बालेन लहरको चपेटामा मधेश केन्द्रित दलहरूको पतन

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि नेपाली राजनीतिमा मधेश केन्द्रित दलहरू सधैँ निर्णायक शक्तिका रूपमा रहँदै आएका थिए । २००७ सालको क्रान्तिदेखि २०६३ सालको मधेश आन्दोलनसम्म आइपुग्दा देशलाई अधिकारमुखी राजनीतिको नयाँ दिशानिर्देश गरेको थियो ।

तर फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले मधेशको दशकौँ पुरानो राजनीतिक विरासतलाई एउटा ठूलो धक्का दिएको छ । जेनजी विद्रोह र बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा चलेको जनलहरले मधेशका स्थापित किल्लाहरूलाई भत्काइदिएको छ । यसपटकको निर्वाचनको सबैभन्दा अनपेक्षित र रोचक दृश्य मधेश प्रदेशमा देखिएको छ । मधेशी अधिकार र पहिचानको मुद्दा उठाएर झण्डै २ दशकदेखि सत्ता र शक्तिमा रहेका उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउत जस्ता हस्तीहरू आफ्नै गढमा नराम्ररी पछारिएका छन् । मधेशका जिल्लाहरू सप्तरीदेखि पर्सासम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लीन स्वीप’ गरेको छ ।

सप्तरीका चारै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी हुनु र जनमत पार्टीका अध्यक्ष सीके राउत तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित हुनुले मधेशी मतदाताको बदलिएको मनोविज्ञानलाई स्पष्ट पारेको छ । मतदाताहरूले अब जातीय र क्षेत्रीय नाराभन्दा माथि उठेर सुशासन र कार्यसम्पादनलाई रोजेका छन् । बालेन शाहले अघि सारेको मधेशलाई अधिकार दिने कुरा र मधेशको युवा प्रधानमन्त्री बन्ने नारालाई मधेशले अनुमोदन गरेको छ ।

मधेश केन्द्रित दलहरूको लज्जास्पद हारको कारण के हुनसक्छ ? मधेश आन्दोलनको जगमा सत्तामा पुगेका नेताहरू पटक–पटक मन्त्री बने पनि मधेशको भुइँतहका मानिसको जीवनस्तरमा कुनै परिवर्तन आएन । शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दाहरू ओझेलमा परे भने भ्रष्टाचार र नातावादले जरो गाड्यो । नेताहरू उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोहरू बिचको निरन्तरको फुट र अहंकारले आममधेशी मतदातामा चरम निराशा पैदा गर्‍यो । मधेशको मुद्दालाई केवल सत्ता बार्गेनिङको हतियार बनाएको महसूस मधेशी जनताले गरे ।

काठमाडौँको विकास र कार्यशैलीमा बालेन शाहले देखाएको तत्परताले मधेशका युवाहरूलाई सन्देश दियो, यदि नेतृत्व इमान्दार भए परिवर्तन सम्भव छ । रास्वपाले मधेशमा कन्हैया बनिया, मनिष झा र चन्दन सिंह जस्ता नयाँ अनुहारलाई अघि सार्दा मतदाताले नयाँ अनुहारमा सपनाहरू सुरक्षित देखे ।

रौतहटमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा सीमित हुनु र प्रभु साह जस्ता प्रभावशाली नेताको पराजयले मधेशमा अब विरासतको राजनीति समाप्त भएको छ । सर्लाहीमा राजेन्द्र महतो पाँचौँ स्थानमा पुग्नुले मधेशी राजनीतिका पुराना खेलाडीहरूलाई मतदाताले राजनीतिबाट सन्यास लिनुपर्ने इशारा गरेका छन् ।

मधेशले यसपटक राष्ट्रिय मूलधारको राजनीतिमा जोडिने बलियो इच्छाशक्ति देखाएको छ । रास्वपाले जितेका यी सिटहरूले अब संघीय संसद्मा मधेशको प्रतिनिधित्वलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।
अब मधेश केन्द्रित दलहरूले आफ्नो रणनीति र नेतृत्वमा आमूल परिवर्तन नगर्ने हो भने आगामी चुनावमा पनि पुनरागमन असम्भव प्रायः छ । जनताले स्पष्ट सन्देश दिएका छन्, अबको राजनीति भावनामा होइन, परिणाममा आधारित हुनेछ ।

रास्वपाका लागि यसपालिको जीत एउटा ठूलो अवसर र उत्तिकै गम्भीर जिम्मेवारी पनि हो । मधेशका जिल्लाहरूमा प्राप्त मत विश्वासको करार हो । यदि नयाँ नेतृत्वले पनि पुराना दलकै शैली अपनाएमा जनलहर अर्को निर्वाचनमा अर्को शक्तितर्फ मोडिन समय लाग्ने छैन । अहिलेलाई मधेशमा नयाँ बिहानी सुरु भएको छ, जहाँ जात र क्षेत्रभन्दा माथि उठेर विकास र सुशासनको घण्टी गुञ्जिरहेको छ ।

मिति २०८२ फागुन २६ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।