नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार इस्रायल भ्रमणमा जाँदैछन् । प्रमुख व्यापार तथा रक्षा साझेदारसँग सम्बन्ध अझ गहिरो बनाउने लक्ष्यसहित हुने यो भ्रमणले मध्यपूर्व क्षेत्रमा सरकारको व्यापक कूटनीतिक हितलाई सन्तुलनमा राख्ने प्रयास गर्नेछ ।
नयाँ दिल्लीले रक्षा, कृषि, प्रविधि र साइबर सुरक्षालगायत क्षेत्रमा इस्रायलसँग सहकार्य निरन्तर विस्तार गर्दै आएको छ । भारतका ठूला व्यावसायिक समूहहरूमध्ये एक अडानी समूहले भूमध्यसागरस्थित हैफा बन्दरगाह सञ्चालन गर्दै आएको छ । साथै, २०२५ मे महिनामा पाकिस्तानसँग भएको झडपका क्रममा इस्रायली सैन्य मानवरहित विमान प्रविधिले महत्वपूर्ण भूमिका खेलेको थियो ।
त्यसैगरी, भारतले खाडी राष्ट्रहरू र तेहरानसँग पनि सुदृढ सम्बन्ध कायम राखेको छ । इरानको चाबहार बन्दरगाह विकाससमेत भारतले अघि बढाएको छ, जुन अफगानिस्तानतर्फको व्यापारिक प्रवेशद्वार मानिन्छ । त्यहाँ नयाँ दिल्लीले तालिबान प्रशासनसँग सम्बन्ध विकास गरेको छ ।
व्यापार
सेप्टेम्बर २०२३ मा नयाँ दिल्लीमा भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोरको महत्वाकांक्षी योजना सार्वजनिक गरिएको थियो । यस योजनाअन्तर्गत साउदी अरेबिया र इस्रायलमार्फत रेलमार्ग, बन्दरगाह, विद्युत्, तथ्याङ्क सञ्जाल र पाइपलाइन जडान गर्ने परिकल्पना गरिएको थियो । तर २०२३ अक्टोबर ७ मा हमासद्वारा इस्रायलमाथि गरिएको घातक आक्रमण र त्यसपछि गाजा क्षेत्रमा सुरु भएको विनाशकारी युद्धका कारण ती योजना रोकिएका थिए ।
व्यापार कूटनीतिक सम्बन्धको केन्द्रमा रहँदै आएको छ । इस्रायलको उन्नत प्रविधि क्षेत्रका उत्पादनमा पहुँच प्राप्त गर्नु भारतका लागि महत्वपूर्ण छ भने भारतले विशाल उपभोक्ता बजार प्रदान गर्दछ । मुख्य क्षेत्रहरूमा कृषि प्रविधि, खाद्य सुरक्षा, जल व्यवस्थापन, हीरा, दुग्ध, मत्स्यपालन र उत्पादन उद्योग पर्छन् ।
भारतीय तथ्याङ्कअनुसार २०२४–२५ मा द्विपक्षीय व्यापार ३ अर्ब ७५ करोड अमेरिकी डलर पुगेको थियो, यद्यपि यसमा हतियार बिक्री समावेश नभएको बुझिन्छ । इस्रायलमा हजारौँ भारतीय कामदार कार्यरत छन् । २०२३ अक्टोबर ७ को आक्रमणपछि सुरु भएको युद्धका कारण प्रवेश निषेध गरिएका प्यालेस्टिनी निर्माण श्रमिकहरूको स्थानमा उनीहरू गएका थिए ।
रक्षा
इस्रायल भारतका प्रमुख हतियार आपूर्तिकर्तामध्ये एक हो । सन् १९६२ मा चीनसँगको युद्ध तथा १९७१ र १९९९ मा पाकिस्तानसँग भएका द्वन्द्वका क्रममा दिएको सैन्य सहयोगदेखि यो सम्बन्ध सुरु भएको हो । २०२०–२४ बीच इस्रायलले भारतको कुल सैन्य सामग्री आपूर्तिको १३ प्रतिशत हिस्सा उपलब्ध गराएको थियो, जसले उसलाई रुस र फ्रान्सपछि भारतको तेस्रो ठूलो आपूर्तिकर्ता बनाएको स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानले जनाएको छ । भारत र इस्रायलले मानवरहित विमान, क्षेप्यास्त्र प्रणाली, रडार, साइबर सुरक्षा प्रविधि, नौसैनिक पोत तथा आग्नेयास्त्र उत्पादनका लागि अर्बौँ डलरका संयुक्त परियोजना सुरु गरेका छन् ।
