(राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुविधाजनक बहुमत प्राप्त गर्दैछ । यस्तो अवस्थामा रास्वपाले निर्वाचनअघि सार्वजनिक गरेको ‘वाचापत्र’ पाठकहरूको सहजताका लागि शृंखलावद्ध रूपमा क्रमशः प्रकाशित गरिएको छ । वाचापत्रका कूल १०० बुँदामध्ये गत अंकमा १ देखि ३९ बुँदासम्म प्रकाशित गरिएकोमा आजको अंकमा ४० देखि १०० बुँदासम्म प्रकाशित गरिएको छ ।)
४०. विश्वव्यापी श्रम बजारमा आएको परिवर्तनलाई आत्मसात गर्दै नेपालमै बसेर विदेशी कम्पनी, निकाय वा रोजगारदाताका लागि काम गर्न पाउने व्यवस्था सुनिश्चित गर्न स्पष्ट कानुनी र नीतिगत प्रबन्ध गर्नेछौं । श्रम ऐन तथा सम्बन्धित कानूनमा संशोधन गरी रिमोट वर्क, डिजिटल रोजगारी तथा सीमा–पार सेवा निर्यातलाई वैधानिक मान्यता प्रदान गर्नेछौं । विदेशी कम्पनीसँग आबद्ध भई नेपालमै बसेर काम गर्ने श्रमिकहरूको पारिश्रमिक भुक्तानी, कर व्यवस्थापन तथा विदेशी मुद्रा आर्जनलाई सहज, पारदर्शी र नियमसम्मत बनाउन बैकिङ तथा विदेशी विनिमय नीतिमा आवश्यक सुधार गर्नेछौं । रिमोट वर्क र डिजिटल घुमन्ते (’डिजिटल नोम्याड’) लाई आकर्षित गर्न उपयुक्त भिसा, बसोबास तथा सहकार्य केन्द्र सम्बन्धी नीतिगत व्यवस्था गर्नेछौं ।
४१. अनिश्चितताको घेराभित्र रहेको कृषि क्षेत्रलाई नीतिगत स्थायित्व, स्थिर बजार, पारदर्शी अनुदान, विश्वसनीय बीमा प्रणाली, पर्याप्त सिंचाइ तथा प्रविधिमा आधारित उत्पादन प्रणालीमार्फत ‘नेपालमा कृषि गरेर धनी हुन सकिन्छ’ भन्ने विश्वाससहित सम्मानजनक पेशाका रूपमा पुनः स्थापना गर्दै समग्र अर्थतन्त्रको बलियो आधार तयार गर्नेछौं । कृषिलाई उत्पादन र व्यापार सन्तुलनको विषयमा मात्र सीमित नराखी, खाद्य सुरक्षा र पौष्टिक सुरक्षा जस्ता राष्ट्रिय लक्ष्यहरूसँग जोडेर मुख्य प्राथमिक क्षेत्रका रूपमा अघि बढाउँदै कृषिमा उत्पादकत्व वृद्धि र कृषकको बृहत्तर हित सुनिश्चित गर्न आवश्यक नीति तथा कार्यक्रम, निजी क्षेत्रमैत्री लगानी नीति, आवश्यक पूर्वाधार निर्माण गर्नुका साथै पर्याप्त स्रोत विनियोजन गर्नेछौं ।
४२. कृषि क्षेत्रमा आयात प्रतिस्थापनलाई टेवा पुग्ने गरी व्यापार सम्झौताहरू गर्नेछौं । नेपालमै उत्पादन सम्भव भएका कृषि उपजको उत्पादन वृद्धि र आत्मनिर्भरता सुनिश्चित गर्न आवश्यक सुधारहरू तत्काल गर्नेछौं । साथै कृषि उपजको प्रशोधन तथा मूल्य अभिवृद्धि हुने उद्योगलाई विशेष प्राथमिकता दिँदै कर छुट, भन्सार सहुलियत तथा लगानी प्रोत्साहनका प्रभावकारी उपायहरू लागू गर्नेछौं । प्रविधिको प्रयोगबाट कृषि उत्पादकत्व बढाउन ‘फिनटेक’ र ‘एग्रिटेक’लाई विस्तार गर्नेछौं ।
४३. नेपालमा जग्गाको उपलब्धता र कृषि सम्भावनाको उच्चतम उपयोग सुनिश्चित गर्न भू–उपयोग योजनाको पुनरावलोकन गर्नेछौं । बाँझो कृषि जमिनको उपयोग, जग्गा चक्लाबन्दी तथा जग्गा एकीकरण प्रवद्र्धन गर्न आवश्यक नीतिगत व्यवस्था तथा प्रोत्साहनमूलक कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौं । सिँचाइ, रासायनिक मलखाद तथा कृषि यान्त्रीकरणमा प्राथमिकताका साथ लगानी वृद्धि गर्दै कृषि उत्पादनमा उल्लेखनीय वृद्धि तथा उत्पादन लागत न्यूनीकरण गर्नेछौं । कृषि उत्पादन वृद्धि, लागत न्यूनीकरण, जलवायु अनुकूलन तथा मूल्य शृङ्खला विकासमा प्रभावकारी योगदान पुर्याई समग्र उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यसहित कृषि अनुसन्धान परिषद्को पुनर्संरचना गर्नेछौं ।
४४. आगामी दशकमा ३०,००० मेगावाट विद्युत जडित क्षमता हासिल गर्ने लक्ष्य लिएका छौं । ऊर्जा विकासलाई तीव्रता दिन भूमि, वन तथा वातावरणसम्बन्धी विद्यमान कानूनहरूलाई परिमार्जन गर्दै ऊर्जा मन्त्रालयबाट नै सम्पूर्ण प्रक्रियाको समन्वय हुने गरी कानून संशोधन गर्नेछौं । हाल ८ मन्त्रालय र २३ विभाग धाउनुपर्ने जटिल व्यवस्थाको अन्त्य गर्दै एकल द्वार सेवाको अवधारणा कार्यान्वयन गर्नेछौं । जलविद्युत् आयोजनाहरूको समयावधिभित्र शान्ति–सुरक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था गर्नेछौं ।
४५. ऊर्जा विकास दशकको लक्ष्य प्राप्तिका लागि नयाँ ऊर्जा तथा जलस्रोत नीति तयार गर्नेछौं । ऊर्जा उत्पादनसँगै ब्याट्री, पम्प स्टोरेज वा अन्य प्रविधिमा आधारित भण्डारण, साथै प्रसारण तथा वितरण प्रणालीमा पनि निजी क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने निजी–क्षेत्र मैत्री कानुनी व्यवस्था गर्नेछौं । ऊर्जा व्यापारमा समेत निजी क्षेत्रको संलग्नता खुला गर्ने कानुनी प्रबन्ध मिलाउनेछौं । विद्यमान ३५ वर्षे उत्पादन अनुमतिपत्रको व्यवस्थामा एकरूपता कायम गरी ५० वर्ष पुर्याउनेछौं । वायु ऊर्जा, रुफटप सौर्य प्रणाली अनि उर्वर खेत बाहेकका ठूला सौर्य फार्मबाट उत्पादित बिजुलीलाई नेट–मिटरिङ मार्फत ग्रिडमा बिक्री गर्न मिल्ने कानून ल्याउनेछौं । पारिलो घाम लाग्ने पहाडी क्षेत्रका बाँझा गराहरूमा सौर्य फार्म स्थापना गर्न प्रोत्साहन दिनेछौं ।
४६. आन्तरिक विद्युत् खपत वृद्धि गर्न स्थापनार्थ आवश्यक जग्गा उपलब्ध गराउने तथा उद्योगसम्म प्रसारण लाइन विस्तार गर्ने व्यवस्था सरकारले नै गर्नेछ । ऊर्जा–आधारित ठूला उद्योगहरू जस्तै स्टील, सिमेन्ट, जडीबुटी प्रशोधन, डाटा सर्भर स्टेसन तथा रासायनिक मल उद्योगलाई आकर्षित गर्नेछौं । घरेलु विद्युत् खपत वृद्धि गर्न वितरण प्रणालीमा व्यापक सुधार गर्दै बिजुलीको महसुल पुनर्संरचना गरि घरायासी खपत देखिने गरी वृद्धि गराउन गार्हस्थ्य विद्युत् दर निर्धारण गर्नेछौं । ऊर्जा खपत वृद्धि गर्न सुदृढ र प्रभावकारी रणनीति कार्यान्वयन गर्दै सन् २०३५ सम्म प्रतिव्यक्ति वार्षिक बिजुलीको खपत १५०० किलोवाट आवर पुर्याउनेछौं ।
४७. ऊर्जा निर्यात प्रवद्र्धन गर्न छिमेकी मुलुक भारत र बङ्गलादेशसँग ऊर्जा कूटनीति अवलम्बन गरि द्विपक्षीय तथा क्षेत्रीय सहकार्य सुदृढ गर्दै अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गर्नेछौं । सीमा–पार प्रसारण पूर्वाधार विस्तार, ऊर्जा बजार पहुँच र स्थिर खरिद–बिक्री संरचनामार्फत नेपाललाई विश्वसनीय ऊर्जा आपूर्तिकर्ताका रूपमा स्थापित गर्नेछौं ।
४८. नेपाल भित्रिने पर्यटक संख्या र उनीहरूको प्रतिव्यक्ति खर्चलाई ५ वर्षभित्र दोब्बर पार्दै औसत बसाइ लम्ब्याउन आवश्यक नीतिहरू कार्यान्वयन गर्नेछौं । ट्रेकिङ–केन्द्रित पर्यटनलाई विविधीकरण गर्न प्रकृति, संस्कृति, समुदाय जोड्दै नयाँ ‘इकोसिस्टम’ स्थापनामा ध्यान दिनेछौं । कर्णाली र सुदूरपश्चिमलाई विशेष ध्यान दिई नयाँ पर्यटकीय गन्तव्यहरू स्थापित गर्नेछौं । सडकले विगतका पदमार्ग ध्वस्त पारेका ठाउँमा वैकल्पिक पदमार्ग बनाउन बजेट छुट्याउने छौं ।
४९. एकद्वार डिजिटल पर्यटन प्रणालीमार्फत अध्यागमन, ट्रेकिङ, राष्ट्रिय निकुञ्ज, पर्यटन विभाग, सम्पदा स्थलका फरक–फरक अनुमति प्रणाली, टिकट र शुल्कलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गरी पर्यटकको समय, खर्च र झन्झट घटाउनेछौं । पर्वतीय पर्यटनमा व्यापक सुधार र सुरक्षाको प्रत्याभूति दिनेछौं । हिमाललाई ६,००० मिटरदेखि ८,००० मिटरसम्म ३ श्रेणीमा विभाजित गरी ८,००० मिटरमाथिको आरोही बन्न तलको अनुभव लिएको हुनुपर्नेछ । सहज ड्रोन प्रयोग लगायत आधुनिक प्रविधिबाट सुरक्षा, खोज तथा उद्धार प्रणाली सुदृढ बनाउनेछौं । नेपालको भौगोलिक लाभ उपयोग गर्दै भारत–नेपाल सीमाबाट १.५ घण्टाको दूरीमा रहेका पहाडी क्षेत्रमा ‘हिल स्टेशन विकास नीति’ कार्यान्वयन गर्नेछौं ।
५०. पशुपतिनाथ र लुम्बिनीका अलावा काठमाडौं उपत्यकाको संस्कृति तथा वास्तुकला, देवघाटदेखि मुक्तिनाथसम्मको हिन्दू–बौद्ध महिमा र राम–जानकी विवाहको ऐतिहासिक भूमि जनकपुरलाई धार्मिक–सांस्कृतिक पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्न विशेष पूर्वाधार निर्माण गर्नेछौं । यी लगायत अन्तर्राष्ट्रिय ब्रान्डिङ नपुगेका सुदूरपश्चिम, कर्णाली, मधेश र कोशीका प्रसिद्ध स्थान र सम्पदाहरूको प्रवद्र्धनमा जोड दिनेछौं । नेपाल पर्यटन बोर्ड पुनर्गठित हुनेछ जसले नयाँ र सिर्जनात्मक मार्केटिङ, अनुभव सङ्कलन र प्रसारण, स्थानीय समुदायका आर्थिक लाभ र पर्यटनलाई ‘कथा’मार्फत बजारीकरण गर्नेछौं ।
५१. नेपाललाई विश्वकै प्रमुख पर्वतारोहण प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न ‘माउन्टेन स्कुल’को नीतिगत ढाँचा तयार गरी उच्च हिमाली उद्धार र चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय एकेडेमी सञ्चालन गर्नेछौं ।
५२. नेपाल नागरिक उड्डयन प्राधिकरणमा नियामकीय र सेवा प्रवाह गर्ने निकाय अलग बनाउँदै, अन्तर्राष्ट्रिय विज्ञ टोलीमार्फत ‘हवाई सुरक्षा अडिट’ गराएर नेपाललाई कालोसूचीबाट हटाउन पहल गर्नेछौं । कुशासनका कारण खस्केको नेपाल वायुसेवा निगमलाई राजनीतिक भागबन्डा र हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गरी यसको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी खुला प्रतिस्पर्धाबाट छानिएको व्यावसायिक टोलीलाई सुम्पिने, वित्तीय अवस्था सुधार्न सरकारको ५१ प्रतिशत स्वामित्व हुने गरी निजी क्षेत्रको सहभागिता भित्र्याउने र अन्ततः धितोपत्र बजारमा सूचीकृत गर्ने रणनीति अवलम्बन गर्नेछौं । साथै नेपाल वायुसेवालाई छिटो, पारदर्शी र भ्रष्टाचाररहित प्रक्रियाबाट जहाज लिजमा लिई बजारले धान्ने सम्म उडान सङ्ख्या बढाउन लगाई थप जहाजको खरिद प्रक्रिया अगाडि बढाउनेछौं ।
५३. पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पूर्ण सञ्चालनमा ल्याउन विभिन्न शुल्कमा छुटको व्यवस्थालाई थप प्रभावकारी बनाउन, ती विमानस्थललाई अन्तर्राष्ट्रिय बजारीकरण गर्न, साथै भारतसँग प्रवेश–निर्गमन तथा आईएलएस सञ्चालनबारे कूटनीतिक पहल गर्नेछौं । त्रिभुवन विमानस्थलको क्षमता बढाउन ९ वर्ष अघि तयार पारिएको नयाँ अन्तर्राष्ट्रिय टर्मिनलको डिजाइनलाई द्रुत गतिमा परिमार्जन गरी निर्माण प्रक्रियालाई अगाडि बढाउनेछौं । नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको योजनालाई नेपालको दीर्घकालीन बजार र विश्वव्यापी उड्डयनमा परिवर्तनशील प्रवृत्तिहरूको विस्तृत अध्ययनका आधारमा निजगढ वा वैकल्पिक स्थानमा निर्माण गर्न, साथै विमानस्थललाई सडक एवं रेलमार्गमार्फत प्रमुख शहरहरूसँग जोड्न सार्वजनिक र निजी वित्तीय स्रोतको व्यवस्थापन गर्नेछौं ।
५४. लामो दूरीको बस सेवामा सिन्डिकेट र कार्टेलिङलाई पूर्णतः अन्त्य गरी नागरिकलाई स्वस्थ प्रतिस्पर्धी र सुरक्षित गुणस्तरीय सेवा दिनेछौं । ठूला शहरी क्षेत्रमा नगर बस सेवालाई चुस्त, सुरक्षित, आरामदायी र भरपर्दो बनाउन एउटै प्राधिकरणको व्यवस्थापन अन्तर्गत केन्द्रीकृत टिकट एवं शुल्क वितरण प्रणाली हुनेछ । विद्युतीय बसको उपयोग बढाउन भन्सार सहुलियत दिनेछौं । काठमाडौं उपत्यका लगायत तराईका मुख्य कोरिडोरहरूमा सार्वजनिक यातायात विकासको दीर्घकालीन गुरुयोजना बनाउनेछौं ।
