जेनजी उपसभामुख

काठमाडौं । धनुषामा हर्क साम्पाङले चुनावी अभियान सुरु गर्नुअघि रुबीकुमारी ठाकुरको श्रम संस्कृति पार्टीसँग कुनै औपचारिक सम्बन्ध थिएन।

तर, पहिलोपटक हर्कसँग भेट भएपछि उनको जीवनले नयाँ मोड लियो। त्यसपछि उनी मतदाताको घरदैलोमा पुगेर पार्टीका लागि मत माग्न सक्रिय भइन्।

आज त्यही २५ वर्षीया रुबी समानुपातिक प्रणालीबाट संसद् प्रवेश गरिसकेकी छन् र अब उपसभामुखजस्तो उच्च पदमा पुग्ने सम्भावना बलियो बनेको छ। संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई समर्थन गरेपछि उनको उपसभामुख बन्ने बाटो लगभग सुनिश्चितजस्तै देखिएको छ। राजनीतिक रूपमा कुनै ठूलो पृष्ठभूमि नभएकी रुबीका लागि यो उपलब्धि आफैंमा अप्रत्याशित रह्यो। उनले समानुपातिक सांसदको सूचीमा परेपछि नै आफूले यस्तो अवसर पाउने कल्पना समेत नगरेको प्रतिक्रिया दिएकी थिइन्।

रुबी भन्छिन्, “म सामान्य परिवारकी छोरी हुँ। तर म सधैं श्रम संस्कृति पार्टी र हर्क साम्पाङका गतिविधि हेर्थें। देशका लागि यस्ता व्यक्ति आवश्यक छन् भन्ने लागेर समर्थक बनेँ। सांसद बन्नु मेरो लागि एकदमै ‘सरप्राइज’ जस्तै भयो।” यदि राजनीतिक समीकरणमा कुनै अप्रत्याशित परिवर्तन भएन भने उनी चाँडै उपसभामुख पदमा निर्वाचित हुने सम्भावना रहेको छ। राजनीतिमा छोटो अवधिमै यस्तो उचाइ हासिल गर्नु उनको जीवनको सबैभन्दा ठूलो मोड बनेको छ। राजनीतिमा आउनुअघि रुबीको जीवन साधारण थियो। उनले धनुषाको बलरा पोलिटेक्निकबाट तीन वर्षे डिप्लोमा इन्जिनियरिङ पूरा गरेकी छन्। पढाइ सकिएपछि उनी धनुषाकै एक कन्सल्टेन्सीमा काम गर्दै मासिक करिब २० हजार रुपैयाँ आम्दानी गर्थिन्। करिब सात महिना अघिसम्म उनी आफ्नो पेशागत जीवनमै व्यस्त थिइन्। यहीबीच श्रम संस्कृति पार्टीले उनलाई समानुपातिक सांसदको रूपमा चयन गरेपछि उनको जीवनले नयाँ दिशा समात्यो। स्वतन्त्र रूपमा आफ्नो काममा रमाइरहेकी रुबी त्यसपछि पूर्ण रूपमा राजनीतिमा सक्रिय भइन्।

धनुषाको मझेलियाकी स्थायी बासिन्दा रुबीले मधेश केन्द्रित दलहरूदेखि एमाले, कांग्रेस, माओवादी र रास्वपासम्म कुनै पनि दलमा आकर्षण नदेखाएको बताइन्छ। उनी आफ्नो बाटो आफैं रोज्दै अन्ततः श्रम संस्कृति पार्टीसँग जोडिइन्। उनको पारिवारिक पृष्ठभूमि पनि सामान्य छ। उनका बुबा सोगराथ ठाकुर वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन्। त्यसअघि उनी कपाल काट्ने पेसामा संलग्न थिए। आमा रेणु ठाकुर गृहिणी हुन्। परिवारमा रुबीसहित चार बहिनी र दुई भाइ छन्। रुबीले एक पटक धरानस्थित पार्टी कार्यालयमा निकै सरल भाषामा आफ्नो पारिवारिक अवस्था सार्वजनिक गरेकी थिइन्। उनले भनेकी थिइन्, “हामी एक कठ्ठा जमिनमा बस्छौं। जीविकाका लागि अर्काको दुई बिघा जमिन बटैयामा कमाउँछौं। बाबाले साउदीबाट मासिक १५–२० हजार रुपैयाँ पठाउनुहुन्छ। म पनि २० हजार कमाउँथेँ। अब व्यक्तिगतभन्दा जनताका समस्या बुझ्नुपर्ने भएकाले मेरो ध्यान संसदमा केन्द्रित हुनेछ।”

