‘आज राति एउटा सिंगो सभ्यता मर्नेछ’ भनी गत मङ्गलबार धम्की दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही घण्टामै त्यसबाट पछि हट्दै धम्की पूरा गर्न २ हप्ताको ढिलाइ हुने घोषणा गर्नुपर्यो ।
युद्धविरामको समयमा अमेरिका र इरानले पर्दा पछाडि रहेको इजरायलसँगै मिलेर शान्तिको वार्ता गर्ने प्रयास गर्नेछन् । विडम्बनाको कुरा के छ भने अमेरिकासँग अत्यधिक सैन्य श्रेष्ठता रहे पनि होर्मुज जलसन्धि नियन्त्रण गरेर ग्यासोलिन र डिजेल इन्धनको मूल्य र विश्वव्यापी शेयर बजारको अवस्थामा ठूलो प्रभाव पार्न सक्ने भएकाले रणनीतिक कार्डहरू भने इरानको हातमा छन् ।
वर्तमान मार्गलाई हेर्दा इरान युद्धले विगतमा लडेका युद्धहरू जित्न वा सफल नतिजा हासिल गर्न नसकेका अमेरिकी असफलताहरूलाई नै दोहोर्याउनेछ । सन् १९६० र १९७० को दशकको सुरुतिर भियतनाम युद्ध रणभूमिमा हारिएको थिएन, जहाँ अमेरिकी सेनाले सधैँ जीत हासिल गरेको थियो, बरु अमेरिकी टेलिभिजन र भोजन कक्षहरूमा हारिएको थियो, जहाँ द्वन्द्वका बारेमा भनिएका झुटहरूको शृंखला र ५८ हजार अमेरिकी सैनिकहरूको शवका झोलाहरूले अन्ततः आफ्नो असर देखाएका थिए ।
अफगानिस्तानमा पनि अमेरिकासँग सैन्य श्रेष्ठता थियो, तर त्यो जित्नका लागि पर्याप्त थिएन । अर्बौं डलर सोस्ने २ दशकको असफल राष्ट्र–निर्माणले कमजोर अमेरिका–पक्षधर संस्थाहरू जन्मायो, जसले तालिबानको दृढ संकल्पलाई उछिन्न सकेनन् ।
सन् २००३ को आक्रमणपछि इराकमा अमेरिका सद्दाम हुसेनको शासन हटाउन सफल भयो । तर त्यसले देशलाई अस्तव्यस्ततामा धकेल्यो, जसले पछिल्ला २ दशकसम्म यस क्षेत्रमा अस्थिरता बढायो, जुन अमेरिका र उसका क्षेत्रीय सहयोगीहरूका लागि हानिकारक रह्यो ।
यी असफलताहरूको एउटा कारण यो हो कि युद्ध र शान्तिका मामिलाहरूमा पछिल्ला अमेरिकी राष्ट्रपतिहरू आफ्नो पदको कठोरताका लागि तयार थिएनन् । उनीहरू बल प्रयोगका शर्तहरूको बारेमा गहिरो ज्ञान र बुझाइको अभावबाट पीडित थिए, युद्धमा जानका लागि गरिएका अनुमानहरूलाई चुनौती दिन असफल भए, अमेरिकी बौद्धिक र सैन्य श्रेष्ठतालाई स्वाभाविक रूपमा लिने घमण्ड पाले, सामूहिक सोचमा फसे र अमेरिकी सेना जतिसुकै दक्ष भए पनि सम्भावित सबै नतिजाहरूको परीक्षण नगर्ने नोकरशाही असक्षमता प्रदर्शन गरे । यी सबैले त्रुटिपूर्ण रणनीतिक निर्णयतर्फ डोर्याए ।
अहिले यस्तो देखिन्छ कि यी विगतका असफलताहरूले इरानको युद्धलाई सङ्क्रमित गरेका छन् । खाडीमा खेलिएका हरेक ‘वार गेम’ र अभ्यासमा होर्मुज जलसन्धि बन्द भएको थियो । के कसैले ट्रम्पलाई त्यो सम्भावनाको बारेमा सल्लाह दिएनन् वा उनले सुन्न चाहेनन् ? उनले किन इरानमा युद्ध गर्ने वा उनको शब्दमा ‘भ्रमण’ सुरु गर्ने निर्णय गरे, जसले किभ केही दिनमै ढल्नेछ भन्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विशाल गलत निर्णयलाई नै दोहोर्यायो ?