५५. सडक सुरक्षालाई प्रविधिसँग जोड्दै सबै सार्वजनिक यातायात साधनको जीपीएस ट्रयाकिङ लगायत एआईमा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली र गति तथा लेन अनुशासन कडाइ गर्दै पहिलो वर्षमै दुर्घटना दरमा भारी गिरावट ल्याउने लक्ष्य राख्नेछौं । सार्वजनिक यातायातमा महिला तथा किशोरीहरूले भोग्नुपर्ने असुरक्षालाई अन्त्य गर्न चितवनको सफल अनुभव (ब्लु बस) अन्य शहरहरूमा पनि विस्तार गर्नेछौं । पैदलयात्रीलाई सडक छेउ हिँड्न र सडक काट्न सुरक्षित पूर्वाधार बनाउन विशेष पहल गर्नेछौं ।
५६. देशभरि, काठमाडौंमा सुरु गरिए जस्तै, स्थानीय परम्परागत वास्तुकलामा आधारित, सुरक्षित र आरामदायी बसबिसौनी बनाउने पहल गर्नेछौं । हरेक नगरपालिकाका वासिन्दालाई खेलकुद, व्यायाम, सांस्कृतिक कार्यक्रम लगायत विपद् व्यवस्थापनलाई पुग्दो हरियाली, खुला ठाउँ र पार्कहरू बनाउन, साथै ढल र खोलानाला तथा पोखरीको उचित व्यवस्था गर्न विशेष बजेट छुट्याउनेछौं ।
५७. विक्रम संवत् २०८७ सम्ममा नेपालका सबै प्रमुख शहरी केन्द्रहरूमा ‘राष्ट्रिय खुल्ला क्षेत्र मापदण्ड’ लागू गरी राज्यको स्वामित्वमा रहेका तर सर्वसाधारणका लागि हाल बन्द गरिएका सुरक्षा निकाय, प्रशासनिक मुख्यालय र ऐतिहासिक परिसरहरूका उदेक लाग्दा पर्खालहरू र खाली स्थानहरूलाई नागरिकमैत्री ‘ग्रिन बेल्ट’ र सार्वजनिक पार्कले क्रमिक रूपमा विस्थापित गरिनेछ । सुरक्षा संवेदनशीलता र कार्यसम्पादनमा कुनै सम्झौता नगरी, ‘सह–व्यवस्थापन’ र स्मार्ट सेक्युरिटी प्रणालीमार्फत नारायणहिटीदेखि लगनखेल र सातै प्रदेशका ठूला सरकारी हाताहरूलाई व्यवस्थित रूपमा नागरिकको व्यायाम, विश्राम र मानसिक कल्याणका लागि खुला गरेर प्रति–नागरिक न्यूनतम खुला क्षेत्रको अन्तर्राष्ट्रिय मापदण्ड सुनिश्चित गर्नेछौं ।
५८. इन्जिनीयरिङ मापदण्ड लगायत ठेक्का प्रक्रियामा व्यापक सुधार ल्याई राष्ट्रिय राजमार्ग सञ्जालको उल्लेख्य विस्तार गर्नेछौं । बाह्रै महिना द्रुत यात्रा गर्न सक्नु, अनि सबै ठाउँबाट बजार र सेवाहरूमा सजिलो पहुँच हुनु प्रतिस्पर्धी अर्थतन्त्रका पूर्वशर्त हुन् । धेरै ठाउँमा ट्रयाक खुले पनि सडक सञ्जाल गुणस्तरीय, सुरक्षित र मौसममैत्री छैन । सडक दुर्घटना घटाउन गति नियन्त्रण, बलिया सेफ्टी ब्यारियर, साथै आवतजावतका लेन छुट्याउन र सवारी साधनबाट पैदलयात्रीलाई सुरक्षित राख्न विशेष ध्यान दिनेछौं । दमक, इटहरी, लहान, हेटौंडा, भरतपुर, बुटवल, कोहलपुर, अत्तरिया जस्ता राजमार्गका छेउमा विस्तार भएका शहरहरूलाई लामो दूरीमा चल्ने बस र ट्रकको ध्वनि, प्रदूषण, ट्राफिक जाम र असुरक्षाबाट बचाउन नयाँ बाइपास सडकहरू बनाउनेछौं । बस्ती क्षेत्रमा पैदलयात्री र साइकल यात्रीलाई सडक छेउ हिँड्न र सडक काट्न चाहिने पर्याप्त सुरक्षित पूर्वाधारलाई सडकको मापदण्ड र ठेक्कामै समाहित गर्नेछौं ।
५९. नेपालको यातायात प्रणालीमा दीर्घकालीन परिवर्तन ल्याउन विस्तृत अध्ययनको आधारमा रेलमार्ग विस्तारको ५० वर्षे गुरुयोजना बनाउनेछौं । मेची–महाकाली विद्युतीय रेलमार्गलाई यात्रु र माल ढुवानीको मेरुदण्ड बनाइनेछ भने पोखरा, काठमाडौं, दाङ, सुर्खेत र तराईका प्रमुख शहरहरूसम्म शाखा मार्गहरूसहित नेपाललाई चीन र भारतका रेल सञ्जालसँग जोडिनेछन् । नेपालका प्रमुख शहरहरूमा मध्य–कालमा विद्युतीय बस र पछि लामो दूरीको रेलमार्ग सञ्जालमा जोडिन ट्रयाम, हलुका रेल आदि समेटिनेछ । मुआब्जा वितरणमा रहेका कानुनी जटिलतालाई समाधान गर्दै, आवश्यक जनशक्ति उत्पादन सहित निर्माणाधीन रेलमार्गलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउनेछौं ।
६०. खनिज, खानी उत्खनन तथा खानी उद्योग दीर्घकालीन र उच्च आर्थिक वृद्धिका प्रमुख आधार मान्दै आन्तरिक खपत र निर्यात विस्तार गर्न लगानीमैत्री खानी नीति तथा ऐन ल्याउनेछौं । खनिज तथा खानी पदार्थ नियमावली, २०५६ लाई संशोधन गरी रोयल्टी दरको पुनरावलोकन गर्दै सरकारी–निजी साझेदारीमा आधारित लगानी मोडेल विकास गर्नेछौं । निर्माणमुखी सामग्रीको उत्खनन, उत्पादन, आपूर्ति र प्रयोगको समग्र नियमन तथा प्रभावकारी अनुगमनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गर्नेछौं । यस अन्तर्गत ढुङ्गा, गिट्टी र बालुवाको उत्खननलाई आन्तरिक उपयोग मात्र नभई नियमनको परिधिभित्र रही निर्यात पनि गर्नेछौं । वातावरण विनाश, पूर्वाधारमा क्षति, कालोबजारी, भ्रष्टाचार, अनियमितता, अवैध उत्खनन तथा अव्यवस्थित क्रसर उद्योग सञ्चालन जस्ता विद्यमान समस्याको अन्त्य गर्न नयाँ कानून तर्जुमा गरी वातावरणीय, इन्जिनियरिङ, आर्थिक तथा सामाजिक पक्ष समेटिएका स्पष्ट, मापनयोग्य र कार्यान्वयनयोग्य मापदण्डहरू लागू गर्नेछौं ।
