काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्रभावशाली प्रदर्शन गर्दै तेस्रो जित हात पारेको छ। बुधबार जनकपुरस्थित राम जानकी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले फिल्डिङ रोजेको बागमतीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै कोशीलाई २८.२ ओभरमै ९९ रनमा समेट्यो। कोशीका कप्तान सुजन थपलियाले सर्वाधिक २१ रन बनाए भने अंकित सुवेदी (१९) र रोशन शाह (१८) बाहेक अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
बागमतीका कप्तान सन्दीप लामिछाने ले उत्कृष्ट बलिङ गर्दै ७.२ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए। पछिल्ला तीन खेलमा मात्र उनले १६ विकेट लिएका छन् भने समग्र प्रतियोगितामा ७ खेलबाट २१ विकेटसहित सर्वाधिक विकेट लिने सूचीको दोस्रो स्थानमा रहेका छन्।
१०० रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले आक्रामक सुरुवात गर्दै ९ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। विवेक मगरले उत्कृष्ट ब्याटिङ गर्दै २८ बलमा अविजित ६१ रन बनाए, जसमा १० चौका र २ छक्का समावेश थिए। प्रतिश जिसी १७ रनमा अविजित रहे।
यस जितसँगै बागमतीले ७ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ। यता कोशी प्रदेश भने लगातार खराब प्रदर्शनसँगै ७ खेलमध्ये ६ खेलमा पराजित हुँदै जितविहीन अवस्थामा पुछारमा रहेको छ।
यता प्रतियोगिताकै अर्को खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई वर्षाले प्रभावित खेलमा १८ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। वीरगन्जमा भएको खेल ३५ ओभरमा झारिएको थियो । पहिले ब्याटिङ गरेको मधेशले ३४.५ ओभरमा १७२ रन बनायो। मयन यादवले ४३ रन र विशाल सुस्लिङले अविजित ४० रन बनाए। गण्डकीका अप्राजित पौडेल र सुवास भण्डारीले समान ३–३ विकेट लिए।
१७३ रनको लक्ष्य पछ्याएको गण्डकीले २२ ओभरमा ५ विकेट गुमाएर ८० रन बनाउँदा वर्षाले खेल रोकियो। त्यसपछि डिएलएस विधिअनुसार गण्डकी लक्ष्यभन्दा पछि परेपछि मधेश विजयी घोषित भयो। गण्डकीका अर्जुन कुमाल ४९ रनमा अविजित रहँदै अर्धशतकबाट एक रनले चुके। यो जितसँगै मधेश प्रदेश ६ खेलबाट ९ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने गण्डकी ७ खेलबाट ५ अंकसहित सातौं स्थानमा रहेको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