सबैभन्दा तर्कसङ्गत व्याख्या विदेश मन्त्री मार्को रुबियोबाट आयो, जब उनले पहिले स्वीकार गरे र पछि आफ्नो बयान उल्टाउँदै भने कि इजरायलले इरानमाथि पहिले नै आक्रमण गर्न लागेकाले अमेरिकासँग आक्रमणमा सामेल हुनुको विकल्प थिएन । प्रतिरक्षात्मक आक्रमण युद्ध घोषणा गर्नका लागि एउटा भ्रामक कारण हो ।
]अमेरिकाले इजरायललाई अगाडि बढ्न वा नबढ्न भन्न सक्थ्यो । तर इजरायलीहरूले ट्रम्पलाई निर्णय गर्न हतार गराउनुअघि नै घमण्ड र बुझाइको पूर्ण अभाव स्पष्ट थियो । उनका मुख्य वार्ताकारहरू स्टिभ विटकफ र जेरेड कुश्नरमा आणविक हतियारहरूको बारेमा प्राविधिक ज्ञानको अभाव थियो, जसले उनीहरूलाई इरानीहरूसँगको वार्तामा प्रभावहीन बनायो । ह्वाइट हाउसले इरानलाई आणविक हतियार र उन्नत लामो दूरीका मिसाइलहरू तैनाथ गर्न लाग्ने समयको गलत अनुमान गर्यो र त्यसलाई अतिरञ्जित बनायो ।
यसबाहेक भेनेजुएला अपरेसनको सफलता र अमेरिकी सैन्य पराक्रमको बढाइचढाइ गरिएको अपेक्षाले ट्रम्पलाई अन्धो बनायो, जसले तेहरानको शासन पतन हुन लागेको छ भन्ने इजरायलको भाष्यलाई सहजै विश्वास गरे ।
अहिले वास्तविकता सतहमा आएको छ । हरेक लडाइँ जित्नु नै युद्ध जित्नु होइन । उत्तर भियतनामी र तालिबान जस्तैः नहारेरै जित्ने इरानको रणनीतिले काम गर्यो । होर्मुज जलसन्धि बन्द हुनु इरानीहरूले प्रयोग गरेको सबैभन्दा शक्तिशाली हतियार सावित भयो । विश्वव्यापी ऊर्जाको २० प्रतिशत हिस्सा, मलका लागि
आवश्यक धेरैजसो फस्फेट र चिप उत्पादनका लागि चाहिने हिलियम खाडीमा थुनिएपछि, लामो समयसम्म चल्ने द्वन्द्वको परिणाम स्पष्ट थियो आर्थिक विपत्ति । इरानको सफलताको मापन कतिवटा अमेरिकी लडाकु विमान खसाले वा कतिवटा अमेरिकी सैन्य अड्डामा प्रहार गरे भन्ने कुरामा थिएन । यो त अमेरिकामा ग्यासोलिनको मूल्य र शेयर बजारको निराशाजनक अवस्थामा आधारित थियो ।
सुरुवातमा समेत युद्ध अत्यन्तै अलोकप्रिय थियो, जसमा झण्डै दुईतिहाइ अमेरिकीहरूले यसको विरोध गरेका थिए । ग्यासोलिनको उच्च मूल्य र बढ्दो मुद्रास्फीतिको जोखिमको अर्थ अमेरिकामा हुने प्रमुख मध्यावधि चुनावअघि बढ्दो सामाजिक असन्तोष थियो ।
अहिले ट्रम्प २ वटा असन्तोषजनक विकल्पहरूको सामना गरिरहेका छन् । भियतनाम युद्धको समयमा राष्ट्रपति लिन्डन जोन्सन जस्तैः ट्रम्पले कि त युद्ध अन्त्य गर्न इरानका शर्तहरू स्वीकार गर्न सक्छन् वा युद्धलाई चर्काउँदै जान सक्छन् र लामो समयसम्म चल्ने द्वन्द्व सधैँभरिको युद्धमा फस्न सक्छन् ।
तत्कालका लागि अमेरिकी राष्ट्रपतिले बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको ‘युद्धभन्दा वार्ता नै उत्तम हो’ भन्ने धारणा रोजेका छन् । ट्रम्पले जुनसुकै बाटो रोजे पनि उनले आफूलाई कुनै पनि राम्रो विकल्प नभएको पासोमा पारेका हुनाले इरान युद्ध उनले राष्ट्रपतिका रूपमा गरेको सबैभन्दा विनाशकारी निर्णय सावित हुनेछ । (अलजजिराबाट भावानुवाद)
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