६१. विश्वविद्यालय र विद्यालयहरूलाई दलीय राजनीतिक गतिविधिको अखडा हुनबाट मुक्त गर्नेछौं । शिक्षक तथा प्राध्यापकहरूको राजनीतिक आबद्धतालाई पूर्णतः निषेध गर्नेछौं । विद्यार्थी सङ्गठनमार्फत हुने अराजकता, तोडफोड, जबरजस्ती बन्द र शैक्षिक वातावरणमा अवरोध सिर्जना गर्ने गतिविधिलाई नियन्त्रण गर्न शैक्षिक संस्थाभित्र दलगत राजनीतिक कार्यक्रम पूर्णरूपमा निषेध गर्नेछौं । विद्यार्थीहरूको विचार अभिव्यक्ति, नेतृत्व विकास र रचनात्मक सहभागितालाई प्रोत्साहन गर्न गैर–दलीय, प्राज्ञिक विद्यार्थी प्रतिनिधित्व प्रणाली विकास गर्नेछौं, जसले लोकतान्त्रिक अभ्यासलाई संरक्षण गर्दै शैक्षिक वातावरणलाई अनुशासित र मर्यादित बनाउनेछ ।
६२. सार्वजनिक शिक्षाको गुणस्तर, पहुँच र प्रतिस्पर्धात्मक क्षमतामा आमूल सुधार ल्याउन आगामी २ दशकसम्म उल्लेख्य लगानी थप्दै गुणस्तर वृद्धि गर्नेछौं ।
६३. निजी क्षेत्रद्वारा प्रदान गरिँदै आएको शिक्षालाई सार्वजनिक शिक्षाको पहुँच र गुणस्तरको परिपूरकका रूपमा स्वीकार गर्नेछौं । थप सेवामुखी, उत्तरदायी र गुणस्तर–केन्द्रित बनाउन समग्र पुनरावलोकन तथा आवश्यक नीतिगत सुधार गर्दै लानेछौं । निजी शैक्षिक संस्थाहरूको शुल्क संरचना, सेवा मापदण्ड, शिक्षक योग्यता, पूर्वाधार र शैक्षिक परिणामको आधारमा नियमन तथा अनुगमन प्रणाली सुदृढ गर्नेछौं । शिक्षालाई नाफामुखीभन्दा सेवामुखी क्षेत्रका रूपमा व्यवस्थित गर्दै समान अवसर, पारदर्शिता र सामाजिक उत्तरदायित्व सुनिश्चित गर्नेछौं ।
६४. प्रत्येक बालबालिकाको “सिक्न पाउने अधिकार”लाई अक्षुण्ण राख्दै हरेक प्रदेशमा कम्तीमा एक ‘अत्याधुनिक नमूना समावेशी विद्यालय’ स्थापना गर्दै देशभरका सबै विद्यालयलाई क्रमशः पूर्णतः पहुँचयुक्त र समावेशी बनाउनेछौं । विशेषगरी अटिज्म र न्युरोडाइभर्सिटी लगायत अपाङ्गता भएका बालबालिकाका लागि अत्यावश्यक अकुपेसनल, स्पीच र बिहेवियरल थेरापी जस्ता ‘होलिस्टिक सेवा’ एकीकृत गरी विद्यालय हाताभित्रै प्रदान गर्दै अभिभावकहरूको आर्थिक र मानसिक बोझ कम गर्नेछौं । शिक्षकहरूलाई विशेष सिकाइ आवश्यकता पहिचान र शिक्षणका लागि उच्चस्तरीय तालिम, अभिभावक सहायता कार्यक्रम, र कृत्रिम बुद्धिमत्ता युक्त ‘असिस्टिभ टेक्नोलोजी’को बृहत् प्रयोगमार्फत अपाङ्गता भएका बालबालिकाको शिक्षा र सिकाइमा अवरोधरहित र पहुँचयुक्तता सुनिश्चित गर्नेछौं ।
६५. शिक्षकलाई शिक्षाको मेरुदण्डका रूपमा स्वीकार गर्दै योग्यता, क्षमता, निरन्तर पेशागत विकास र स्पष्ट जवाफदेहितामा आधारित प्रणाली लागू गर्नेछौं । प्राज्ञिक नियुक्तिहरू तथा शिक्षक छनोट, पदोन्नति र मूल्याङ्कन प्रक्रिया पारदर्शी र मेरिट–आधारित बनाउनेछौं । साथै मौलिक सीप र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न ‘गुरु–चेला’ परम्परामा आधारित विशेष छात्रवृत्ति र तालिम कार्यक्रममार्फत सांस्कृतिक पुनर्जागरण अभियान सञ्चालन गर्नेछौं ।
६६. उच्च शिक्षालाई प्रतिस्पर्धी, अनुसन्धानमुखी तथा रोजगार–उन्मुख बनाउन विश्वविद्यालयहरूको पुनःसंरचना गर्नेछौं । विश्वविद्यालयहरूलाई प्रशासनिक रूपमा दक्ष, शैक्षिक रूपमा स्वायत्त र वित्तीय रूपमा उत्तरदायी बनाउनेछौं । कार्यक्रम दोहोरोपनाको अन्त्य, गुणस्तर सुनिश्चितता, अनुसन्धान प्रोत्साहन, उद्योग–शिक्षा सहकार्य तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप पाठ्यक्रम परिमार्जनमार्फत उच्च शिक्षालाई राष्ट्रिय विकाससँग प्रत्यक्ष रूपमा जोडिने व्यवस्था गर्नेछौं ।
६७. आज लाखौं नेपाली विद्यार्थी उच्च शिक्षाको खोजीमा विदेश गइरहेका छन् भने हजारौं नेपाली प्राध्यापक विदेशमा कार्यरत छन् । नेपालको एसियामा केन्द्रीय स्थान, आकर्षक परिवेश र हावापानी, साथै अन्य देशहरूसँगको शान्तिपूर्ण सम्बन्धले गर्दा नेपाल अन्तर्राष्ट्रिय उच्च शिक्षा हब बन्न उपयुक्त छ । हामीले विदेशी विश्वविद्यालय र नेपाली विश्वविद्यालयबिच दीर्घकालीन साझेदारी कायम गर्न, साथै नेपालमा विदेशी विश्वविद्यालयहरूका आङ्गिक क्याम्पस र विदेशी डिग्री कार्यक्रमहरू सञ्चालन गर्न सरल बनाउनेछौं । विदेशी अध्यापक र विद्यार्थीहरूका लागि भिसा उपलब्ध गराउन सजिलो प्रक्रिया र विदेशी अध्यापकहरूलाई नेपालमा स्थायी बसोबास अनुमति प्राप्त गराउन द्रुत प्रक्रिया लागू गर्नेछौं । विदेशमा कार्यरत नेपाली मूलका प्राध्यापक र अनुसन्धानकर्ताहरूलाई एकल सेमेस्टर वा स्थायी रूपमा नेपाल फर्काउने कार्यक्रम पनि थालनी गर्नेछौं ।
६८. खेलकुदलाई केवल ‘मनोरञ्जन’ र ‘भर्ती केन्द्र’बाट मुक्त गरी राष्ट्रिय एकता र आर्थिक समृद्धिको मेरुदण्डका रूपमा विकास गरिनेछ । १५ वर्षदेखि अधुरा रहेका रङ्गशालाहरूलाई समयमै सम्पन्न गर्दै सातै प्रदेशमा अत्याधुनिक र ‘पूर्णतः पहुँचयुक्त’ खेल पूर्वाधारहरू निर्माण गर्नेछौं, जहाँ ओलम्पिक र पारा–ओलम्पिक दुवैका लागि विश्वस्तरीय व्यावसायिक प्रशिक्षणको व्यवस्था हुनेछ । विद्यालयस्तरदेखि नै ‘प्रतिभा पहिचान’ कार्यक्रममार्फत ‘स्कुल स्पोर्टस्’लाई पाठ्यक्रमको अभिन्न अङ्ग बनाइनेछ र प्रत्येक स्थानीय तहमा एक बहुउद्देश्यीय खेल मैदान सुनिश्चित गरिनेछ ।
६९. खेलकुद प्रशासनमा राजनीतिक नियुक्ति पूर्णतः खारेज गरी ‘पेशागत नेतृत्व’ र पारदर्शी बजेट व्यवस्थापन लागू गरिनेछ, जहाँ लगानी ‘भ्रमण’मा होइन, खेलाडीको पोषण, प्रशिक्षण र प्रविधिमा केन्द्रित हुनेछ । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूका लागि सम्मानजनक जीवन निर्वाह गर्न ‘खेलाडी पेन्सन कोष’, स्वास्थ्य बीमा र रोजगारीको विशेष ग्यारेन्टी गरिनेछ । साहसिक खेल र अल्ट्रा–म्याराथन जस्ता नेपालका मौलिक सम्भावनाहरूलाई ‘राष्ट्रिय गौरव’का रूपमा प्रवद्र्धन गर्दै र निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्दै नेपाललाई दक्षिण एसियाकै ‘स्पोर्टस् हब’का रूपमा स्थापित गरिनेछ ।
