धादिङ बस दुर्घटना : फेरि उजाडियो १९ परिवार

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिक सोमबार बिहान भएको भयावह बस दुर्घटनामा ज्यान गुमाउने सबै १९ जनाको पहिचान खुलेको छ। दुर्घटनामा ३ जना विदेशी नागरिकसहित १९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ।

धादिङ प्रहरीका सूचना अधिकारी प्रकाश दाहालका अनुसार मृत्यु हुने विदेशी नागरिकमा बेलायतका २४ वर्षीय स्टिवर्ट डोमिनिक इथान, ३४ वर्षीय चिनियाँ नागरिक जियाङ चोनुम र भारत, उत्तर प्रदेश बसहरी बहराइच घर भएका ३२ वर्षीय मनिष शुक्ला रहेका छन्। तीनै जनाको शव परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित दूतावाससँग समन्वय गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

पोखराबाट काठमाडौंका लागि छुटेको ग२ख १४२१ नम्बरको यात्रुबाहक बस गएराति करिब १ बजे अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटना लगत्तै स्थानीय बासिन्दा, प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य सुरु गरेको थियो। अँध्यारो रात, भीरालो भू–भाग र नदी किनारको कठिन अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। दुर्घटनामा ज्यान गुमाउने नेपालीहरू विभिन्न जिल्लाका रहेका छन्।

कास्की जिल्ला पोखरा महानगरपालिका–३० का अन्दाजी ४० वर्षीय विवेक बस्तोला, स्याङ्जा वालिङ–१४ घर भई हाल काठमाडौं नागार्जुन–६ बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँ व्यास नगरपालिका–४ का अन्दाजी ४० वर्षीय ओमकुमार मल्ल, धादिङ साविक सल्यानकोट–८ हाल त्रिपुरासुन्दरी गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षीय इन्जिनियर ठकुरीको घटनास्थलमै मृत्यु भएको थियो।

त्यस्तै तनहुँ शुक्लागण्डकी–७ मालेबगरकी अन्दाजी ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौं बौद्ध टुसाल बस्ने अन्दाजी ४२ वर्षीय लोबसाङ गोले, तनहुँ भीमनगर–६ का अन्दाजी ४६ वर्षीय हरिप्रसाद सिग्देल, पाल्पा तानसेन–२ का अन्दाजी ५५ वर्षीय नबिन्द्र श्रेष्ठ, तनहुँ शुक्लागण्डकी–७ का ६३ वर्षीय रुद्रप्रसाद ढकाल र शुक्लागण्डकी–२ की २० वर्षीया अर्चना पौडेलको पनि ज्यान गएको प्रहरीले जनाएको छ। यसैगरी कास्की पोखरा–१४ चाउथेकी २१ वर्षीया अञ्जली क्षेत्री, माछापुच्छ्रे–३ का २१ वर्षीय रोहित नेपाली, स्याङ्जा पुतलीबजार–६ का ४५ वर्षीय धनश्याम सुवेदी, काठमाडौं–३२ बुद्धनगरकी ३३ वर्षीया अनिशा महर्जन, मोरङ उर्लाबारी–१ स्थायी ठेगाना भएकी २७ वर्षीया हिरा चौधरी र कास्की पोखरा–१९ का २६ वर्षीय सुजित नेपालीको मृत्यु भएको पुष्टि भएको छ।

दुर्घटनामा अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। प्रहरीका अनुसार बस तीव्र गतिमा रहेको र मोड काट्ने क्रममा अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको छ। स्थानीय बासिन्दाका अनुसार उक्त स्थानमा सडक साँघुरो र मोड जोखिमपूर्ण रहेको छ। विगतमा पनि सो क्षेत्रमा साना–ठूला दुर्घटना हुने गरेको बताइन्छ।

दुर्घटनापछि केही समय पृथ्वीराजमार्ग अवरुद्ध बनेको थियो भने क्रेनको सहायताले बस निकाल्ने प्रयास गरिएको छ। घटनाले देशभर शोकको वातावरण सिर्जना गरेको छ। विभिन्न जिल्लाबाट आएका यात्रु एकैसाथ ज्यान गुमाउँदा परिवारजन शोकमा डुबेका छन्। प्रहरीले मृतकका आफन्तलाई खबर गरिसकेको र शव व्यवस्थापन प्रक्रियाअघि बढाइएको जनाएको छ। दुर्घटनाबारे विस्तृत अनुसन्धान प्रतिवेदन तयार पारिने प्रहरीले जनाएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।