हर्मुज बन्द भए पनि युद्ध अन्त्य गर्ने ट्रम्पको संकेत

वाशिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरू बन्द नै रहे पनि इरानविरुद्धको अमेरिकी सैन्य अभियान अन्त्य गर्ने विषयमा विचार गरिरहेको वाल स्ट्रिट जर्नलले जनाएको छ ।

उनले आफ्ना सहयोगीहरूलाई चारदेखि छ हप्ताभित्र इरानविरुद्धको सैन्य कारबाही क्रमशः अन्त्य गर्न तयार रहेको संकेत दिएका छन्, जलडमरूमध्य प्रभावकारी रूपमा बन्द नै रहे पनि संकेत दिएको छ । यस्तो निर्णयले तेहरानको उक्त महत्वपूर्ण जलमार्गमाथिको नियन्त्रण अझ लम्ब्याउन सक्ने र त्यसलाई पुनः खोल्न कूटनीतिक प्रयासमा ध्यान केन्द्रित हुने देखिन्छ । ट्रम्पले इरानको नौसैनिक शक्ति र क्षेप्यास्त्र क्षमता कमजोर पार्ने जस्ता मुख्य लक्ष्य हासिल भइसकेको भन्दै द्वन्द्व अन्त्य गर्न इच्छुकता देखाएका छन् ।

प्रशासनका अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पले दीर्घकालीन समुद्री अभियानमा अल्झिनुभन्दा मुख्य सैन्य उद्देश्य पूरा गरेर विजय घोषणा गर्न सकिने विश्वास राखेका छन् । उनले हर्मुज जलडमरूमध्य बन्द हुनु मुख्यतः एसिया र युरोपका लागि समस्या भएको बताएका छन्, किनकि उक्त मार्गबाट जाने करिब ८४ प्रतिशत तेल एसियाली बजारतर्फ जाने गर्दछ । साथै उनले अमेरिका अब मध्यपूर्वको ऊर्जामा पहिले जस्तो निर्भर नरहेको बताएका छन् ।

जलडमरूमध्य बन्द हुँदा तेलको मूल्य प्रति ब्यारेल १ सय डलरभन्दा माथि पुगेको छ र मल लगायतका आवश्यक वस्तुहरूको अभाव हुने सम्भावना बढेको छ । अमेरिकाले ट्याङ्करहरूलाई सुरक्षा प्रदान गर्ने वा बहुराष्ट्रिय प्रयासमार्फत जलमार्ग खोल्ने विकल्प विचार गर्न सक्छ, तर ती तत्काल प्राथमिकतामा नरहेको बताइएको छ । युद्ध अन्त्य गर्ने चर्चा भइरहे पनि क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति भने बढ्दो अवस्थामा छ । यूएसएस ट्रिपोली र ३१ औँ समुद्री अभियान इकाइ त्यहाँ पुगेका छन् भने ८२ औँ एयरबोर्न र थप १० हजार स्थल सैनिक पठाउने विषयमा विचार भइरहेको छ ।

ट्रम्पले एकातिर जलडमरूमध्य नखुलेमा इरानको नागरिक ऊर्जा संरचनामा आक्रमण गर्ने धम्की दिएका छन् भने अर्कोतर्फ युद्धलाई ‘रमाइलो बसाइ’ र ‘भ्रमण’ भन्दै टिप्पणी गरेका छन् । यसअघि सोमबार ह्वाइट हाउसले पश्चिम एसियाली द्वन्द्वका बीच जलडमरूमध्य लगभग बन्द भए पनि केही तेल ट्याङ्करहरू पार हुन सकेको कारण अमेरिका र इरानबीच भइरहेको प्रत्यक्ष तथा अप्रत्यक्ष वार्ता भएको दाबी गरेको थियो । यसलाई ट्रम्प नेतृत्वको कूटनीतिक प्रयासको परिणाम भनिएको छ ।

प्रेस सचिव क्यारोलिन लेभिटले इरानले चयन गरेर केही ट्याङ्कर मात्र पार गर्न दिएको वा अनौपचारिक नियन्त्रण लगाएको भन्ने दाबी अस्वीकार गर्दै ती ट्याङ्करहरूको आवागमन अमेरिका–इरानबीच भइरहेको वार्ताको परिणाम भएको बताएकी छन् । उनले आगामी दिनमा थप ट्याङ्करहरू पार हुने अपेक्षा गरिएको पनि बताइन् । लेभिटले ट्रम्पको कूटनीतिक पहल बिना यस्तो सम्भव नहुने भन्दै यस विषयमा निरन्तर प्रयास भइरहेको बताइन् ।

आइतबार ट्रम्पले इरानले ‘सम्मानको संकेत स्वरूप २० वटा तेल ट्याङ्कर पार गर्न दिएको बताएका थिए । उनले सुरुमा १० वटा र पछि थप १० वटा ट्याङ्कर पठाइएको बताएका छन्, जसलाई उनले सकारात्मक संकेत मानेका छन् ।

यसैबीच इरानको संसद्को सुरक्षा समितिले हर्मुज जलडमरूमध्य व्यवस्थापन योजना स्वीकृत गरेको छ, जसमा उक्त मार्ग प्रयोग गर्ने जहाजहरूबाट शुल्क असुल्ने व्यवस्था समावेश छ । सरकारी सञ्चारमाध्यमका अनुसार योजनामा जलमार्गको सुरक्षा, जहाजको सुरक्षा, वातावरण संरक्षण, आर्थिक व्यवस्था तथा राष्ट्रिय मुद्रामा शुल्क प्रणाली लागू गर्ने विषय समेटिएको छ ।

यस योजनाले अमेरिकी र इजरायली जहाजहरूको आवागमनमा प्रतिबन्ध लगाउने, इरानको सार्वभौम अधिकार सुदृढ गर्ने र ओमानसँग कानुनी ढाँचा निर्माणमा सहकार्य गर्ने व्यवस्था पनि गरेको छ । साथै इरानविरुद्ध एकपक्षीय प्रतिबन्ध लगाउने देशका जहाजहरूलाई पनि प्रवेश निषेध गरिएको छ । यी निर्णयहरू पश्चिम एसियामा जारी इरान र अमेरिका–इजरायल गठबन्धनबीचको द्वन्द्वको दोस्रो महिनामा गरिएको हो, जसले विश्वको अत्यन्त महत्वपूर्ण समुद्री मार्गमध्ये एकमा इरानको नियन्त्रण सुदृढ गर्ने प्रयासलाई देखाउँछ, जहाँबाट विश्वको ठूलो भाग तेल आपूर्ति हुने गर्दछ ।