७०. देशभरि आधारभूत स्वास्थ्य क्षेत्रमा ‘न्यूनतम मापदण्ड’ कायम गरी सेवा प्रवाह गर्न आवश्यक मानव संसाधन, पर्याप्त औषधि आपूर्ति, अत्यावश्यक उपकरण, सहज पहुँच तथा आधारभूत पूर्वाधारको सुनिश्चितता सहितको एकीकृत मोडेल तयार गरी लागू गर्नेछौं । भौगोलिक विकटता र जनसंख्या घनत्वका आधारमा सेवा विस्तारको स्पष्ट मापदण्ड तय गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकताका साथ विस्तार गर्नेछौं । साथै देशभरका स्वास्थ्यकर्मीहरूलाई जोड्न भर्चुअल शैक्षिक तथा सामाजिक सञ्जाल खडा गर्नेछौं, जसले गर्दा दुर्गम ठाउँमा खटेका स्वास्थ्यकर्मीहरूलाई एक्लो तथा पृथक महसूस हुने छैन ।
७१. स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ मोडेलमा गुणस्तरीय स्वास्थ्य सेवा तथा प्रत्येक नागरिकको पहुँच सुनिश्चित हुने गरी विस्तार गर्नेछौं । स्वास्थ्यसँग सम्बन्धित सबै सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणाली मार्फत व्यवस्थित गर्दै औषधि, उपचार तथा सेवाहरू, मानसिक स्वास्थ्य समेत स्वास्थ्य बीमा कार्यक्रमभित्र समेटिने गरी स्वास्थ्य क्षेत्रमा नेपाल सरकारको मुख्य प्राथमिकताको कार्यक्रमको रूपमा अघि बढाउनेछौं ।
७२. क्यान्सर लगायत नसर्ने रोगका सन्दर्भमा उपचारमुखीभन्दा रोकथाममुखी रणनीतिलाई मुख्य लक्ष्यका रूपमा कार्यान्वयन गर्नेछौं । विविध प्रकारका अनुदान वा नगद हस्तान्तरणलाई दीर्घकालीन समाधानको सट्टा अस्थायी राहतका रूपमा बुझ्दै, रोग लागेपछि उपचार गर्नेभन्दा जोखिमहरूको पहिचान, जनचेतना अभिवृद्धि, नियमित स्वास्थ्य परीक्षण तथा जीवनशैली सुधारतर्फ उन्मुख गर्नेछौं ।
७३. प्रत्येक प्रदेशमा कम्तीमा एक ‘अत्याधुनिक अपाङ्गता पुनर्स्थापना विशिष्टीकृत स्रोत केन्द्र’ स्थापना गरी अपाङ्गता भएका नागरिकलाई गुणस्तरीय र एकीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौं । यी केन्द्रहरूमा ‘प्रोस्थेटिक्स र अर्थोटिक्स’ सेवा, सहायक सामाग्री, फिजियोथेरापी, अकुपेसनल थेरापी, र स्पीच थेरापी जस्ता विशेषज्ञ सेवाहरू एउटै छानोमुनि उपलब्ध गराइनेछ भने कृत्रिम अङ्गहरूको निर्माण र मर्मतका लागि आधुनिक प्रयोगशालाको व्यवस्था गर्नेछौं ।
७४. विक्रम संवत् २०८७ सम्ममा रोकथाम गर्न सकिने अपाङ्गताबाट हुने व्यक्तिगत, पारिवारिक र राष्ट्रिय भारलाई न्यून बिन्दुमा झार्नेछौं । अपाङ्गता पुनःस्थापनाका लागि ‘प्रारम्भिक पहिचान र शीघ्र हस्तक्षेप’ प्रणालीलाई तल्लो तहका स्वास्थ्य संस्थासम्म विस्तार गरिनेछ । बालबालिकामा देखिने अटिज्म, सुस्त श्रवण, दृष्टिसम्बन्धी र अन्य न्युरो–डेभलपमेन्टल समस्याहरूको समयमै पहिचानका लागि स्थानीय तहका स्वास्थ्य डेस्कहरूलाई अत्याधुनिक ‘अर्ली स्क्रिनिङ’ औजार र दक्ष जनशक्तिसहित सक्रिय बनाइनेछ । जन्मनासाथ वा प्रारम्भिक बाल्यकालमै पहिचान गरी प्रभावकारी पुनःस्थापना र थेरापी सेवा सुनिश्चित गरिनेछ, जसले गर्दा अपाङ्गतालाई जटिल हुनबाट रोकी व्यक्तिलाई आत्मनिर्भर र उत्पादनशील नागरिकका रूपमा विकास गर्नेछौं ।
७५. रोगको रोकथाम, मानसिक स्वास्थ्य सुदृढीकरण र समग्र जीवनशैली सुधारका लागि विद्यालय, समुदाय तथा स्वास्थ्य संस्थामार्फत योग र ध्यान कार्यक्रम सञ्चालन गर्नेछौं । साथै, वैज्ञानिक अध्ययनका आधारमा वैकल्पिक उपचार पद्धतिलाई संस्थागत ढङ्गले व्यवस्थित गर्नेछौं ।
७६. जलन पीडितहरूको निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न ‘जलन उपचार कोष’को स्थापना र एक विश्वस्तरीय विशेष जलन अस्पताल निर्माणको प्रक्रिया तत्काल सुरु गर्नेछौं ।
७७. मानसिक स्वास्थ्य सेवालाई नागरिकको सहज पहुँचमा पुर्याउन छुट्टै अधिकार सम्पन्न महाशाखा स्थापना गर्नेछौं र प्राथमिक स्वास्थ्य सेवा प्रवाहमा ‘मानसिक प्राथमिक उपचार’ सबै जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्थासहित २४सै घण्टा सञ्चालन हुने राष्ट्रिय हेल्पलाइनमार्फत सेवा प्रवाह गर्नेछौं ।
७८. श्रमलाई सस्तो स्रोत होइन, सम्मानजनक मानव पुँजीका रूपमा स्थापित गर्दै सुरक्षित, मर्यादित र न्यायपूर्ण श्रम बजार निर्माण गर्नेछौं । नेपालको श्रम बजारमा मजदुरहरूले न त उचित र समयमै ज्याला पाउने अवस्था छ, न कार्यस्थलमा सुरक्षित रूपमा काम गर्ने सुनिश्चितता । ठूलो संख्या अनौपचारिक क्षेत्रमा आबद्ध छन्, जहाँ न बीमा सुविधा छ, न सामाजिक सुरक्षा, न समस्या पर्दा कानुनी सहायताको सहज पहुँच । ठगी, ज्याला बक्यौता र श्रम शोषण सामान्यजस्तै भएको अवस्थालाई अन्त्य गर्न व्यापक श्रम बजार सुधार कार्यक्रम लागू गर्नेछौं । श्रमिकका लागि निःशुल्क वा सहुलियत दरमा कानुनी सहायता तथा श्रम न्यायमा सहज पहुँचको संस्थागत व्यवस्था गर्नेछौं । अनौपचारिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्नेछौं । कार्यस्थल सुरक्षा, बीमा र सामाजिक सुरक्षा अनिवार्य गर्नेछौं तथा कडाइका साथ अनुगमन गर्नेछौं ।
