काठमाडौं । वि.स.२०८४ मा हुनुपर्ने प्रतिनिधिसभा निर्वाचन यही फागुन २१ गते सम्पन्न भयो । जेनजीका नाममा भएको आन्दोलनका कारण मध्यावधि निर्वाचन भएको हो ।
एमाले अध्यक्ष केपबी शर्मा ओली नेतृत्वको सरकारको अवसानभएपछि संसद विघटन गरेर सुशीला कार्की नेतृत्वको नागरिक सरकारले चुनाव गर्यो । पुराना दलहरुका लागि यो निर्वाचनको मिति नै इतिहासमा कालो दिनकै रुपमा दर्ज हुनेछ।
निर्वाचनको नतिजा पुराना दलको पक्षमा आएन । नयाँ दाबी गरेको रास्वपाले सुनामी ल्यायो । झन्डै दुई तिहाइको नजिक पुगेको छ रास्वपा । प्रत्यक्षमा मात्रै रास्वपाले १२५ सिटमा जित हात पारेको छ । समानुपातिकको मत गणना जारी छ । त्यसमा रास्वपा एक्लैले झन्डै ५० प्रतिशत मत पाएको छ । यो नेपालको इतिहासकै धेरै मत हो ।
जेनजी आन्दोलनको बलमा रास्वपाले सुनामी ल्याउँदा एमाले, कांग्रेस, नेकपालगायतका दलहरुले भने लज्जास्पद हार व्यहोरेका छन् । नेकपाका संयोजकसमेत रहेका प्रचण्डबाहेक कुनै पनि पूर्वप्रधानमन्त्रीले निर्वाचन जित्न सकेनन् ।
यो निर्वाचनमा एजेन्डाले कुनै महत्व पाएन । मात्रै पुरानालाई हराउने एजेन्डा हाबी भयो र नतिजा पनि त्यस्तै आयो ।
यसमा मुख्य तारो नेकपा एमाले नै बन्यो । त्यसको कारण जेनजी आन्दोलन र त्यसमा ओली नतृत्वको सरकारले गरेको दमन हो । आन्दोलनमा क्रममा विद्यार्थीसहित मृत्यु भएका ७६ जनाको हत्याको दोष केपी ओली र तत्कालीन सरकारलाई लगाइयो । जुन आरोप निर्वाचनअघि लगाएर पत्तासाप गर्ने एजेन्डा बनाइयो नतिजा पनि उस्तै आयो । एमाले निकै कम मतका साथ तेस्रो दलमा परिणत भएको छ । केही ठाउँमा साना दलहरुसँग गठबन्धन गर्दा पनि प्रत्यक्षमा जम्मा ८ सिटमा सीमित भएको छ । एक ठाउँमा भने मत गणना बाँकी छ, जहाँ एमालेले अग्रता जारी राखेको छ ।
२०७९ मा भएको निर्वाचनमा एमाले समानुपातिकतर्फ पहिलो दल थियो । कांग्रेस–माओवादी मिल्दा प्रत्यक्षमा केही सिट गुमाए पनि एमाले २८ लाख ४५ हजार ६४१ मतका साथ पहिलो दल बनेको थियो । तर, बलियो संगठन भएको मानिने एमालेले यसपटक संगठित मत बचाउन सकेनन् । समानुपातिक मत गणना अन्तिम चरणमा पुग्दा एमालेले साढे १३ लाख पुर्याउन सकेको छैन । यो भनेको अघिल्लो निर्वाचनको तुलनामा आधाभन्दा बढीले कम हो ।
तीन वर्षकै अवधिमा नागरिकले एमालेलाई किन अस्वीकार गरे ? सत्तामा जानै नसक्ने मत किन दिए ? यी प्रश्न अहिले आम कार्यकर्तामा छ । अघिल्लो निर्वाचनको तुलनामा यसपटक आधा मत पनि ल्याउन नसक्नेलाई नागरिक विद्रोहका रुपमा मात्रै हेर्नुहुँदैन । यो एमाले कार्यकर्ताहरुकै विद्रोह हो । अन्य पुराना दलको हालत पनि यस्तै भएको छ । तर, एमालेको तुलनामा केही मत संरक्षण गरेका छन् । एमालेकै कारण अन्य दलहरुले पनि त्यही नियति भाग्न पर्योभन्दा पनि फरक पर्दैन।
यो निर्वाचनको नतिजासँग एमाले अध्यक्ष ओलीको दम्भ जोडिन्छ । ओलीलाई लाग्ने आरोप थियो–अहंकारी, दम्भी । अहिलेको निर्वाचनले यो यसको अवसान भएको छ । उनलाई लाग्ने आरोप पुष्टि मात्रै भएन कि उनीभित्र भएको दम्भ उठ्नै नसक्ने गरी पछारिएको छ ।
एमाले अध्यक्ष ओलीले आन्तरिक पार्टीभित्र कहिल्यै पनि लोकतन्त्र स्थापित हुन दिएनन् । आफ्नो आलोचना गर्नेलाई ठाउँकाठाउँ कारबाही गर्ने, पार्टीबाट निकाल्ने, निच व्यवहार प्रदर्शन गर्ने, अरुको अस्तित्व स्वीकार गर्न नसक्ने, अन्य दलहरुसँग समन्वयकारी र उचित व्यवहार नगर्ने जस्ता विशेषता ओलीमा बढ्दै गए ।
एक हिसाबले उनले इमान्दार कार्यकर्तालाई पार्टीभित्र निषेध गरिदिएका थिए । पार्टीमा चुइक्क बोल्न सक्ने अवस्था थिएन । हरेक महाधिवेशनमा उनले सकभर चुनावै हुन नदिने र भए पनि आफ्ना प्रतिनिधि ल्याएर चुनाव जित्ने रणनीति अपनाए । जसका कारण धेरै नेताहरु बाहिरिए । पूर्वप्रधानमन्त्री माधवकुमार नोपाल, झलनाथ खना, वरिष्ठ नेता भीम रावल, वावदेव गौतमका साथै प्रभावशाली वैचारिक नेता घनश्याम भूसालहरुले यसअघि नै ओलीबाट देश र नागरिक र पार्टीले मुक्ति पाउन नसक्ने निष्कर्षसहित बाहिरिसकेका थिए ।
यति हुँदाहुँदै पनि ओलीको व्यवहारमा परिवर्तन आएन । गत महाधिवेशनमा पनि ओलीले पुरानै व्यहोरा दोहोर्याए । निषेध गर्न खोजे । आफ्नो अनुकुल विधान संशोधन गर्ने काम गरे, जसले गर्दा पूर्वराष्ट्रपतिको राजनीतिमा फर्किने बाटो बन्द गराए । आफ्नो आलोचना गर्ने, प्रश्न उठाउनेहरुलाई कारबाही गर्न छोडेनन् । र, पार्टीको नेतृत्व आफैंले हत्याए । यो मन नपराएका नेता–कार्यकर्ता चुप लागेर बस्न बाध्य भए । तर, लगत्तै भएको निर्वाचनमा उनकै कार्यकर्ताले मतदानमार्फत विद्रोह गरे । ओलीले त नमिठो हार व्यहोरे नै पार्टीको आकार (सिट) पनि उनले अरुलाई होच्याउन प्रयोग गरेका उनकै औंलाको संख्याभन्दा सानो बन्यो ।
पार्टी र सत्ताकै नेतृत्व गरिरहेका बेला ओलीले सधै आक्रामक र उत्तेजित भाषण गरिरहे । पहिलो दल कांग्रेससँग मिलेर सत्ता चलाएका ओलीमा उन्माद चढ्यो । सत्ताको चरम दुरुपयोग गरे । यसपटक सुनामी ल्याएको रास्वपाका सभापति रवि लामिछानेलाई विभिन्न मुद्दामा कानुनको अधिकतम प्रयोग गरेर थुनामा राख्न प्रयास जारी राखे । नागरिकप्रति उद्दार देखिएनन् । नागरिकसँगको सम्बन्ध सत्ता र पार्टीमार्फत नै चिढाउँदै गए ।
सरकारमा हुँदा उनको आलोचना हुन थालेपछि आवाज नै बन्द गर्ने निर्णय गराए । नेपालको इतिहासमै इन्टरनेट र सामाजिक सञ्चाजलको अधिकतम पहुँच पुगेको समयमा सामाजिक सञ्जाल दर्ता गराएर मात्रै सञ्चालन गर्न पाउने निर्णय गराए । विरोधका स्वर रोक्न गरेका हुन् या नियमन गर्न त्यो फरक कुरा हो तर उनले नागरिकको मत बुझेनन् । जबकि उनैले त्यसअघि सामाजिक सञ्जालमा भिड्न साइबर सेना बनाएका थिए । जसले पार्टीका पक्षमा माहोल बनाउने र फरक विचार राख्नेलाई सामाजिक सञ्जालमा लखेट्ने काम गर्थे । एक प्रकारले यो सामाजिक सञ्जालको घृणा नै थियो ।
ओलीले जसरी साइबर सेना निर्माण गरे त्यसै गरी इन्टरनेटको पहुँचमा भएका हरेक नागरिक स्वतन्त्र साइबर सेना बनेर उनीविरुद्ध नै खनिन थाले । खासगरी सामाजिक सञ्जालमा इन्गेज भइरहेको नयाँ पुस्ता उनका लागि विद्रोही साइबर सेना बने ।
जेनजी क्वाइन गरिएको समयकालमा जन्मिएका पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध गरेको निहुँमा आन्दोलनमा उत्रियो । ७६ जनाको ज्यान गयो, देशले महत्वपूर्ण सबै संरचना गुमायो । यसको सम्पूर्ण दोष ओलीमाथि आइलाग्यो । ‘जेनजी इमोशन’ रास्वपामा समाहित भयो । रास्वपाले सुनामी ल्यायो । ओलीले सल्काएको आगोको भुङ्ग्रोले एमाले झन्डै नामेट भयो ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।
