राजनीतिमा प्रवेश गरेपछि उनले सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राख्ने बताएकी छन्। विशेष गरी दहेज प्रथा, बालविवाह र बेरोजगारीजस्ता समस्यालाई समाधान गर्न संसद्मार्फत पहल गर्ने उनको योजना छ। नेपालको कानुनले दहेज प्रथालाई निषेध गरे पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै यसले महिलाहरूलाई अझै पीडित बनाइरहेको उनको धारणा छ। इन्जिनियरिङ अध्ययनकै क्रममा उनले समाजका अपाङ्गता भएका व्यक्तिहरूका लागि केही योगदान गर्ने योजना बनाएकी थिइन्।

अब संसद्मा पुगेपछि त्यस्ता सामाजिक कार्यलाई थप प्रभावकारी बनाउने सोच उनको छ। शिक्षाको कुरा गर्दा उनले धनुषाको मझेलियास्थित श्री माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेकी हुन्। त्यसपछि आत्मनिर्भर बन्ने लक्ष्यसहित डिप्लोमा इन्जिनियरिङ अध्ययन गरिन्। सन् २०१८ मा एसईई पूरा गरेपछि उनले तीन वर्षे इन्जिनियरिङ कोर्स सकेकी हुन्। प्राविधिक रूपमा पनि उनी सक्षम मानिन्छिन्। उनले टुडी र थ्रिडी प्रविधिबाट घरको नक्सा बनाउन सक्ने सीप हासिल गरिसकेकी छन्। भविष्यमा अझ उच्च शिक्षा हासिल गर्ने उनको योजना छ। रुबीले सांसदको जिम्मेवारीसँगै आफ्नो अध्ययनलाई निरन्तरता दिने लक्ष्य राखेकी छन्। उनी भन्छिन्, “सांसद हुनु देश र जनताका लागि सेवा गर्ने अवसर हो। तर ब्याचलर इन्जिनियरिङ मेरो व्यक्तिगत र पारिवारिक भविष्यसँग जोडिएको छ। त्यसैले समय मिलाएर पढाइ जारी राख्ने योजना छ।”

कम उमेरमै राष्ट्रिय राजनीतिमा प्रभावशाली स्थानमा पुगेकी रुबीले आफ्नो व्यक्तिगत जीवनबारे पनि स्पष्ट धारणा राखेकी छन्। उनले हालसम्म विवाह नगरेको बताउँदै केही वर्ष राजनीति र अध्ययनमै केन्द्रित रहने योजना सुनाएकी छन्। उनले विवाहबारे सोधिएको प्रश्नमा भनेकी थिइन्, “पहिले पाँच वर्ष संसद्लाई दिन्छु। त्यससँगै इन्जिनियरिङको पढाइ अघि बढाउँछु। त्यसपछि मात्र विवाहबारे सोच्नेछु।” यसरी सामान्य पारिवारिक पृष्ठभूमिबाट उठेर राष्ट्रिय राजनीतिमा प्रभावशाली स्थानसम्म पुगेकी रुबीकुमारी ठाकुर अहिले नयाँ पुस्ताको प्रतिनिधि पात्रका रूपमा उदाउँदैछिन्। छोटो समयमै उनले बनाएको यात्रा र आगामी सम्भावनाले नेपाली राजनीतिमा नयाँ पुस्ताको सहभागिता र परिवर्तनको संकेत दिएको रूपमा हेरिएको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।