७९. वैदेशिक रोजगारमा जाने नागरिकहरूको हित संरक्षण गर्न वैदेशिक रोजगार कम्पनीहरूलाई पारदर्शी, नियमसम्मत र पूर्ण जवाफदेही बनाउनेछौं । ठगी, अत्यधिक शुल्क असुली र झुटा करार गर्ने प्रवृत्तिमाथि कडा कारबाही गर्नेछौं । वैदेशिक रोजगारमा गई विप्रेषण भित्र्याउने श्रमिकहरूको योगदानको सम्मान गर्दै उनीहरूका लागि विशेष परिचयपत्र जारी गर्नेछौं । उक्त परिचयपत्रका आधारमा सरकारी स्वास्थ्य सेवा, शिक्षा तथा अन्य सामाजिक सेवामा सहुलियतको व्यवस्था हुनेछ ।
८०. दलित तथा उत्पीडित समुदायका परिवार सदस्य वैदेशिक रोजगारीमा जान इच्छुक भएमा स्थानीय तहको सिफारिस वा जमानतमा बैंकमार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछौं । वैदेशिक रोजगारबाट सीप र अनुभव आर्जन गरी स्वदेशमै उत्पादनमुखी उद्यम सञ्चालन गर्न चाहने उद्यमीहरूलाई ब्याजमा विशेष अनुदान, प्राविधिक सहयोग तथा बजार पहुँच कार्यक्रममार्फत प्रोत्साहन गर्नेछौं ।
८१. नागरिकको जीवनभरको कमाइ अनुत्पादक आवास निर्माणमै खर्चिनुपर्ने बाध्यतालाई अन्त्य गर्न स्थानीय तहहरूमार्फत ‘दिगो तथा सुविधायुक्त आवास नमूना कार्यक्रम’ व्यापक रूपमा सञ्चालन गरिनेछ । विशेषतः वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणलाई सुरक्षित लगानीमा रूपान्तरण गर्न इन्जिनियरिङ परामर्श र प्राविधिक सहयोगसहितका किफायती आवास मोडेलहरू कार्यान्वयन गरिनेछ । सबै नयाँ निर्माणमा भूकम्प प्रतिरोधी मापदण्ड, आधुनिक वायरिङ र प्लम्बिङ प्रणाली अनिवार्य गरिनेछ भने तलाभन्दा माथिका सबै भवनहरूका लागि कडा ‘अग्नि सुरक्षा संहिता’ लागू गरिनेछ। साथै, भौगोलिक विशेषताअनुसार लामखुट्टे, सर्प र अन्य जीवजन्तुको प्रवेश रोक्ने ‘भेक्टर–कन्ट्रोल’ वास्तुकला र आधुनिक जाली प्रणालीलाई घरको डिजाइनमै एकीकृत गरी स्वस्थ र सुरक्षित बसोबास सुनिश्चित गर्नेछौं ।
८२. विगतका असफलताहरूबाट सिक्दै ‘भू–उपग्रह नक्साङ्कन’ र ‘डिजिटल बायोमेट्रिक प्रमाणीकरण’ मार्फत वास्तविक भूमिहीन र सरकारी जग्गा कब्जा गर्ने ‘नक्कली’ सुकुम्बासीहरूलाई वैज्ञानिक रूपमा छुट्याउन एक अधिकार सम्पन्न ‘उच्चस्तरीय राष्ट्रिय भूमि अधिकार प्राधिकरण’ गठन गरिनेछ । वास्तविक भूमिहीनहरूका लागि सुरक्षित, सुविधायुक्त र उत्पादनसँग जोडिएको ‘एकीकृत नमूना बस्ती’ विकास गरी स्थायी आवास र जग्गाको स्वामित्व (लालपूर्जा) प्रत्याभूत गर्नेछौं ।
८३. पहाडी र हिमाली क्षेत्रमा विविधता, जटिल भूबनोट, भौगोलिक असुरक्षा तथा छरिएर रहेका बस्तीहरूमा बसोबासका कारण आधारभूत पूर्वाधारहरू; शिक्षा, स्वास्थ्य, सडक तथा अन्य सार्वजनिक सेवाहरू प्रभावकारी र कम लागतमा निर्माण गर्न कठिन छ । विकास सेवा र पूर्वाधारलाई कम खर्चिलो, पहुँचयोग्य तथा दिगो बनाउने उद्देश्यले छरिएका बस्तीहरूलाई चरणबद्ध रूपमा एकीकृत बस्तीमा रूपान्तरण गर्ने नीति कार्यान्वयन गर्नेछौं । यसका लागि नमूनाका रूपमा एकीकृत बस्ती निर्माण कार्यक्रम प्रारम्भ गर्नेछौं । यस्ता एकीकृत बस्तीको आधार त्यहाँको भू–उपयोग योजना, सुरक्षित आवास, आधारभूत पूर्वाधार, रोजगारीका अवसर, सामुदायिक सेवा केन्द्र तथा वातावरणीय सन्तुलन हुनेछ । स्थानीय समुदायको स्वैच्छिक सहमति, सहभागिता तथा सामाजिक–सांस्कृतिक संरचनाको संरक्षणलाई ध्यानमा राख्दै कार्यक्रम कार्यान्वयन गर्नेछौं ।
८४. युवा र नयाँ दम्पतीहरूलाई आफ्नै घरको स्वामित्व प्रदान गर्न हामी ‘प्रथम आवास प्रोत्साहन नीति’ कार्यान्वयनमा ल्याउनेछौं । पहिलोपटक घर खरिद वा निर्माण गर्ने नागरिकका लागि घर कर्जाको वार्षिक सावाँब्याज भुक्तानीलाई आयकरमा कट्टी गर्न पाउने प्रावधान लागू गर्नुका साथै घरजग्गा दर्ता शुल्क (मालपोत) मा विशेष छुटको व्यवस्था गर्नेछौं । नागरिकको आफ्नै घरमा बस्ने सपनालाई राज्यको दायित्वका रूपमा स्थापित गर्दै युवाहरूको वित्तीय पहुँच सहज बनाउनेछौं ।
८५. सम्पूर्ण सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी, पारदर्शी र लक्षित बनाउन डेटाबेस निर्माण गरी, प्राथमिकता निर्धारणका आधारहरू विश्लेषण गरी सबैभन्दा बढी आवश्यकता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्दै, दोहोरो लाभ र दुरुपयोग रोक्ने उद्देश्यले सामाजिक सुरक्षा प्रणाली पुनः डिजाइन गर्नेछौं ।
८६. वन क्षेत्र र त्यसबाट प्राप्त हुने उत्पादनले अर्थतन्त्रमा बृहत्तर योगदान पुर्याउने गरी वन व्यवस्थापन र उपयोगसम्बन्धी स्पष्ट कानून तथा नीतिगत पुनरावलोकन गर्नेछौं । चरन क्षेत्रको विकास, मासजन्य पशुपक्षी पालन, आवश्यक पूर्वाधार विकास, आवास तथा घर–भवन निर्माणमा काठको व्यवस्थित उपयोग, आयात प्रतिस्थापन, उद्योगका लागि कच्चा पदार्थको आपूर्ति, जडीबुटी तथा आयुर्वेदिक औषधि उत्पादन, पर्यटन, काठ उत्पादन तथा बिक्री र कार्बन व्यापारलाई प्रमुख आर्थिक गतिविधिका रूपमा लिई आर्थिक र रोजगारीमा योगदान पुर्याउने गरी क्षेत्रगत तहमा वैज्ञानिक वन तथा चरण क्षेत्र उपयोग योजना बनाउनेछौं ।
८७. बस्ती क्षेत्रमा वन्यजन्तु (मुख्यतः बाँदर, हात्ती र बाघ) र स्थानीय वासिन्दाबिच बढ्दो द्वन्द्वलाई न्यूनीकरण गर्न वैज्ञानिक व्यवस्थापन, क्षतिपूर्ति प्रणाली सुदृढीकरण, पूर्वसूचना तथा रोकथाम संरचना विकास, र स्थानीय समुदायको सक्रिय सहभागितामा आधारित कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौं । खासगरी बाँदरको आतंकका कारण सिङ्गो गाउँ नै बसाइँ जानुपर्ने बाध्यात्मक अवस्थाले जनजीवन आक्रान्त भएको हुँदा बाँदर नियन्त्रणका लागि नसबन्दी, वनमा बगैँचा, बाँदरले क्षति पुर्याउन नसक्ने वैकल्पिक बाली लगाउनु अथवा विद्युतीय छेकबार निर्माण गर्न सहयोगदेखि स्थानान्तरणसम्मका सबै उपाय अवलम्बन गरी समुदायहरूलाई यो समस्याबाट मुक्त गर्नेछौं ।
८८. सामुदायिक तथा राष्ट्रिय वनको सुरक्षाका लागि ‘वन डढेलो उच्च–सतर्कता केन्द्र’ स्थापना गरी ड्रोन र स्याटेलाइट प्रविधिमार्फत डढेलोको वास्तविक समय (रियल टाइम) मा निगरानी र नियन्त्रण गर्ने आधुनिक संयन्त्र परिचालन गर्नेछौं । साथै पोर्टेबल पम्प र सुरक्षा उपकरणलाई वन क्षेत्र भएका प्रत्येक वडामा वितरण गरी व्यापक अग्नी नियन्त्रण प्रशिक्षण दिनेछौं । अग्नि नियन्त्रणमा ड्रोनको परीक्षण तथा अनुसन्धान गराउनेछौं ।
८९. पूर्वाधार निर्माण र वातावरण तथा प्राकृतिक स्रोत संरक्षणको दिगो सन्तुलन कायम गर्न, वास्तविक दीर्घकालीन जोखिमहरूको उचित आँकलन तथा मूल्याङ्कन गर्न, साथै पूर्वाधार निर्माणमा चरम ढिलासुस्तीको स्रोत बनेका वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्ति, रुख कटान स्वीकृति र निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण सम्बन्धी झन्झटिला प्रक्रिया, कानून र कार्यविधिहरूलाई तत्काल सरलीकरण गर्नेछौं । साथै देशभरका नदीहरूमा जलविद्युत् आयोजना बन्द गर्दा सांस्कृतिक, पारिस्थितिक र पर्यटकीय महत्व भएका केही नदीहरूलाई विस्तृत अध्ययनको आधारमा स्थायी संरक्षण दिनेछौं ।
९०. नेपालको वातावरणीय सुरक्षा र तराई–मधेसको अस्तित्वसँग जोडिएको चुरे क्षेत्रको संरक्षणलाई उच्च प्राथमिकता दिइ चुरेका ढुङ्गा, गिट्टी र बालुवाको अनियन्त्रित दोहन रोक्न, तराईका नदीहरू ढुङ्गा गिट्टीले भरेर डुबानको जोखिम कम गर्न र विद्यमान विवाद अन्त्य गर्न वातावरणीय सन्तुलन नबिग्रने गरी ‘वैज्ञानिक उत्खनन तथा निर्यात कार्यविधि’ लागू गर्नेछौं । ‘एकीकृत चुरे संरक्षण प्राधिकरण’लाई स्थानीय, प्रदेश र संघको साझा जिम्मेवारीसहित थप अधिकार सम्पन्न बनाई चुरे संरक्षणलाई जनस्तरसम्म पुर्याउने र चुरेका अति संवेदनशील क्षेत्रहरूलाई ‘पूर्ण संरक्षित क्षेत्र’ घोषणा गर्नेछौं ।
९१. हामीले सबै नागरिकका लागि सुरक्षित पिउने पानी सुनिश्चित गर्नेछौं । तराईका विभिन्न जिल्लाहरूमा देखा परेको आर्सेनिकको गम्भीर जनस्वास्थ्य सङ्कटलाई राष्ट्रिय सङ्कटको रूपमा लिँदै ‘आर्सेनिकमुक्त तराई अभियान’ सुरु गर्नेछौं ।
९२. देशभरि फोहोर छुट्याउने व्यवस्था र फोहोरबाट ऊर्जा उत्पादन परियोजना सुरु गर्नेछौं । फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्दै ‘चक्रीय अर्थतन्त्र’ प्रवद्र्धन गर्न यस क्षेत्रमा कार्यरत निजी क्षेत्र र सहकारीहरूलाई आधुनिक मेसिनरी तथा प्रविधि खरिदमा विशेष सहुलियत दिनेछौं ।
९३. नागरिकको स्वच्छ हावा फेर्न पाउने अधिकारलाई सुनिश्चित गर्न र पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई अन्त्य गर्न नेपालमा वायु प्रदूषणलाई विश्व स्वास्थ्य संस्थाको मापदण्ड भित्र ल्याउन बहुपक्षीय योजना लागू गर्नेछौं । यातायात साधन, ईटा भट्ट तथा कलकारखानाबाट हुने उत्सर्जनका नयाँ मापदण्ड बनाई कडा कार्यान्वयन गराउनुका साथै फोहोर र कृषि अवशेष खुला रूपमा जलाउने कार्यलाई पूर्णतः प्रतिबन्ध लगाउनेछौं । दाउरा वा गुइँठाले पकाउन बाध्य भई महिला तथा वालवालिकाको स्वास्थ्यलाई जोखिममा राख्ने घरपरिवारलाई सफा इन्धनले खाना पकाउन सक्षम बनाउनेछौं । सीमापारबाट आउने वायु प्रदूषण र तुँवालो मापन गरी छिमेकी राष्ट्रहरूसँग वार्ता गर्नेछौं ।
९४. नेपालमा भूकम्प, मानव निर्मित तथा जलवायु परिवर्तनले हुने विपदको उच्च जोखिममा रहेकोले ‘प्रतिक्रियामुखी’ मात्र नभई ‘पूर्वतयारीमुखी’ सुरक्षा नीति अवलम्बन गर्नेछौं । सार्वजनिक र निजी भवनहरूलाई सुदृढीकरण र प्रबलीकरण गराई कडा निर्माण तथा अग्नि सुरक्षा मापदण्ड लागू गर्नेछौं । उच्च जोखिम क्षेत्रको अद्यावधिक जोखिम नक्साङ्कन गरी स्थानीय तहसम्म सार्वजनिक गर्नेछौं र प्रारम्भिक चेतावनी प्रणाली विस्तार गर्नेछौं । बाढी र पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूलाई पहिचान गरी सुरक्षित र व्यवस्थित ‘एकीकृत बस्ती’मा स्थानान्तरणको प्रक्रिया अघि बढाउनेछौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पर्याप्त बजेट, जनशक्ति र कानुनी अधिकारसहित ‘अधिकार सम्पन्न’ बनाउनेछौं र कम्तीमा ५ वटा कम प्रयोग भएका विमानस्थलहरूमा राहत सामाग्री भण्डारण तथा वितरण केन्द्र स्थापना गर्नुका साथै हेलिकप्टर उद्धार केन्द्रमा विकास गर्नेछौं । सचेतना जगाउन र सम्भावित क्षति न्यूनीकरण गर्न सबै विद्यालय र सरकारी कार्यालयहरूमा वर्षको एक पटक अनिवार्य ‘विपद् सुरक्षा अभ्यास’ सञ्चालन गर्ने र व्यापक प्राथमिक उपचार प्रशिक्षण गर्ने नीति लागू गर्नेछौं ।
