनिश्चित गरिने जनाएको छ। पर्याप्त अध्ययन नभएका र नागरिकको आवश्यकतामा नपरेका टुक्रे आयोजना कार्यान्वयन नगर्ने कांग्रेसको प्रतिबद्धता छ।
कांग्रेसले पूर्वाधार निर्माणमा खानेपानी, ढल, विद्युत्, दूरसञ्चार, इन्टरनेट, डीटीएच जस्ता सुविधाका लागि युटिलिटी करिडोर बनाउने प्रतिज्ञापत्रमा उल्लेख छ। विकास आयोजनाको काम तीन सिफ्टमा गर्ने पद्धतिलाई अगाडि बढाउने भएको छ। राजधानीसँग जोड्ने सबै राजमार्ग बाह्रैमास चल्ने बनाउने, काठमाडौँ–हेटौँडा सडकलाई एक वर्षभित्र स्तरोन्नति गर्ने, सबै प्रदेशका राजधानीलाई जोड्ने सडकको स्तरोन्नति गर्ने कांग्रेसको योजना छ। कांग्रेसले काठमाडौँ उपत्यकामा चल्ने नयाँ सार्वजनिक यातायातका साधन विद्युतीय बनाउने प्रतिज्ञा गरेको छ। टिकट तथा भाडामा हिस्सेदारी सहितको स्मार्ट ट्रान्जिट प्रणाली एक वर्षभित्र लागू गर्ने जनाएको छ।
काठमाडौँ जोड्न् अन्तरदेशीय र पूर्व–पश्चिम रेलमार्गको निर्माणलाई अघि बढाउने प्रतिज्ञापत्रमा उल्लेख छ। ‘काठमाडौँ–पोखरा–लुम्बिनी विद्युतीय रेलको सम्भावना अध्ययन गर्छौ,’ कांग्रेसले भनेको छ। यस्तै, कांग्रेसले प्रदेश राजधानीसँगै केही शहरलाई सुविधायुक्त आधुनिक शहरको रुपमा विकास गर्ने जनाएको छ। जसमा विर्तामोड, ईटहरी, धरान, वीरगञ्ज, भैरहवा, बुटवल, घोराही, कोहलपुर र कञ्चनपुर रहेका छन्। थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएका छन् । उनले भने, ’कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन । जोसुकै जोस्, सभापति होस् कि कुनै पदमा भएका व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भने उसलाई सार्वजनकि पदमा बस्ने अधिकार छैन ।’
उनले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताए। उनले अब कार्यालय केन्द्रित होइन कि नागरिक केन्द्रित सेवा बनाउनुपर्ने बताए । उनले कुन काम कति समयमा सकिन्छ त्यो समयभित्र नै गर्नुपर्नेमा जोड दिए । सभापति थापाले नागरिकले जति समयमा सेवा पाउनुपर्ने हो उल्लेख गरेपछि समय ढिला भए क्षतिपूर्ति पाउने व्यवस्था गराउनुपर्ने बताए ।
’सार्वजनिक सेवामा कुनै पनि कुरा एक दिनमा बनाइनेछ भन्यो भने त्यो एकै दिनमा बनाइनुपर्छ। एक घण्टामा सेवा पाइनेछ भन्दा त्यो एकै घण्टामा सेवा पाउनुपर्छ,’ उनले भने, ’यसको निम्ति प्रविधिको प्रयोग कसरी गर्ने ? अहिले भइरहेका कुन– कुन कानूनमा संशोधन गर्ने र भौतिक पूर्वाधार कसरी निर्माण गर्ने र घरमै नागरिकलाई सेवा कसरी दिन सक्ने ।’ उनले डिजिटल सार्वजनिक सेवा ७ दिन, २४ सै घण्टा र सेवामा ढिला सुस्ती भए नागरिकलाई क्षतिपूर्ति लगायतका व्यवस्था कांग्रेसले योजनाबद्ध रूपमा अगाडि सारेको बताए।
प्रक्षेपण राष्ट्रिय दनिकदेखि साभार।
































