बेइजिङ । ऐतिहासिक तेल झट्का र बढ्दो इन्धन मूल्यले विद्युतीय सवारी साधनहरूको पक्षमा तर्कलाई अझ बलियो बनाइरहेको छ । चीनका विद्युतीय सवारी निर्माता कम्पनीहरू यस अवसरलाई उपयोग गर्न उत्साहित छन् ।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्ध गरेको युद्धले मध्यपूर्वबाट आउने महत्वपूर्ण जीवाश्म इन्धन आपूर्तिमा अवरोध ल्याएको छ, जसका कारण कच्चा तेलको मूल्य गत हप्ता प्रति ब्यारेल १ सय १९ डलरसम्म पुगेको छ । यसले मुद्रास्फीति झन् बढ्ने वा विश्वव्यापी आर्थिक मन्दी आउने डर पैदा गरेको छ ।
तर यो उथलपुथल चीनको विद्युतीय सवारी उद्योगका लागि अझ राम्रो समयमा आएको हुन सक्दैन । चीनले विश्वमै सबैभन्दा धेरै विद्युतीय कार उत्पादन र निर्यात गर्ने भए पनि, त्यहाँका सवारी उत्पादकहरू कडा मूल्य प्रतिस्पर्धा र घरेलु बजारमा घट्दो वृद्धिदरको सामना गरिरहेका छन् । चिनियाँ ब्रान्डहरू नयाँ बजार खोज्न दबाबमा रहेका छन् ।
अहिले, चिनियाँ विद्युतीय सवारी सस्तो बन्दै जाँदा पेट्रोल महँगो हुँदै गएको छ । विश्लेषकहरूका अनुसार यो संयोजनले उद्योगको विश्वव्यापी विस्तारलाई तीव्र बनाउनेछ, विशेषगरी इन्धन अभावको मार खेपिरहेका एसियाली देशहरूमा रहेको छ ।
सिनो अटो इनसाइट्स का प्रबन्ध निर्देशक टु ले ले भने, ‘उच्च पेट्रोल लागतका कारण चिनियाँ ब्रान्डहरूले एसियामा ठूलो प्रवेश गर्ने सम्भावना छ । उनीहरूले यस अवसरको पूर्ण फाइदा उठाउनेछन् ।’
एसियामा नवीकरणीय ऊर्जामा लगानी बढ्दै गए पनि, मध्यपूर्वमा ३ हप्ता लामो द्वन्द्वले यस क्षेत्र अझै तेल आयातमा निर्भर रहेको देखाएको छ । एसियामा प्रयोग हुने करिब ६० प्रतिशत कच्चा तेल होर्मुज जलडमरूमार्फत मध्यपूर्वबाट आउँछ, जहाँ इरानले माल ढुवानीको प्रवाह कडाइका साथ सीमित गरेको छ ।
हालैको एक प्रतिवेदनमा एम्बर नामक ऊर्जा अनुसन्धान संस्थाले विद्युतीय सवारीलाई ‘आयात खर्च घटाउने सबैभन्दा ठूलो माध्यम’ भनेको छ र अनुमान गरेको छ कि गत वर्ष विद्युतीय सवारी प्रयोगका कारण विश्वव्यापी कच्चा तेलको खपत दैनिक १७ लाख ब्यारेलले घटेको थियो, जुन सन् २०२५ मा इरानको निर्यातको करिब ७० प्रतिशत बराबर हो ।
विश्लेषकहरूका अनुसार, जसरी रुसले युक्रेनमाथि गरेको आक्रमणले युरोपमा नवीकरणीय ऊर्जामा लगानी बढायो, त्यसैगरी अहिलेको तेल संकेट एसियामा स्वच्छ ऊर्जा उद्योगका लागि अर्को मोड बन्न सक्छ ।
ऊर्जा तथा स्वच्छ हावासम्बन्धी अनुसन्धान केन्द्रका प्रमुख विश्लेषक तथा सहसंस्थापक लाउरी म्यालिविर्टा ले भने, ‘कम मुद्रास्फीति भएको अवस्थामा एकपटक मूल्य बढ्दा मानिसहरूले त्यसलाई बेवास्ता गर्न सक्छन् । तर फेरि बढेमा यसले मूल्य अस्थिर हुने यथार्थलाई देखाउँछ र पेट्रोल सवारी चलाउँदा मानिसहरू त्यस जोखिममा रहिरहन्छन् भन्ने कुरा स्पष्ट हुन्छ ।’
चीनमा, जहाँ ४० प्रतिशतभन्दा बढी तेल मध्यपूर्वबाट आउँछ, नवीकरणीय ऊर्जातर्फको परिवर्तन फलदायी सावित भएको छ । विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको र हावा तथा सौर्य ऊर्जा उत्पादनमा अग्रणी भएको चीन अन्य एसियाली देशभन्दा ऊर्जा संकटबाट कम प्रभावित भएको छ ।