९५. जलवायु परिवर्तन अनुकूलन तथा लचिलोपनलाई विकास योजना, पूर्वाधार डिजाइन र बजेट प्रक्रियासँग जोड्नेछौं । ‘राष्ट्रिय जलवायु वित्त रणनीति’ स्वीकृत गरी विश्वव्यापी जलवायु कोषहरूबाट नेपालले पाउनुपर्ने क्षतिपूर्ति र अनुदान प्राप्त गर्न उच्चस्तरीय कूटनीतिक पैरवी सुरु गर्नेछौं । नेपालको हिमाल र पर्यावरण जोगाउन जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’को रूपमा सशक्त ढङ्गले उठाउनेछौं, साथै जलवायु परिवर्तनको विश्वव्यापी सङ्कटमा नेपाललाई ‘पीडित’ राष्ट्रको पहिचानबाट माथि उठाई ‘नेतृत्वदायी’ भूमिकामा पुर्याउनेछौं । यसका लागि स्पष्ट ‘जलवायु कूटनीति मार्ग चित्र’ स्वीकृत गरी आगामी जलवायु सम्मेलनहरूमा नेपालको एजेन्डा र मागहरूलाई उच्चस्तरीय र प्राविधिक रूपमा सशक्त बनाउनेछौं ।
९६. नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिँदो वैश्विक भूराजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न हामी ‘सन्तुलित र गतिशील कूटनीति’ अवलम्बन गर्नेछौं । छिमेकी मुलुकहरूको रणनीतिक चासो र वैश्विक शक्ति सन्तुलनमा आएको बदलावलाई मध्यनजर गर्दै नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’को रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गर्ने प्रयास गर्नेछौं । गत दशकमा भित्र्याइ भारतले उल्लेखनीय प्रगति गरेका निम्न क्षेत्रहरूबाट नेपालले पनि लाभ लिनसक्ने गरी विकास साझेदारीको स्वरूपलाई नवीकरण गर्नेछौंः डिजिटल पब्लिक पूर्वाधार; उच्च गतिमा बन्ने गुणस्तरीय भौतिक पूर्वाधार; अर्थतन्त्रको औपचारिकीकरण; उत्पादनमूलक उद्योग र सेवा क्षेत्रबीचको सामञ्जस्य; र समग्र राज्य सक्षमताको वृद्धि आदि । त्यस्तै मित्रराष्ट्र चीनसँग सहुलियतपूर्ण वित्तको परिचालनमार्फत विश्व स्तरीय पूर्वाधार निर्माण, आर्थिक–सामाजिक विकासका लागि राज्य–निर्देशित लक्ष्य र कार्यक्रम; अन्तरप्रादेशिक प्रतिस्पर्धाका अनुकरणीय विषयहरूलाई साझेदारीका पाटा बनाउनेछौं ।
९७. नेपालको भौगोलिक अखण्डता अक्षुण्ण राख्न र सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई आधुनिक प्रविधि, पर्याप्त जनशक्ति र उच्च क्षमताको भौतिक पूर्वाधारसहित एक विशिष्टीकृत ‘सीमा सुरक्षा बल’का रूपमा परिचालन गर्नेछौं । सीमा नाकाहरूमा नाइट–भिजन क्यामेरा, ड्रोन निगरानी र डिजिटल इन्ट्री–एक्जिट रेकर्ड प्रणाली लागू गरी तस्करी, अवैध ओसारपसार र क्रस–बोर्डर अपराधलाई सख्त नियन्त्रण गर्नेछौं । सीमा विवाद र पुराना सन्धि–सम्झौताहरूलाई भावनामा मात्र सीमित नराखी तथ्य र प्रमाणका आधारमा संस्थागत संवादमार्फत स्थायी रूपमा टुङ्ग्याउन उच्चस्तरीय कूटनीतिक पहल गर्नेछौं ।
९८. नेपालका कूटनीतिक नियोगहरूको काम र जिम्मा बढाउनेछौं । राजनीतिक भागबन्डाको थलो बन्न नदिई प्रत्येक कूटनीतिक नियोगको सक्रियता र नतिजा मापन गर्न वैज्ञानिक ‘परफरमेन्स अडिट’ प्रणाली सुरु गरी कूटनीतिलाई देशको आर्थिक समृद्धिको बलियो आधार बनाउनेछौं । विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरूले राज्यको उपस्थिति महसूस गर्न सकून् भन्नका लागि कूटनीतिक सेवालाई ‘सुरक्षा र सुविधा’ केन्द्रित बनाउनेछौं । दूतावासको लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य गर्न ‘डिजिटल कन्सुलर सेवा’को पाइलट प्रोजेक्ट सुरु गरी राहदानी नवीकरण र कागजात प्रमाणीकरणलाई पूर्णतः अनलाइन र झन्झटमुक्त बनाउनेछौं । विदेशमा रहेका नेपालीहरूका समस्या तत्काल सम्बोधन गर्न परराष्ट्र मन्त्रालयमा २४/७ सक्रिय रहने ‘सेन्ट्रल रेस्पोन्स युनिट’ र प्रत्येक नियोगमा स्थलगत उद्धारका लागि ‘द्रुत टोली’ परिचालन गर्नेछौं । परम्परागत कूटनीतिलाई ‘आर्थिक कूटनीति’मा बदल्न प्रमुख व्यापारिक साझेदार देशहरूमा ‘इकोनोमिक कन्सुलर’को संख्या थप गरी निर्यात, पर्यटन र लगानी प्रवद्र्धनमा केन्द्रित गर्नेछौं ।
९९. रास्वपाले प्रवासका नेपालीहरूलाई देशको आर्थिक रूपान्तरणको एक आधार मान्दछ । विदेशमा रहेका नेपालीहरूका लागि मतदानको अधिकार प्रदान गर्नुको साथै गैरआवासीय नेपालीहरूको ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवाद बाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिँदै सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झन्झटहरूलाई तत्काल अन्त्य गर्नेछौं । गैरआवासीय नेपालीहरूको पूँजीलाई नेपालका ठूला पूर्वाधार र नवप्रवर्तनमा लगानी गर्नका लागि विशेष कानुनी सुरक्षा, ‘डलर खाता’को सहजता र प्रतिफललाई सहज फिर्ता लान सक्ने कानुनी प्रावधान बनाउनेछौं । प्रवासमा रहेको उच्च तहको ज्ञान, सीप र प्रविधिलाई स्वदेशको शिक्षा, स्वास्थ्य र उद्योगसँग जोड्न ‘राष्ट्रिय ज्ञान बैंक’ स्थापना गर्नेछौं । संसारको जुनसुकै कुनामा रहेका नेपालीहरूले नेपालको पर्यटन, संस्कृति र लगानीको प्रवद्र्धन गर्ने ‘स्वयंसेवी दूत’को रूपमा काम गर्ने वातावरण र संयन्त्र बनाउनेछौं । प्रवासमार्फत नेपाली भाषा, कला र मौलिक पहिचानलाई विश्वका प्रमुख शहरहरूमा जीवन्त रूपमा फैलाइने हुनेछ, जसबाट नेपालको ‘सफ्ट पावर’लाई मजबुत बनाउनेछौं ।
१००. देश बनाउँछु भन्दै उदाएका, तर सत्तामा पुगेपछि बिग्रेका दलहरूको लामै इतिहास छ । हामीले बाटो नबिराउन बलियो सदाचार संयन्त्र बनाउनेछौं । पार्टीका प्रत्येक सदस्यले नम्रता, परिश्रम, सेवा, जवाफदेहिता र सबैप्रति सम्मान गर्ने आचारसंहिताको पालना गर्नुपर्नेछ । हामी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अभ्यास गर्नेछौं र पार्टीको अनुशासन आयोगलाई थप बलियो बनाउनेछौं ।
प्रक्षेपण राष्ट्रिय दनिकबाट साभार ।





