कूटनीति
२ देशबीच पूर्ण कूटनीतिक सम्बन्ध १९९२ मा स्थापना भएको थियो । हिन्दू राष्ट्रवादी नेता मोदी २०१४ मा सत्तामा आएपछि सम्बन्ध थप गहिरिएको हो । मोदीले २०१७ मा इस्रायल भ्रमण गरेका थिए भने प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अर्को वर्ष भारत आएका थिए । दुवै दक्षिणपन्थी नेताहरूले एक–अर्कालाई ‘मित्र’ भनेर सम्बोधन गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा इस्रायल र हमासबीच दुई वर्ष लामो युद्ध अन्त्य गर्न युद्धविराम सहमति गराउन सहयोग गरेपछि स्थापना गरेको शान्ति बोर्डमा भारतलाई सदस्य बन्न निमन्त्रणा दिएका थिए । नयाँ दिल्लीले यस महिना उक्त बोर्डको उद्घाटन कार्यक्रममा प्रतिनिधि पठाएको थियो, तर आफ्नो सहभागिता पर्यवेक्षक हैसियतमा मात्र रहेको स्पष्ट पारेको छ ।
भारतले जनवरीमा अरब लिगका सदस्य राष्ट्रका विदेश मन्त्रीहरूलाई आतिथ्य प्रदान गरेको थियो, जसले गाजा युद्धको कडा आलोचना गरेका छन्। मोदीले उनीहरूलाई प्यालेस्टिनी जनताको निरन्तर समर्थन गर्ने प्रस्ताव राखेको र चलिरहेका शान्ति प्रयासको स्वागत गरेको बताएका थिए । गत वर्ष ओमानसँग गरिएको स्वतन्त्र व्यापार सम्झौताले मध्यपूर्व बजारमा व्यापक पहुँच विस्तार गर्ने भारतको प्रयास झल्काउँछ ।
प्राचीन सम्बन्ध
यहूदी र भारतबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो मानिन्छ । अरब सागर किनारको कोच्ची बन्दरगाह प्राचीन ग्रीक–रोमन व्यापार सञ्जालको महत्वपूर्ण केन्द्र थियो, जहाँ शताब्दीयौँदेखि यहूदी समुदाय बसोबास गर्दै आएका थिए । भारतको परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशबीचको सभ्यतागत सम्बन्ध २ हजार वर्षभन्दा पुरानो छ ।
कोच्चीस्थित परदेसी सभाघर सन् १५६८ मा निर्माण गरिएको थियो, जुन भारतको सबैभन्दा पुरानो यहूदी उपासना स्थल मानिन्छ । हाल भने त्यहाँ यहूदी समुदाय अत्यन्तै न्यून संख्यामा मात्र बाँकी छन् । १९४८ पछि धेरै यहूदी इस्रायल बसाइँ सरेका थिए, र नयाँ दिल्लीका अनुसार इस्रायलमा भारतीय मूलका १ लाखभन्दा बढी यहूदी बसोबास गर्दै आएका छन् ।
भारतको पूर्वोत्तर राज्य मणिपुरमा बसोबास गर्ने बने मेनाशे समुदायका हजारौँ मानिसले आफूलाई इस्रायलका हराएका जातिमध्ये एकको सन्तान भएको दाबी गर्छन् । समुदायका केही सदस्य इस्रायल बसाइँ सरेका छन् र इस्रायली सरकारले आगामी केही वर्षमा थप हजारौँलाई पुनर्वास गराउने तयारी गरिरहेको जनाएको छ ।


































