काठमाडौं । सदनको पहिलो बैठकमा नै नेकपा (एमाले) आक्रामक देखियो । तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउप्रति रुष्ट एमालेले जेनजी आन्दोलनप्रति पनि प्रश्नैप्रश्न तेर्स्यायो ।
सदनमा २५ सिटमा खुम्चिएको एमालेले विपक्षमा हुँदाको पुरानो आक्रोशयुक्त झल्को प्रस्तुत गर्न खोज्यो । उसले शुभकामनाका निम्ति शीर्ष नेताले सम्बोधन गर्ने तय भएको पहिलो बैठक नै अवरोधको प्रयास गर्दै विरोध जनायो । जेष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको कारबाही प्रारम्भ गर्नसाथ एमालेका सांसद आफ्नै सिटमा उभिए । दलका नेता रामबहादुर थापा ‘बादल’ भने आफ्नो सिटमा बसिरहे । उनी पहिलो लहरमा थिए । जहाँ कांग्रेस र नेकपाका शीर्ष नेता पनि सँगै थिए ।
जेष्ठ सदस्य केसीले पहिलो बैठकमा अशान्ति नचाहेको बताए । र, एमालेका सांसद गुरु बराललाई बोल्न समय दिए । बरालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको तत्काल रिहाइ गर्न माग गरे । मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाएको उनको आरोप थियो । शुभकामना मन्तव्यका निम्ति रोष्टममा उभिएका एमाले संसदीय दलका नेता बादलले भदौ २३ र २४ को जेनजी आन्दोलनप्रति प्रश्नैप्रश्न गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईतिहाइनजिक सिट आउनुमा अदृश्य शक्तिको भूमिका रहेको दाबी गरे । सेना, कर्मचारीतन्त्र, सुशीला कार्की नेतृत्वको तत्कालीन सरकार, जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग, बारबरा फाउन्डेनजस्ता संस्था र पात्रको निर्णायक भूमिका रहेको आरोप लगाए ।
“यो जादूमय विजयमा कसले निर्णायक भूमिका निर्वाह गर्यो ? त्यो तथ्यले स्पष्ट गर्छ । अदृश्य शक्तिहरू टीओबी, एआई, अल्गोरिदम, गोयबल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खुँखार खलनायक र हत्याराका रूपमा स्थापित गरे,” बादलको दाबी थियो, “देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाए ।” उनले ओली र लेखक प्रक्राउप्रति आपत्ति जनाउँदै कुन उद्देश्यका निम्ति राजनीतिक नेतृत्व गिरफ्तार गर्ने प्रपञ्च रचिँदै छ ? भनी प्रश्न सोधे । विपक्षी अरु दल भने एमालेभन्दा नरम देखिए । कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले अब हिंसात्मक संघर्षको पुनरावृत्ति नहोस् भन्ने संकल्प गर्नुपर्ने बताए । फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस् भन्ने साझा प्रतिबद्धता गर्न पनि आवश्यक रहेको धारणा राखे ।
उनले जेजनी आन्दोलनमा किन संसद् भवनलगायत संरचना जलाइयो भन्ने खोजी गर्नुपर्ने बताए । “आज हामी जहाँ यो बैठक बसिरहेका छौँ यो हाम्रो संसद् भवन होइन । हाम्रो संसद् भवन भदौ २४ गते खरानी भयो । यो बेला त्यो खरानीलाई सम्झौँ, अनि संकल्प गरौँ हामी यसरी काम गरौँ ताकि भविष्यमा यो देशलाई खरानी बनाउन कोही अघि नसरुन्,” उनले भने, “किन खरानी भयो संसद् भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाइए अनेकौँ भौतिक संरचना ?” उनले भदौ २३ र २४ दुवै दिनका घटना एक–एक केलाउन जरुरी रहेको बताए । आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक नगरेकोप्रति प्रश्न उठाए ।
सार्वजनिक गर्ने हो कि सरकारले पनि गोरखापत्रमा पढ्ने हो ? भन्ने प्रश्न सोध्दा प्रधानमन्त्री बालेन केही मुस्कुराएका थिए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजको बैठकमा बोलेनन् । दलीय आधारमा सात मिनेटको समय पाउने भएपछि उनले धारणा नराखेको नेकपाका सांसद बताउँछन् । नेकपाका सांसद वर्षमान पुन बोले । उनले आफूहरूले विगतमा दुई तिहाइनजिकको सरकार बनाउने अवसार पाए पनि सदुपयोग गर्न नसकिएको धारणा राखे । र, सरकारलाई विगतबाट पाठ सिक्दै अघि बढ्न सुझाए । उनी सरकारप्रति निकै नरम सुनिए ।
