प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले ‘इतिहासको ब्याज’ खाएर बसिरहेका शक्तिहरूलाई उज्ज्वल भविष्यको सपना र अपेक्षाले विस्थापित गरिदिएको छ ।
यससँगै नेपालका परम्परागत राजनीतिक शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको जग हल्लिएको छ । जनमतमा देखिएको आँधीले पुराना अनुहारलाई मात्र बढारेको नभई वर्षौँदेखि जरा गाडेर बसेको प्रवृत्तिविरुद्ध मत व्यक्त भएको छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हासिल गरेको दुईतिहाइउन्मुख सफलता कुनै संयोग जस्तो देखिए पनि दशकौँदेखि भ्रष्टाचार, कुशासन, नातावाद र अल्मलिएको विकास प्रक्रियाबाट वाक्क भएका नेपाली जनताको सामूहिक विद्रोह हो ।
काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह ‘बालेन’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्नु र गगन थापा जस्ता स्थापित युवा नेताहरू समेत पराजित हुनुले जनताले अब आश्वासन नभई अवस्था परिवर्तन खोजेको सन्देश दिएको छ ।
जनताको मनोवृत्ति अब भावनात्मक सम्बन्ध वा राजनीतिक विरासतमा मात्र सीमित रहेन । मतदाताहरूले यसपटक कार्यसम्पादनलाई मुख्य आधार बनाएका छन् । पुराना दलहरूले लोकतन्त्र ल्याउन गरेको त्यागको सम्मान त जनतामा थियो, तर लोकतन्त्र आएपछि जनताको जीवनस्तरमा अपेक्षाकृत परिवर्तन नआउँदा आक्रोश व्यक्त भएको छ । पुरानाप्रतिको आक्रोश नै आज रास्वपाका उम्मेदवारहरूको पक्षमा सुनौलो अवसर बनेको छ ।
पुराना दलहरूले अतिराजनीतीकरण गर्दा सरकारी संयन्त्रहरूमा दलीय हस्तक्षेप र सेवा प्रवाहमा देखिएको ढिलासुस्तीले आमनागरिकलाई बिच्काएको थियो । नेपालको ठूलो हिस्सा ओगटेका युवा मतदाताहरू पुराना नेताहरूको ढर्रा र पुराना भाषण सुन्न तयार भएनन् । रास्वपाले एउटा आशलाग्दो विकल्प प्रस्तुत गर्दा जनताले सहर्ष स्वीकार गरेका छन् ।
निर्वाचनमा ५० हजारभन्दा बढी मतान्तरले बालेन शाह, रवि लामिछाने, सोबिता गौतम, डा. लेखनाथ थापा लगायतका उम्मेदवारहरू विजयी हुनु जनताले नयाँ नेतृत्वलाई झिनो मतले मात्रै नभई ‘पूर्ण अधिकार’सहित सत्ताको बागडोर सुम्पिन चाहेका छन् ।
रास्वपाको चुनावी विजय विजयोत्सव मनाउनका लागि मात्र नभई काँडाघारीमा हिँड्ने सुरुआत हो । जनताले दिएको विशाल मतभारमा ठूलो अपेक्षा लुकेको छ । यदि रास्वपाले पनि पुराना दलकै बाटो पछ्यायो वा आन्तरिक सत्ता संघर्षमा अल्झियो भने यसपालिको जनलहर अर्को निर्वाचनसम्म निराशामा बदलिने निश्चित छ ।
नयाँ नेतृत्वका अगाडि अब पहाडजत्रा चुनौतीहरू छन् । थला परेको अर्थतन्त्रलाई गति दिनु, वैदेशिक रोजगारीमा जान बाध्य युवाहरूलाई स्वदेशमै रोक्नु र न्यायालयदेखि प्रशासनिक निकायसम्म फैलिएको भ्रष्टाचारको जालो तोड्नु बालेन शाह नेतृत्वको सम्भावित सरकारको प्रमुख दायित्व हुनेछ ।
नेपालको निर्वाचन परिणामले विश्वभरका लोकतान्त्रिक मुलुकहरूलाई एउटा पाठ सिकाएको छ, जनता सधैँ मौन रहँदैनन्, जब जनता बोल्छन्, ठूला–ठूला किल्लाहरू ढल्छन् । अहिलेको जनमतले खोजेको नेतृत्व कार्यउन्मुख हो । रास्वपाका लागि यसपालिको अवसर देशको भविष्य कोर्ने ऐतिहासिक मौका हो भने पुराना दलहरूका लागि अस्तित्व रक्षाका लागि गम्भीर आत्मसमीक्षा गर्ने घडी हो ।
अबको संसद् र सरकारले जनताको विश्वासलाई कत्तिको सम्मान गर्छ ? त्यो त समयले बताउला । तर नेपाली जनताले परिवर्तनको बीउ रोपेर नयाँ नेतृत्वलाई सत्ताको मूल ढोका खोलिदिएका छन् । जनमतको कदर हुने गरी अबको राजनीतिको कार्यशैली अभिव्यक्त हुनुपर्छ ।
प्रक्षेपण राष्ट्रिय दनिकबाट साभार ।




