म्यालिविर्टा का अनुसार, चीनमा विद्युतीय सवारीको विस्तार जसले नयाँ कार बिक्रीको करिब ५० प्रतिशत र कुल दर्ता सवारीको करिब १२ प्रतिशत हिस्सा ओगटेकोले गत वर्ष देशको तेल खपत झण्डै १० प्रतिशतले घटाएको छ । उनले भने, ‘चीनको दृष्टिकोणबाट हेर्दा, ऊर्जा सुरक्षाका लागि बनाइएको रणनीतिमा यस्तो अवस्था पहिले नै अनुमान गरिएको थियो ।’
पेइचिङ विश्वविद्यालय एचएसबिसी व्यापार विद्यालय अन्तर्गत मध्यपूर्व अध्ययन संस्थानका कार्यकारी निर्देशक झु झाओयी का अनुसार, तेल संकटले चीनको स्वच्छ ऊर्जा लक्ष्यलाई अझ तीव्र बनाउन सक्छ । विशेष गरी सन् २०३० सम्म अधिकतम उत्सर्जन र सन् २०६० सम्म कार्बन तटस्थता हासिल गर्ने लक्ष्य ।
उनले भने, ‘चीनका नेतृत्वले यस्तो अवस्था पहिले पनि देखिसकेका छन् । जब–जब मध्यपूर्वमा अस्थिरता हुन्छ, एउटै पाठ दोहोरिन्छ । आयातित जीवाश्म इन्धनमा निर्भरता वातावरणका लागि मात्र होइन, राष्ट्रिय सुरक्षाका लागि पनि समस्या हो ।’
चीनलाई सस्तो विद्युतीय सवारीको विश्व नेता बनाउन राज्यले दिएको सहयोगले घरेलु सवारी उत्पादकहरूबीच कडा प्रतिस्पर्धा पनि सिर्जना गरेको छ, जसका कारण धेरै कम्पनीहरू अत्यधिक आपूर्ति भएको बजारमा टिक्न संघर्ष गरिरहेका छन् ।
एलिक्सपार्टनर्स नामक परामर्श संस्थाका अनुसार, सन् २०२४ मा बजारमा रहेका १ सय २९ चिनियाँ विद्युतीय सवारी ब्रान्डमध्ये केवल करिब १५ मात्र सन् २०३० सम्म आर्थिक रूपमा टिकाउ रहनेछन् । सरकारले विद्युतीय सवारीमा दिँदै आएको अनुदान हटाउँदै जाँदा घरेलु माग अझ घट्ने अपेक्षा गरिएको छ । हालको तेल मूल्य वृद्धिले घरेलु बजारमा केही राहत दिन सक्छ, तर अतिरिक्त उत्पादन सम्हाल्न विदेशी बजार आवश्यक रहनेछ ।
एलिक्सपार्टनर्स का सवारी परामर्शदाता यीचाओ झाङ ले भने, ‘तेलको मूल्य वृद्धिले चीनमा विद्युतीय सवारीको बजार विस्तार हुन सक्छ, तर त्यो दोब्बर हुने जस्तो होइन । यसले अत्यधिक उत्पादनको समस्या तुरुन्त समाधान गर्दैन ।’
यो अत्यधिक उत्पादनले संयुक्त राज्य अमेरिकाका उपभोक्तालाई भने फाइदा पुग्ने सम्भावना कम छ, किनभने उच्च करका कारण चिनियाँ विद्युतीय सवारीलाई त्यहाँको बजारबाट लगभग बाहिर राखिएको छ, जसले टेस्ला जस्ता स्थानीय उत्पादकहरूको संरक्षण गर्छ । यस वर्षको सुरुवातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ ब्रान्डलाई स्वागत गर्ने संकेत दिएका थिए, तर उनीहरूले देशभित्रै उत्पादन गरे मात्र स्वागत ।
तर एसियामा भने, इन्धन भण्डार घट्दै जाँदा ऊर्जा खपत घटाउने उपाय खोज्न देशहरू बाध्य छन् । थाइल्याण्ड, फिलिपिन्स र भियतनामले घरबाट काम गर्न र चिस्यान दिने उपकरणको प्रयोग कम गर्न आग्रह गरेका छन् । भियतनामको प्रमुख विद्युतीय सवारी निर्माता विनफास्ट ले इरानमाथि आक्रमणपछि विद्युतीय कार र मोटरसाइकलमा छुट दिन थालेको छ ।
एम्बर का एसिया ऊर्जा विश्लेषक लाम फाम का अनुसार, चिनियाँ विद्युतीय सवारीहरू मूल्य प्रतिस्पर्धा, उन्नत ब्याट्री प्रविधि र सुदृढ आपूर्ति सञ्जालका कारण अधिकांश एसियाली बजारमा अगाडि छन् । उनले भने, ‘बढ्दो इन्धन मूल्यको अस्थिरता र बलियो नीतिगत समर्थनका कारण एसियामा विद्युतीय सवारीको बजार तीव्र गतिमा विस्तार हुनेछ । यसबाट सबै उत्पादकहरूलाई फाइदा हुनेछ, विशेष गरी ती कम्पनीहरूलाई जसले छिटो उत्पादन बढाउन र सस्तो मोडेल उपलब्ध गराउन सक्छन् ।’ (सिएनएनबाट भावानुवाद)




































