मकै बालीमा किराको प्रकोप

इनरुवा (सुनसरी) । सुनसरीको सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा लगाएको मकै बालीमा रोग किराको प्रकोपको प्रकोप बढेको छ ।

इनरुवासहित रामधुनी, हरिनगर, देवानगञ्ज, बर्जु, गढी, भोक्राहा नरसिंह गाउँपालिका लगायतका स्थानमा लगाइएको मकै बालीमा फौजी किरा देखिएको इनरुवा–९ बबियाका शिवनारायण यादवले बताए । मकै बालीमा रोग किरा देखिन थालेपछि विषादी छर्न बाध्य भएको उनले बताए ।

केही गोड्ने बेला र केही गोडिसकेका मकै कीराले खाएर नष्ट गरेपछि विषादी छर्नका लागि बाध्य भएको यादवले बताए । नहरमा पानी नभएर समस्यामा परेका किसानलाई मकैमा रोग किराको सङ्क्रमणले चिन्तित बनाएको किसान शम्भु यादवले बताए ।

मकै बालीबाट राम्रो आम्दानी लिने सोचका साथी खेती गरेको भए पनि फौजी किराको आक्रमणले सोचे अनुसारको आम्दनी नहुने चिन्ताले सताएको किसान लक्ष्मण मेहताले बताए ।

जिल्लामा यस वर्ष १२ हजार ६३ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए ।