काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री तथा संघीय संसद, प्रतिनिधि सभा (हाल विघटित) सदस्य रन्जिता श्रेष्ठलगायतको भ्रष्टाचार मुद्दामा पुनरावेदन गरेको छ ।
आइतबार अख्तियारले विशेष अदालतले गरेको धरौटीमा रिहा हुने आदेशको विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । श्रेष्ठलगायत संलग्न रहेको ७८ लाख बिगो कायम गरिएको भ्रष्टाचार मुद्दामा अख्तियार सर्वोच्च गएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ज) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम घुस/रिसवत जफत हुन तथा सोही ऐनको दफा २४ बमोजिम थप सजायसमेत हुन मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
गत असोज २२ गते विशेष अदालतमा दायर गरिएको आरोपपत्र विशेष अदालतमा ०८२–सीआर–००१५ नम्बरमा दर्ता भएको थियो । सो मुद्दामा विशेष अदालत काठमाडौंबाट रञ्जिता श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटी लिई मुद्दाको पुर्पक्ष गर्ने गरी यही फागुन १० मा थुनछेक आदेश भएको थियो । अख्तियारले उक्त आदेश बेरीतको देखिएको दाबी गरेको छ । ‘सोही कारण श्रेष्ठलाई विशेष अदालत ऐन, २०५९ को दफा ७ को देहाय (ङ) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को परिच्छेद ७ अन्तर्गतको दफा ७३ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १५ बमोजिम सम्मानित सर्वोच्च अदालत समक्ष मिति २०८२/११/१७ मा निवेदनपत्र दर्ता गरिएको छ’, प्रवक्ता न्यौपानेले भने ।
गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ता र पूर्व भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो । कास्कीको मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौतीका लागि बिचौलियासँग घुस डिल गरेको अडिओ सार्वजनिक भएको थियो । मालपोत अधिकृतको सरुवा थमौतीमा ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिमा २५ लाख रुपैयाँ घुस लेनदेन भएको अख्तियारको दाबी छ । अडिओ सार्वजनिक भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका मन्त्री गुप्तालाई राजीनामा दिन भनेका थिए भने गुप्ता र श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरिएको थियो ।
गुप्ता र श्रेष्ठसँगै यो मुद्दामा कास्कीका तत्कालीन मालपोत अधिकृत रामचन्द्र अधिकारी, कास्कीको हेम्जाका सुजनकुमार तामाङ, स्याङ्जाका यामकुमारी गुरुङ, रोल्पाका तुल्सीराम बुढा मगर र कास्कीका खेमबहादुर पुनलाई प्रतिवादी बनाइएको छ । श्रेष्ठ आगामी चुनावमा नेकपाको समानुपातिकतर्फ सूचीमा समेत छिन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।





