संविधान संशोधनका विषयमा लोकतन्त्र, गणतन्त्र र समावेशीतामा सम्झौता हुन नसक्ने बताउँदै बाँकी कुरामा सहयोग गर्न सकिने धारणा राखे । संसद्को नयाँ दल श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले आफ्नाभन्दा पनि जनताको गुनासो भन्दै केही फरक प्रस्तुति दिए । उनले सरकारले गर्नुपर्ने कामको सूची सुनाए । सदनमा बोल्ने समयमा विभेद गर्न नहुने उनको धारणा छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाका नेता ज्ञानेन्द्र शाहीले दुई तिहाइको दम्भ देखाउनभन्दा पनि काम गर्न सुझाए । उनले प्रदेशको खारेजीलगायत आफ्ना मुद्दा मिल्ने कुरामा सरकारलाई दुईतिहाइ मत पुर्याउन सहयोग गर्ने प्रतिद्धता जनाए । भ्रष्टाचारको अन्त्य हुनुपर्ने, सहकारीको रकम हिनामिना गर्नेमाथि कारबाहीको माग गरे ।
त्यस्तै, स्वतन्त्र सांसद महावीर पुनले आफू मन्त्री बन्दा ल्याउन नसकेका अध्यादेशको ड्राफ्ट पढेर सुनाए । संसद्मा आफ्नो भूमिका पक्ष/विपक्षभन्दा पनि निष्पक्ष रहने पुनको भनाइ थियो । संसद्मा सुरुमा नै सम्बोधन गरेका रास्वपा सभापति रवि लामिछानेले विपक्षीलाई समेटेर जाने धारणा प्रस्तुत गरे । उनले आफूहरूले काम गर्ने र त्यसको सुरुआत भइसकेको सुनाए । “सिंहदरबार चलाउन होइन बदल्न दिएको मत हो । हामीले बदल्न सुरु गरिसकेका छौँ,” उनले भने, “अब हामी सत्तारुढ दलले बोलेर मात्रै पुग्दैन, अब प्रमाणित गर्नुपर्छ । हाम्रा काम र सरकारका काम बोल्नेछन् ।” संसद्मा सम्बोधनका क्रममा केही रोचक दृश्य पनि देखिए । रास्वपाका सभापति लामिछानेले शीर निहुर्याएर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले दलित समुदायमाथि सार्वजनिक रुपमा माफी मागे । हात जोडेर माफी मागेका थिए ।
“सरकारले दलितसहित पछि परेका समुदायमाथि सार्वजनिक माफी माग्दै छ । त्यो पनि यो सदनबाट,” उनले भने, “दलितमाथि अहिलेसम्म भएको विभेद सामाजिक गल्ती होइन संगठित अपराध थियो ।” उता, कांग्रेस सांसद भीष्मराज आङेदेम्बे बोल्दा सभाका जेष्ठ सदस्यले पटक–पटक समय सकिएको जानकारी गराए । तर, आफ्नो लिखित मन्तव्यमा नै ध्यान दिएका आङ्देम्बेले केसीको कुरामा ध्यानै दिएनन् । उनलाई १० मिनेटको समय दिइएको थियो ।
एमाले नेता थापा बोल्दा मन्त्रीहरूबीच कानेखुसी चलेको थियो । गृहमन्त्री सुधन गुरुङको हाउभाउ सामाजिक सञ्जालमा भाइरल बनिसकेको छ । उता, श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले आफूले राखेको धारणा टेबल गर्न आग्रह गरे । र, सभाका जेष्ठ सदस्यलाई हस्तान्तरण गरे । जेष्ठ सदस्यले सदनका महासचिवलाई दिए । त्यस्तै, राप्रपाका नेता ज्ञानेन्द्र शाही रोष्टमबाट फर्कंदा रास्वपाका सभापति लामिछाने, प्रधानमन्त्री शाह, अर्थमन्त्री स्वर्णीम वाग्लेसँग हात मिलाए । विपक्षी दलका नेताहरूलाई वास्ता गरेनन् । स्वतन्त्र सांसद महावीर पुनले भने पटक–पटक आफू सदनमा आउनै नपर्ने मान्छे भन्दै बोलिरहे । उनले आफ्नो ‘स्टाइल’मा नै रास्वपाका सांसदलाई ‘भाइबहिनी’ सम्बोधन गरे । उता, तीन अध्यादेश पेस गर्न रोष्टम पुगेका गृहमन्त्री सुधनले सुरुमै पानी मागेका थिए । त्यसो त, सदनबाट निस्कँदा प्रधानमन्त्री र श्रम सस्कृतिका नेता सम्पाङबीच अंकमाल भयो । जुन तस्बिरले निकै चर्चा पाएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































